प्रधानमन्त्रीद्वारा कानूनी परामर्श

काठमाडौं, १७ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबराम भट्टराईले मुलुकको विकसित राजनीतिक अवस्था, नयाँ निर्वाचनलगायतका विषयमा आज कानूनी परामर्श लिएका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भट्टराईले महान्यायाधिवक्ता र पूर्व महान्यायाधिवक्ताहरुसँग कानून र संवैधानिक अवस्थाका बारेमा छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ । पूर्व महान्यायाधिवक्ताहरुले राजनीतिक सहमतिका साथ समस्या समाधान गर्न सुझाव दिएका छन् ।
छलफलमा संविधानसभा विघटन पछि उत्पन्न परिस्थिति, नयाँ संविधानसभाको निर्वाचन, सहमतीय सरकार, राष्ट्रपतिको आदेश लगायतमा पनि परामर्श भएको थियो ।
परामर्शका लागि प्रधानमन्त्री भट्टराईले महान्याधिवक्ता मुक्ति प्रधान, पूर्व महान्याधिवक्ताहरु राघवलाल बैद्य, महादेव यादव, लक्ष्मी बहादुर निराला, प्रेम बहादुर विष्ट, सर्वज्ञरत्न तुलाधर, कृष्ण राम श्रेष्ठ, यूवराज संग्रौला, बद्रीबहादुर कार्कीलाई बोलाएका थिए ।

प्रतिक्रिया