मानुषीलाई लाइन मार्दा जेलमा

काठमाडौं, १८ जेठ । चानचुनेलाई होइन, प्रधानमन्त्रीपुत्रीलाई ताक्ने एक युवकले जेलको हावा खानुपरेको छ । १२ दिनअघि पक्राउ परेका उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषीलाई ‘पटक–पटक प्रेमप्रस्ताव राखेर सताएका’ पाल्पाका अर्जुनप्रसाद न्यौपाने जेल परेका हुन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने उनले फोनमार्फत मानुषीलाई बारम्बार ‘प्रपोज’ गरेका थिए । हैरान भएर मानुषीले प्रहरीलाई मौखिक उजुरी गरेकी थिइन् ।
चिन्नु न जान्नुको व्यक्तिले टेलिफोनबाट प्रेमप्रस्ताव राख्दा सुुरुका केही दिन त उनले पन्छाइन् । तर, अति भएपछि प्रहरी गुहारेको स्रोतले बतायो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरी सार्वजनिक मुद्दाअन्तर्गत कारबाही चलाएको छ । उनलाई थप अनुसन्धान गर्ने भन्दै प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट दुईपटक म्याद थप गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार मानुषीले मौखिक उजुरी मात्र गरेकी थिइन् भने लिखित उजुरी उनका हितैषी अञ्जनाले दिएकी छन् । अञ्जनाकै उजुरीका आधारमा न्यौपानेविरुद्ध कारबाही अघि बढाइएको
प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतले मानुषीलाई उद्धृत गर्दै भन्यो, ‘फोन रिसिभ नगर्दा पनि लगातार गरिरहन्थे । सम्झाउने प्रयास गर्दा पनि केही लागेन ।’ केहीसिप नलागेको भन्दै उनले महानगरीय अपराध अनुसन्धान महाशाखामा मौखिक जानकारी दिएकी हुन् ।
न्यौपानेले मानुषीलाई सताएको यो पहिलोपटक होइन । यसअघि पनि सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी २२ दिन हिरासतमा राखेको थियो । आइन्दा त्यस्तो नगर्ने सर्तमा प्रहरीले उनलाई छाडिदिएको थियो । तर, मानुषीप्रति आशक्त बनेका न्यौपानेले फेरि सोही घटना दोहोर्‍याए । प्रहरीका अनुसार हुलिया हेर्दा उनी आवाराजस्ता देखिन्छन् ।
मानुषीले भने यस घटनालाई बाहिर ल्याउन चाहेकी छैनन् । सौर्यको जिज्ञासामा उनले आफूलाई कसैले टेलिफोनबाट दुव्र्यवहार नगरेको दाबी गरिन् । उनले भनिन्, ‘मलाई कसैले दुव्र्यवहार गरेको छैन । मैले प्रहरीलाई उजुरी गरेर कसैलाई थुन्न लगाएको पनि छैन ।’

प्रतिक्रिया