फिलिपिन्सका प्रधानन्यायाधीश बर्खास्त

मनिला, १७ जेठ । फिलिपिन्सका प्रधानन्यायाधीश रेनाटो कोरोनालाई मंगलबार त्यहाँको संसद्ले लाखौँ अमेरिकी डलर लुकाएर भ्रष्टाचार गरेको भन्दै पदमुक्त गरेको छ । यसलाई राष्ट्रपति बेनिग्नो अक्विनाको भ्रष्टाचार निवारण कार्यक्रमको विजयका रूपमा लिइएको छ ।
महाअभियोग लगाई प्रधानन्यायाधीशलाई बर्खास्त गरिएको हो । महाअभियोगको मुद्दा छिनिन करिब चार महिना लागेको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश कोरोनाले सम्पत्ति सार्वजनिक नगरी संविधान उल्लंघन गरेको र जनताको विश्वास तोडेको आरोप उनीमाथि लगाइएको थियो ।
उनीमाथि महाअभियोग लगाउन संसद्को माथिल्लो सदनका २३ सांसदमध्ये दुई तिहाइ मत आवश्यक पथ्र्यो । तीमध्ये २० सांसदले महाअभियोगका पक्षमा मतदान गरेका थिए । महाअभियोग लागेर पदमुक्त हुने उनी पहिला फिलिपिनी न्यायाधीश हुन् ।
राष्ट्रपति अक्विनोले मुलुकका सबै तहबाट भ्रष्टाचारको संस्कृति अन्त्य गर्न प्रधानन्यायाधीश कोरोनालाई पदमुक्त गर्नु आवश्यक भएको बताउँदै आएका थिए । अक्विनोले मुलुकमा व्याप्त गरिबी र भ्रष्टाचार अन्त्य गर्ने नारा दिई निर्वाचनमा उत्साहजनक विजय हासिल गरेका थिए । (एएफपी)

प्रतिक्रिया