सत्तामा रहने संवैधानिक आधार छैन

काठमाडौं, १६ जेठ । सरकारले एकलौटी रुपमा गरेको निर्वाचन घोषणाले देशलाई गम्भीर संवैधानिक र राजनीतिक संकट तर्फ धकेलेको कांग्रेसले आरोप लगाएको ।
संविधानसभा, व्यवस्थापिका–संसद, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर कपटपूर्ण ढंगले सरकारले निर्वाचन घोषणा गरेको कांग्रेसको आरोप छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिले सरकारको सो कदम असंवैधानिक, प्रतिगामी र निरंकुश रहेको जनाएको छ । ‘यो परिस्थितिमा वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सत्तामा रहिरहने कुनै संवैधानिक र राजनैतिक आधार छैन,’ बैठक पछि जारी विज्ञप्तीमामा भनिएको छ, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा गरी सत्ता छोड्नुपर्दछ ।’
राजनीतिक दलहरुबीच हुने राष्ट्रिय सहमतिले मात्रै संवैधानिक एवं राजनैतिक संकट समाधान हुने कांग्रेसले उल्लेख गरेको छ ।
जनताका उपलब्धीलाई समाप्त पार्ने षडयन्त्र भएको भन्दै कांग्रेसले सो षड्यन्त्र विरुद्ध संघर्षका विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।
‘संवैधानिक र राजनीतिक सबै प्रकारका संघर्ष आवश्यक छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसका लागि समान धारणा राख्ने सबै राजनीतिक दलहरुसँग एक ठाउँमा उभिएर एकतावद्ध ढंगले आन्दोलन र संघर्षका कार्यक्रमहरुलाई अघि बढाउन आह्वान गर्दछौं ।’
संविधानसभाको अवधिभित्र संविधान निर्माण गर्न एमाओवादीबाट निरन्तर अनेक उल्झन एवं वाधा खडा गरेर असम्भव बनाएको कांग्रेसको ठहर छ । ‘नियोजित रुपमा सत्ता कब्जा गर्ने एमाओवादीको षडयन्त्रबाट सार्वभौम नेपाली जनताद्वारा निर्वाचित ऐतिहासिक संविधानसभाको हठात् अवसान भएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
त्यसै गरेर कांग्रेसले सर्लाही जिल्लामा रहेको आफ्नो कार्यालय भवनमा अराजक तत्वहरुले आगो लगाएर ठूलो क्षति पुराएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहको भने अनुपस्थिति रहेको थियो । यद्यपी देउवा समूहका मानिने खुमबहादुर खड्का, डा.मिनेन्द्र रिजाल लगायतका केन्द्रीय नेताहरुको भने उपस्थिति रहेको थियो ।

 

प्रेस विज्ञप्ति                                                              जेठ १६, २०६९

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा— उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, दीपकुमार उपाध्याय, डा. नारायण खड्का, मीना पाण्डे, सुजाता कोइराला, पद्मनारायण चौधरी, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, आमोदप्रसाद उपाध्याय, अजयकुमार चौरसिया, धनराज गुरुङ, पुष्पा भुसाल, शंकर भण्डारी, बद्री पाण्डे र केशवकुमार बुढाथोकीले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. संविधानसभाको अवधिभित्र संविधान निर्माण गर्न एनेकपा (माओवादी) बाट निरन्तर अनेक उल्झन एवं वाधा खडा गरी असम्भव बनाइयो । नियोजित रुपमा सत्ता कब्जा गर्ने एनेकपा (माओवादी) को यो षडयन्त्रबाट सार्वभौम नेपाली जनताद्वारा निर्वाचित ऐतिहासिक संविधानसभाको हठात् अवसान भएको छ । संविधानसभा, व्यवस्थापिका–संसद, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर सरकारले कपटपूर्ण ढंगले एकलौटी गरेको निर्वाचन घोषणाले देशलाई गम्भीर संवैधानिक र राजनीतिक संकट तर्फ धकेलेको
छ । सरकारको यो कदम असंवैधानिक, प्रतिगामी र निरंकुश छ । यो परिस्थितिमा वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सत्तामा रहिरहने कुनै संवैधानिक र राजनैतिक आधार नभएकोले प्रधानमन्त्रीले तत्काल राजीनामा गरी सत्ता छोड्नुपर्दछ ।
उल्लेखित परिस्थितिमा राजनीतिक दलहरुबीच हुने राष्ट्रिय सहमतिले मात्रै संवैधानिक एवं राजनैतिक संकट समाधान हुन सक्छ भन्ने नेपाली कांग्रेसको ठहर छ ।
२. जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने षडयन्त्रका विरुद्ध संघर्षका विभिन्न कार्यक्रमहरु देशव्यापी रुपमा परिचालन गर्ने नेपाली कांग्रेस निर्णय गर्दछ । यसमा संवैधानिक र राजनीतिक सबै प्रकारका संघर्ष आवश्यक छन् । यसका लागि समान धारणा राख्ने सबै राजनीतिक दलहरुसँग एक ठाउँमा उभिएर एकतावद्ध ढंगले आन्दोलन र संघर्षका कार्यक्रमहरुलाई अघि बढाउन नेपाली कांग्रेस आह्वान गर्दछ । साथै, शान्ति र लोकतन्त्रको पक्षमा एकजुट भई संघर्षका कार्यक्रमहरुमा सहयोग तथा सहभागिता जनाउन आम नेपाली जनता समक्ष नेपाली कांग्रेस अपिल गर्दछ ।
साथै, पार्टीका सम्पूर्ण निकाय र भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुलाई सक्रियता साथ संघर्षमा उत्रन आह्वान समेत गर्दछ ।
३. दलित, महिला, आदिवासी, जनजाति, मधेशी लगायत सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग, पेशा, व्यवसायका आम नेपाली जनताको चाहना संविधानसभाबाटै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गरी पूरा गर्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ मत रहेको छ ।
४. सर्लाही जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भवनमा अराजक तत्वहरुले आगो लगाएर अत्यन्त ठूलो क्षति पु¥याएका छन् । त्यसरी आगो लगाउनेहरुलाई पक्राउ गरी तुरुन्तै कारवाही गर्नुको सट्टा उल्टै सरकारले संरक्षण दिएको छ । उक्त घटना र सरकारको रवैया प्रति नेपाली कांग्रेस निन्दा एवं भत्र्सना
गर्दछ । अविलम्व उक्त घटनाका दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न तथा क्षतिपूर्ति दिलाउन नेपाली कांग्रेस मांग गर्दछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव

प्रतिक्रिया