अवैध काठ सहित दुई जना पक्राउ

दाङ, १६ जेठ १६ । जिल्ला वन कार्यालय दाङले सालको अवैध चिरान काठ सहित दुई जनालाई पक्राउ गरेको छ । गोल्टाकुरी—१, फुर्केसल्लीको वन क्षेत्रबाट अवैध ढंगले काटिएको ४८ क्यूफिट काठ बरामद गरिएको हो ।
सालको चिरान काठ ल्याउदै गरेको भे १ त ३२७९ नम्वरको ट्याक्टरलाई समेत पक्राउ गरिएको छ । सो चिरान काठ बालुवाले छोपेर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको वन कार्यालयले जनाएको छ ।
पक्राउ गरिएका काठको बजार मूल्य एक लाख ६८ हजार रहेको छ ।
उता, सिन्धुपाल्चोक जिल्लामा अस्थाई प्रहरी चेकपोष्ट बन्देउले १७ किलो सुनाखरी बरामद गरेको छ । बा २ ख २६६३ नम्बरको कन्टेनरमा लुकाई छिपाइ चीन तर्फ लैजादै गरेको प्रतिबन्धित सुनाखरी प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले कन्टेनरको इन्जिन र चालकको सिट माथी लुकाएर ल्याएको सुनाखरी बरामद गरेको प्रहरी नायव उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । सुनखरीसहित प्रहरीले चालक दोर्जे शेर्पा र अन्य दुइ यात्रुलाई पनि नियन्त्रणमा लिएको छ । सौर्य

प्रतिक्रिया