फुट होइन, एकताको खाँचो

नेपालमा क्रियाशील प्राय: सबै राजनीतिक पार्टी आन्तरिक कलहको चक्रब्युहमा फस्दै गएका छन्, जसले गर्दा मुलुकको समग्र राजनीतिलाई नै केही समयका लागि प्रभावमा पार्ने देखिन्छ । प्रभावशाली र ठूला दलमा फैलिएको अन्तरकलहको कालो बादलले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिलाई नै ढाक्ने हुँदा कुनै पनि पार्टीमा अन्तरकलह झांगिनु राम्रो होइन । अहिले संविधानसभापछि सबैभन्दा ठूलो दल बनेको एनेकपा एमाओवादी फुटको संघारमा उभिएको छ । यस पार्टीभित्र फरक विचार समूह फस्टाएको निकै समय भइसक्यो । यसले विघटित संविधानसभा र समग्र राष्ट्रिय राजनीतिलाई थोरबहुत आफ्नो प्रभावमा राख्यो । पार्टीको नेतृत्वले फरक विचारसमूहका अगाडि आफू कमजोर हुने महसुस गर्दै कतिपय राष्ट्रिय मुद्दाहरूमा ठोस निर्णय लिन सकेन, जसले गर्दा संविधानसभाले संविधान जारी नगरी विघटन हुनुपर्‍यो । यो मुलुकको भविष्यका लागि घातक कार्य भएको सबैको ठहर छ । एकताबद्ध
नेतृत्व नभएकै कारण एमाओवादीले अन्य दलसँग गरेका सहमति पनि असहमतिमा परिणत भएको तीतो यथार्थ हामीसँग छ । यसले कसैलाई पनि फाइदा पुर्‍याएन, नोक्सान मात्र गर्‍यो । वास्तवमा कुनै पनि पार्टी टुट्नु, फुट्नु र टुक्रिनु स्वाभाविक भए पनि यसले पुर्‍याउने असर भने समग्रतामा निकै नराम्रो हुन्छ । तसर्थ, दलहरू अन्तरकलहको राजनीतिबाट टाढा रहन सक्नुपर्छ ।
यसैगरी नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस पनि अहिले दुई चिरामा विभक्त छ । यस पार्टीले एकताबद्ध भएर सामूहिक निर्णय गर्न नसकेको थुप्रै समय भयो । राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने सवालमा समेत आपसमै एकमत नहुँदा राष्ट्रिय राजनीतिमा पनि थोरबहुत प्रभाव पर्‍यो । अहिले पनि यो पार्टी एउटै विचारमा आबद्ध छैन । कांग्रेसभित्रको यो अवस्थाले पनि धेरैलाई चिन्तित तुल्याएको छ । तसर्थ, आपसको मुद्दा मिलाएर कांग्रेस पनि एकताबद्ध भएर अगाडि बढ्नु जरुरी छ । संविधानसभामा तेस्रो ठूलो दल बन्न सफल नेकपा (एमाले) को पनि हालत उस्तै छ । पछिल्लो सयम एमाले पनि विवादको घेरामा तानिएको छ । यस पार्टीका जनजाति नेताहरू अर्को पार्टी गठनको तयारीमा रहेको खबरहरू बाहिर आएका छन् । यदि यो खबर सत्य हो भने एमालेले निकै दह्रो भनिएको संगठनमा थोरै भए पनि क्षति पुग्नेछ । साथै राष्ट्रिय राजनीतिलाई यसले धमिलो बनाउन सक्छ । संविधानसभामा जातीय मुद्दा नउठाएको आरोप लगाउँदै नेतृत्वप्रति आक्रोशित एमालेका जनजाति नेताले अर्को पार्टी गठन गर्दैमा मुलुकका समस्या समाधान हुने होइन, यो धुव्र सत्य हो । तर, राष्ट्रिय पार्टी एमाले भने कमजोर बन्ने छ, जसले निर्णय प्रक्रियाका समयमा अप्ठ्यारो पर्न सक्छ । तसर्थ, एमालेले आफ्ना जनजाति, मधेसी तथा उत्पीडित नेताहरूको मुद्दामाथि सुनवाइ गर्न जरुरी छ, जसले पार्टी एकता कायम गर्न सकोस् ।
समग्रमा हेर्दा सबैजसो पार्टी फुटको संघारमा उभिएका छन् । नीतिगत विमति कतै देखिएको छैन । स्वार्थगत विमति भने झांगिएका छन् । सबै पार्टी जुटेर राष्ट्रिय राजनीति हाँक्नुपर्ने अवस्थामा क्षेत्रीय, जातीय र धार्मिक मूल्य र मान्यता बोकेर नेताहरू हिँड्न थालेका छन् । यसो हुनु मुलुक र जनताका लागि दु:खद् पक्ष हो । सबैले आ–आफ्ना
स्वार्थ त्यागेर देश र जनताको स्वार्थ बोक्न नसक्नु आफैँमा
विडम्बना पनि हो । तसर्थ, अन्तरपार्टी कलह सुल्झाउँदै सबै दलका नेताले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने कोसिस गर्नुपर्छ, जसले गर्दा राष्ट्रमा फैलिएका सबैखाले समस्या समाधान गर्न सजिलो होस् । फुटले होइन, एकताले मात्र नेपाल र नेपालीलाई अग्रगमनतर्फ डोर्‍याउन सक्छ । सबैले सोचौँ ।

प्रतिक्रिया