बल्ड्याङ खाए बाठाले

रेग्मीको डबल अफर धमाका

एक समय निकै बोलवाला थियो, निर्देशक शिव रेग्मीको । रोनाधोनावाला चलचित्रमा यिनको स्पर्धामा आउने निर्देशक पाउनै मुस्किल । थुप्रै सफल चलचित्र नेपाली दर्शकलाई दिएकै पनि हुन् । यसबीच उनलाई आरोप लाग्यो– सधैँ एउटै धारको चलचित्र बनाएको । आरोप मेटाउने प्रयास पनि गरे, केही फरक धारका चलचित्रमा हात हालेर । तर, ती चलचित्रले उनलाई रातो संकेत देखाए, निर्माता खुसी हुन सकेनन् । फर्किए, फेरि उही रोनाधोनावाला चलचित्रतिरै । तर, अब भने उनी झनै फसादमा परेका छन् । उतिबेला धार परिवर्तन गर्न नसकेको आरोप मात्रै थियो, अबचाहिँ समयले नै पुरानै धारका रोनाधोनावाला चलचित्रलाई अस्वीकार गर्न थालेको छ ।  युवापुस्तालाई लक्षित गरिएका आधुनिकतम प्रस्तुतिका र सेक्स विषयका चलचित्रले रेग्मीको ट्रेन्डका चलचित्रलाई पछार्न थालेका छन् । दर्शकहरू नयाँनयाँ प्रयोग खोज्न थालेका छन् ।
यही कारण रोनाधोनावाला चलचित्रबाटै पनि निर्मातालाई सुरक्षित गर्न सक्ने अवस्थामा छैनन् उनी । निर्माताहरू उनलाई पत्याउन छाडे, हातमा चलचित्र पनि पर्न छाडे । यो स्थितिमा एक त जीविकाको सवाल, अर्कातिर हिरोइनका रूपमा स्थापित गरेर छोरीको भविष्य पनि बनाउनु छ उनले । जुक्ति फुराएछन्– डबल अफरको, दुईमा एक फ्री । नभन्दै पछिल्लो एउटा चलचित्रमा छोरीलाई हिरोइन पनि बनाएका छन्, आफैँले निर्देशन पनि गरेका छन् । कुरो के भने दुई चलचित्र गर्न दिए एउटा मात्रको पारिश्रमिक लिने योजना भित्रभित्रै मिलाएछन् यी निर्देशकले । यसो गर्दा चलचित्र पाउन पनि केही सजिलो हुने, छोरीलाई हिरोइन पनि बनाउन पाइने । आइडिया त काइदाकै हो बा † अनिकालमा बीउ जोगाउनु भनेको यस्तै हो नि † होइन त डाइरेक्टर साप ?
बल्ड्याङ खाए बाठाले
प्रदीपकुमार उदय निर्माता मात्र होइन, चलचित्रका  प्रदर्शक पनि हुन् । निर्माण गरेका पुगनपुग आधा दर्जन चलचित्रले उस्तो कडा व्यापार गरेका त छैनन्, टाउकामै हात राख्नुपर्ने पनि बनाएका छैनन् । एक त आफैँ प्रदर्शक, चलाउने थोरबहुत आइडिया पनि पक्कै छ । लामै समय हलमा टिकाएर भए नि लगानी उठाइहाल्छन् । कुन समयमा चलचित्रले राम्रो व्यापार गर्छ भन्ने पनि केही आइडिया हुने नै भयो । गत जेठ १२ गते उनले आफ्नो चलचित्र मालतीको भट्टीको प्रदर्शन मिति जुराएका रहेछन् । तर, लगातारको बन्दले मार हान्न थालेपछि बाठा भएर प्रदर्शन मिति पछिलाई सारेछन् ।
त्यो मितिमा हलमा हाम फाल्यो– लास्ट किसले, सोलो रिलिजका रूपमा । तर, बाइचान्स, त्यसपछिका दिनमा बन्द भइदिएन । लास्ट किसले हाउसफुल व्यवसाय गर्‍यो । त्यो व्यवसाय देखेर हिजोआज उदय साथीभाइमाझ थकथकिन थालेका छन्, ‘धत्तेरिका † अहिल्यै लगाउनुपर्ने रहेछ † व्यर्थै पछिलाई सारियो ।’  के गर्नु निर्माताजी यस्तै हो, कहिलेकाहीँ हतारमा गरेको निर्णयले पनि खोट्टा हान्छ क्या † बाठो खान्छ सात बल्ड्याङ भन्ने त तपाईंलाई थाहै होला नि †

प्रतिक्रिया