निकुञ्जका होटल हटाउन लगत संकलन अन्तिम चरणमा

काठमाडौं, १८ जेठ । चितवन राष्ट्रिय निकुञ्ज परिसरमा रहेका सात होटल हटाउन पाँच महिनाअघि थालिएको लगत संकलन अन्तिम चरणमा पुगेको छ । होटल सञ्चालन अनुमति दिइएको अन्तिम म्याद सकिन सात महिना बाँकी रहँदै निकुञ्जले गत मंसिरदेखि होटलको लगत संकलन थालेको थियो ।

निकुञ्जमा रहेका सात होटलमध्ये मचान वाइल्डलाइफ, चितवन जंगल लज र टाइगर टप्स गरी तीनवटाको लगत संकलन सकिएको निकुञ्जले जनाएको छ । अहिले आइल्यान्ड जंगल र टेम्पल टाइगरको लगत संकलन भइरहेको निकुञ्जका सहायक संरक्षक अधिकृत टीकाराम पौडेलले जानकारी दिएका छन् । ‘असारभित्र होटल हटाइसक्ने हिसाबले धमाधम लगत संकलन गरिरहेका छाँैं,’ पौडेलले भने । उनले सफारी नारायणी निजी जग्गामै भएकाले र गैंडा वाइल्डलाइफ बन्द भइसकेकाले ती दुईमा लगत संकलन नगरिएको बताए ।
गत चैतभित्रै लगत संकलन गरिसक्ने भनिए पनि होटल सञ्चालकको आग्रहपछि लगत संकलनको म्याद लम्ब्याइएको निकुञ्ज प्रशासनले जनाएको छ । होटल सञ्चालनको म्याद आगामी असारमा सकिँदै छ । सरकार र होटल सञ्चालकबीच १६ मंसिर २०३८ मा भएको होटल सञ्चालनसम्बन्धी करारनामा संशोधन गरी २२ मंसिर २०५० देखि २०६६ असारसम्म मात्रै होटल सञ्चालनको अनुमति दिइएको थियो ।
त्यस्तै टाइगर टप्स प्रालिलाई १ साउन २०४६ मा २० वर्षसम्म मात्रै सञ्चालनको अनुमति दिइएको थियो । सोअनुसार सबै होटलको म्याद २०६६ असारमै सकिएको थियो । तर, त्यसबेला नेपाल पर्यटन वर्ष २०११ नजिकिएको र पर्यटकको आकर्षण बढ्ने भन्दै होटल व्यवसायीले दुई वर्षको म्याद मागेपछि व्यवस्थापिका–संसद्, प्राकृतिक स्रोत र साधन समितिले २०६९ असार मसान्तसम्म होटल सञ्चालन अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो ।
असारअघि लगत संकलन गरेर त्यही आधारमा होटलका सरसामान सञ्चालकले लैजाने वा सरकारले राख्ने निर्णय गरिने पौडेलले बताए । उनका अनुसार होटल बनाउन प्रयोग भएका काठ र होटलका फर्निचरको लगत संकलन गरिएको छ । ‘काठ र काठका फर्निचर निकुञ्जकै काठबाट बनेको प्रमाणित भए सरकारले र नभए होटलले लैजान पाउने निर्णय लगत संकलनपछि हुन्छ,’ उनले भने ।
लगत संकलनका लागि सरकारले निकुञ्ज प्रमुख संरक्षण अधिकृत झमक कार्कीको संयोजकत्वमा वन तथा भूसंरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, क्षेत्रीय वन निर्देशनालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र होटल व्यवसायीको प्रतिनिधिसम्मिलित समिति बनाएको थियो । समिति संयोजक एवं निकुञ्जका प्रमुख संरक्षक अधिकृत कार्कीले असारभित्रै सबै होटल बन्द गर्ने गरी काम भइरहेको बताए । ‘अब विशेष कारणले मन्त्रालय वा विभागबाटै म्याद थप्नैपर्ने अवस्थाबाहेक कुनै पनि हालतमा असारपछि निकुञ्जमा होटल रहनेछैनन्,’ उनले भने ।
सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत उक्त निकुञ्ज एक सिंगे गैंडा र बाघका लागि प्रसिद्ध छ । निकुञ्जमा होटलका कारण वन्यजन्तु घट्दै गएको, जनावरको वासस्थानमा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै विभिन्न अध्ययनले होटल राख्न नहुने देखाएका छन् ।

प्रतिक्रिया