सरकार कामचलाउ चुनाव असंवैधानिक

काठमाडौं, १७ जेठ । संविधानसभा भंग भएको तीन दिनपछि मुख खोल्दै राष्ट्रपति डा. रामवरण यादवले डा. बाबुराम नेतृत्वको सरकारलाई ‘कामचलाउ’ घोषणा गरेका छन् । हालसम्मको कार्यसम्पादनका लागि सरकारलाई धन्यवाद दिँदै उनले अर्काे सरकार नबनुन्जेल दैनिक कार्यसञ्चालन गर्न भनेका छन् । तर, नयाँ सरकार गठनका लागि राष्ट्रपतिले कसैलाई आह्वान गरेका छैनन् ।
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी संविधानसभा विघटनपछि प्रधानमन्त्रीको हैसियत कामचलाउ भएको जनाएको हो । ‘सम्माननीय राष्ट्रपतिले संवत् २०६८ साल भाद्र १२ गतेका दिन तत्कालीन संविधानसभाका माननीय सदस्य डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
दलहरुबीच चर्को विवादको विषय बनेको संविधानसभाको नयाँ निर्वाचनप्रति पनि राष्ट्रपतिले आफ्नो असन्तुष्टि उजागर गरेका छन्  । उनले प्रधानमन्त्री भट्टराईसितको भेटमा नयाँ निर्वाचन गर्ने सरकारको निर्णय असंवैधानिक भएको बताएको स्रोतले जानकारी दियो ।
दलहरुको सहमतिविना सरकारले आइतबार राति आगामी ७ मंसिरमा संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेको थियो । कांग्रेस–एमालेलगायतका दलहरुले सरकारी निर्णय असंवैधानिक भएको बताउँंदै राष्ट्रपतिलाई गुहारेका थिए ।
मंगलबार बिहान भेट्न आएका प्रधानमन्त्री भट्टराईलाई राष्ट्रपतिले नयाँ निर्वाचनमा जाने सरकारी निर्णय संविधानसम्मत नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्रीसितको भेटमा राष्ट्रपति यादवले ‘अन्तरिम संविधानमा त संविधानसभाको अर्को चुनाव गर्ने व्यवस्था त कतै छैन नि ?’ भनेर प्रश्न गरेका थिए । चुनावमा नै जाने भएपछि त्यसअघि कानुनी जटिलता नसुल्झाएकोप्रति पनि उनले ध्यानाकर्षण गराए । प्रधानमन्त्री भट्टराईले नयाँ चुनावको व्यवस्था संविधानमा नभएको स्वीकार गर्दै दलहरुसित सहमति गरेर अगाडि बढ्ने आश्वासन दिए ।
राष्ट्रपति यादवले चुनाव गर्ने सरकारको निर्णयबारे विभिन्न दल र कानुन व्यवयासीको फरक–फरक धारणा आइरहेकाले कानुनी परामर्शपछि आफू निर्णयमा पुग्ने प्रधानमन्त्री भट्टराईलाई बताएका थिए । उनले सरकारलाई सहमतिको स्वरुप दिएर मुलुकको संवैधानिक र राजनीतिक जटिलताको अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले संविधानसभाबाट नयाँ संविधान जारी गर्न नसकेपछि सरकारसित चुनावमा जानाको विकल्प नरहेको बताएका थिए । अन्तरिम संविधानले अर्को चुनावको कल्पना नगरेकाले आफूले दलहरुबीच सहमति जुटाएर अघि बढ्न प्रयत्न गर्ने बताउँंदै उनले त्यसमा सहयोग गरिदिन राष्ट्रपति यादवलाई आग्रह गरे । जवाफमा राष्ट्रपति यादवले ‘लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा अगाडि बढे आफ्नो सहयोग रहने’ कूटनीतिक जवाफ दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले सहमतिमा आउन सबै दललाई छिट्टै आग्रह गर्ने र आफ्नो नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विश्वास राष्ट्रपतिसमक्ष व्यक्त गरेका थिए । आफ्नो प्रयत्नमा राष्ट्रपतिको सहयोग अत्यावश्यक रहेको धारणा उनले राखेका थिए । राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले पनि राष्ट्रपतिले सरकार लोकतान्त्रिक बाटामा हिंँडे सहयोग रहने आश्वासन प्रधानमन्त्रीलाई दिएको बताए । ‘प्रधानमन्त्रीले आफू दलहरुबीच सहमतिको प्रयत्नमा रहेको भन्दै राष्ट्रपतिसँंग सहयोग माग्नुभएको थियो, राष्ट्रपतिज्यूले लोकतान्त्रिक बाटामा अघि बढे सरकारलाई सहयोग हुन्छ भन्नुभएको छ’, सल्लाहकार दाहालले सौर्यसित भने ।
राष्ट्रपति कार्यालयले साँझ जारी गरेको विज्ञप्तिमा अन्तरिम संविधानको धारा ३८ को उपधारा (७) को खण्ड(ख)मा व्यवस्थापिका–संसद्को सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था स्मरण गरिएको छ । धारा ३८ को उपधारा (९) बमोजिम भट्टराई नेतृत्वको सरकारलाई अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउ भएर काम गर्न राष्ट्रपतिले भनेका छन् ।
राष्ट्रपति यादवले अन्तरिम संविधानको मर्मअनुसार सबै दललाई सहमति गरेर अगाडि बढ्न पनि आग्रह गरेका छन् । अहिलेको राजनीतिक अन्योल विधिको प्रक्रियाबाटै चिरिने विश्वास पनि उनले व्यक्त गरेका छन् । ‘सम्माननीय राष्ट्रपतिले देशको पछिल्लो परिस्थितिप्रति विशेष जिम्मेवारीबोध गर्दै अन्तरिम संविधान, २०६३ को मर्मअनुरुप राजनीतिक सहमति र सहकार्यको संस्कृतिलाई प्रोत्साहन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभएको छ । संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्योलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री “सकारात्मक”
प्रधानमन्त्री डा भट्टराईले राष्ट्रपति कार्यालयको विज्ञप्तिलाई सकारात्मक रुपमै लिएको स्रोतको भनाइ छ । अभिभावकका रुपमा राष्ट्रपतिले गराएको स्मरणमा ‘अन्यथा केही नभएको’ उनले सहयोगीलाई बताएका छन् ।
‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको हो, त्यहीअनुसार स्मरण गराउनुभएको हो, राम्रै गर्नुभएको छ’, प्रधानमन्त्रीलाई उद्वृत गर्दै उनका प्रमुख स्वकीयसचिव गंगा श्रेष्ठले सौर्यसित भने । राष्ट्रपति कार्यालयको विज्ञप्ति आएपछि प्रधानमन्त्री भट्टराईले आफ्ना निकटस्थसित त्यसबारे कुरा गरेका थिए । स्वकीयसचिव श्रेष्ठले राष्ट्रपतिको विज्ञप्तिको पूर्ण विषयभन्दा मिडियाले ‘पदमुक्त’ भएको विषयलाई मात्रै उचालेको बताए । ‘एउटा बुँंदा मात्रै समातेर मिडियामा आएको छ, सबै बुँंदा पढ्यो भने त प्रस्ट हुन्छ नि’, उनले भने ।

प्रतिक्रिया