नुयर कुनै पनि खेल जिताउन सक्षम


म्युनिख, १८ जेठ । जर्मनी तथा बायर्न म्युनिखका पहिलो रोजाइका गोलरक्षक मानुइल नुयर आसन्न युरोकपका निर्विवाद हेर्नलायक खेलाडी हुन् । सन् १९८६ मा साल्केमा जन्मिएका नुयरले सन् २००६–०७ मा पहिलो रोजाइका गोलरक्षक भएपछि साल्केका लागि १९० खेल खेले । आफू एक्लैले साल्केलाई बुन्डेसलिगाको उपाधि दिलाउन नसके पनि उनले २००९–१० को सत्रमा उपविजेता बनाउन अहं भूमिका निर्वाह गरेका थिए ।
त्यसै सत्रको अन्तिम ६ मध्येका चार खेलमा क्लिन सिट पाएपछि नुयरका लागि विश्वकप टोलीमा पनि स्वाभाविक रूपमा स्थान मिलेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक रेने एडलर विश्वकपअघि नै घाइते भएकाले पहिलो रोजाइका गोलरक्षक भएका नुयर त्यसपछि लगातार जर्मन टोलीमा प्रमुख खेलाडीको रूपमा रहेका छन् ।
साल्केबाट बायर्न पुगेपछि नुयरले यस सत्र क्लबका लागि यस वर्ष सानदार प्रदर्शन गरे । यस सत्र बायर्नले बुन्डेसलिगामा जम्मा सात गोल मात्र खानुमा नुयरकै भूमिका महत्त्वपूर्ण रहेको थियो । च्याम्पियन्स लिगको उपाधि बायर्नलाई दिलाउने क्रममा उनले सेमिफाइनलमा रियल म्याड्रिडका दुई पेनाल्टी प्रहार बचाए भने चेल्सीसँगको फाइनलमा हुवा माटाको प्रहार बचाउनुका साथै आफैले पनि पेनाल्टी प्रहार गरे ।
थुप्रैपटक आफूलाई उत्कृष्ट सावित गरिसकेका नुयरका कारण जर्मन टोली अहिले एकदमै उत्साहित छ । छनोटचरणमा शतप्रतिशत सजत हात पारेकाले दाबेदार मानिएको जोचिम लोको प्रशिक्षणमा रहेको जर्मनीका लागि नुयर नै कुनै पनि खेल जिताउन सक्षम खेलाडीको रूपमा समेत परिचित छन् । प्रशिक्षक लो नुयरजति विश्वास गर्नलायक अन्य खेलाडी नै नभएको बताउँछन् । एजेन्सी

प्रतिक्रिया