चोइटिने भो एमाले

काठमाडौं, १९ जेठ । नेकपा एमाले देशमा झांगिँदै गएको जातीय राजनीतिको सिकार बन्ने भएको छ । उपाध्यक्ष अशोक राईसहित केही जनजाति नेताले एमाले परित्याग गरी नयाँ पार्टी गठनको गृहकार्य अघि बढाएका छन् । जनजातिका मुद्दाहरूको विपक्षमा एमाले उभिएको भन्दै उनीहरूले नयाँ पार्टी गठनका लागि अन्य पार्टीका जनजाति नेता र जातीय समूहसँग वार्तासमेत सुरु गरेका छन् ।

उपाध्यक्ष राईसहित केन्द्रीय समितिका ११ सदस्यले पार्टी चोइट्याउने तयारी गरेका हुन् । उनीहरू दिनहँजसो गोप्य भेला र पार्टी नेतृत्वसँग वार्ता समानान्तर रूपमा गरिरहेका छन् । बुधबार नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भेला भएर नयाँ पार्टी गठनको

छलफल गरेका जनजाति नेताहरूले दिउँसो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गरेका थिए । भेलामा सहभागी केही नेताले भने पार्टीभित्रै अन्तरसंघर्ष जारी राख्नुपर्ने मत राखेको स्रोतले बतायो ।
पार्टी छाड्ने तयारीमा उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बा, श्रीमाया थकाली, केन्द्रीय सदस्य किरण गुरुङ, जयन्ती राई, दलबहादुर राना, रघुवीर महासेठ, राजेन्द्र श्रेष्ठ, वीरबहादुर लामा, विघटित संविधानसभाका सदस्य पासाङ शेर्पा, मंगलसिद्धि मानन्धर, रिजवान अन्सारी र हितकाजी गुरुङ रहेका छन् । जनजाति र मधेसीमूलका भए पनि विघटित संसद्का सभामुख सुवास नेम्वाङ, पोलिटब्युरो सदस्यहरू अष्टलक्ष्मी शाक्य, गंगालाल तुलाधर, थममाया थापा, धर्मनाथ साह, नागेन्द्र चौधरी तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, तुलबहादुर गुरुङ, परशु मेघी गुरुङ, वंशीधर मिश्रलगायत भने पार्टी छाड्ने पक्षमा छैनन् । उनीहरूमध्ये अधिकांश जनजातिको भेलामा सहभागी भएनन् ।
विभिन्न जातीय समूह र अन्य पार्टीका जनजाति नेताहरूसँग वार्ता गरी नयाँ पार्टीमा समेट्ने योजना विद्रोही नेताहरूको छ । जसअनुसार पूर्वमा रहेका जातीय समूहसँग वार्ता गर्ने जिम्मेवारी विजय सुब्बाले लिएका छन् भने शेर्पा समुदायसँग वार्ता गर्ने जिम्मेवारी पूर्वसभासद् पासाङ शेर्पाले लिएका छन् । सुब्बाले बुधबार पार्टी त्याग्ने तयारी गरेको घोषणा गरेका छन् भने शेर्पाले मंगलबारै पार्टी छाडेको घोषणा गरेका थिए । त्यस्तै, तमुवानमा किरण गुरुङ र मधेसमा रामचन्द्र झाले विभिन्न समूहसँग वार्ता गर्ने जिम्मेवारी लिएका छन् । नयाँ पार्टी गठनका लागि घोषणा पत्रको तयारी पनि भएको छ ।
एमालेका जनजाति नेताहरूले कांग्रेस केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ र माओवादी पोलिटब्युरो सदस्य गोपाल किराती पनि नयाँ पार्टीमा आउने दाबी गरेका छन् । अन्य पार्टीका जनजाति नेता र जातीय समूहसँग वार्ता गरेपछि पार्टीका जनसंगठनमा पनि छलफल चलाउने योजना उनीहरूको छ ।
यद्यपि, एमाले छाड्ने नेताहरूले सामूहिक रूपमा नभई एक्लाएक्लै छाड्ने रणनीति बनाएको उनीहरूनिकट स्रोतले जानकारी दियो । एकैपटक छाड्दा त्यसको तरंग छिट्टै मेटिने भएकाले पालैपालो पार्टी छाडेको घोषणा गर्ने रणनीति बनेको हो । पार्टी छाड्ने तयारीमा रहेका उपाध्यक्ष राई एमालेबाट तीनपटक मन्त्री र दुईपटक सांसद भइसकेका छन् । रामचन्द्र झा, किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, राजेन्द्र श्रेष्ठ, मंगलसिद्धि मानन्धरलगायत एमालेका तर्फबाट मन्त्री भइसकेका छन् । समानुपातिकबाट एमालेको सभासद् भएका मानन्धर यसअघि एमालेबाटै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र शिक्षामन्त्रीसमेत भइसकेका छन् ।
पार्टी छाड्ने नेताहरूले छाड्ने तयारी भए पनि पार्टी छाडिनसकेको प्रतिक्रिया दिए । ‘जातीय अग्राधिकार स्वीकार गरेर जानुपर्छ भन्नेहरूबीच पार्टी छाड्ने सल्लाह भएको छ तर छाडिसकेको होइन,’ पोलिटब्युरोका वैकल्पिक सदस्य विजय सुब्बाले सौर्यसँग भने, ‘संविधान बनाउने मुखमै आएपछि पार्टीले जातीय उत्पीडनविरुद्धका हाम्रा मुद्दाको घाँटी निमोठ्यो, एमालेमै चित्रबहादुर केसीजस्ता संकीर्ण नेताहरू देखा परे ।’ उनले संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिको नाममा बुधवार जारी गरेको विज्ञप्तिमा कांग्रेस–एमालेको ब्राह्मणवादी अहंकारले संविधानसभालाई बन्धक बनाई संविधानसभा विघटन गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा संविधानसभा विघटन हुनबाट नजोगाएको भन्दै पूर्वसभामुख सुवास नेम्वाङको आलोचना गरिएको छ ।
भेलामै सहभागी केही जनजाति नेताले पार्टी छाड्न नहुने बरु विधि बनाएर पार्टीमा अन्तरसंघर्ष चलाउनुपर्ने अवाज उठाएका छन् । केन्द्रीय सदस्य अजम्बर राई काङमाङले पार्टीभित्र अन्तरसंघर्ष चलाउनुपर्ने बताए । पार्टी नेतृत्व असफल भएकाले अध्यक्ष झलनाथ खनालले अध्यक्षबाट राजीनामा दिनुपर्ने काङमाङको भनाइ छ । ‘पार्टी केन्द्रीय समितिको बैठक बसौँ र पार्टीभित्रै अन्तरसंघर्ष चलाउँm भन्ने मेरो कुरा हो’ काङमाङले सौर्यसँग भने, ‘माधव नेपालले संविधानसभामा पार्टी पराजय भएपछि महासचिवबाट राजीनामा दिएजस्तै संविधानसभा भंग भएपछि अध्यक्षले राजीनामा दिनु उपयुक्त हुन्छ, म यो कुरा केन्द्रीय समितिमा राख्छु ।’ पार्टीको जनसंगठनमा रहेका जनजाति नेताहरूले पनि पार्टीभित्रै रहेर अन्तरसंघर्ष चलाउन जनजाति नेताहरूलाई भेटमार्फत आग्रह गरेका छन् । युवा संघ नेपालका उपाध्यक्ष हरिबहादुर राई र अनेरास्ववियुका उपाध्यक्ष भीम राई मैदान छाडेर नभाग्न आग्रह गर्दै उनीहरूलाई भेट्न पुग्ने गरेका छन् ।

छाड्ने कि भन्ने कुरा आएको छ 
अशोक राई उपाध्यक्ष एमाले
तपार्इंहरूले एमाले छाड्दै हुनुहुन्छ र नयाँ पार्टी गठन गर्दै हुनुहुन्छ भन्ने कुरा आएको छ नि ?
पार्टीका नेताहरूसँग कुरा गरिरहेका थियौँ । आदिवासी जनजाति, मधेसी, दलित, उत्पीडित वर्गका सवाललाई यथोचित सम्बोधन हुनुपर्‍यो भनेका थियौँ । तर, नेताहरूले त्यसलाई इन्कार गर्नुभयो त्यसको केही त परिणाम पनि आइसक्यो, जस्तो कि संविधानसभा संविधान नबनीकनै विघटन भएको छ ।
तपाईं पनि त पार्टीको जिम्मेवार नेता हो नि होइन र ?
त्यसै भएर त हामी पनि गम्भीर छौँ, यसबेला उत्तेजित हुने होइन । पार्टी पनि र हामी पनि गम्भीर भएर सोच्नुपर्ने अवस्थामा पुगेका छौँ ।
पार्टी छाड्ने नै कुरा आइसकेपछि त के गम्भीर भएर कुरा गर्नुपर्‍यो र ?
होइन हामी छलफलमै छौँ । केही साथीहरूले यो पार्टीले गरिखाँदैन अब पार्टी छाड्ने, नबस्ने कि भन्ने कुरा उठाउनुभएको छ ।
कहिलेसम्ममा छाड्नुहुन्छ त ?
त्यस्तो ‘हार्ड एन्ड फास्ट’ कुरा पनि होइन ।
हामी छलफलमै छौँ । नेताहरूसँग पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया