नैतिकताका आधारमा राजीनामा देऊ

एकमात्र जनप्रतिनिधिमूलक निर्वाचित संस्था संविधानसभाको दु:खद् अन्त्य भएपछि मुलुक गम्भीर संकटतर्फ धकेलिएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निकृष्ट सत्ता स्वार्थ र एमाओवादीको ‘कब्जा’ रणनीतिअन्तर्गत गरिएको संविधानसभाको अन्त्येष्टिले नयाँ संविधान नबनाउने षड्यन्त्र हाल सफल भएको मान्नुपर्छ । ६० वर्षअघिदेखि संविधानसभाले निर्माण गरेको संविधान प्राप्त गर्ने जनअपेक्षामाथि तुषारापात गर्दै नियोजित ढंगले गरिएको संविधानसभाको विघटनले राष्ट्रलाई अन्योलग्रस्त बनाएको छ । संविधानसभाका ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) सँग कुनै सरसल्लाह नै नगरी अन्तिम दिन संविधानसभा भङ्ग गर्दै पुन: संविधानसभा निर्वाचनको मिति घोषणा गर्नु ‘ढाँटको निम्तो खाई पत्याउनु’ भनेजस्तै भएको छ । यो सरासर हैकमवादी सामन्त सोचको पराकाष्टा हो । यो अल्पबौद्धिकताको मूढाग्रस्त निर्णयलाई जनताले मान्नैपर्छ भन्ने छैन । तसर्थ नेपाली कांग्रेस, एमाले र अन्य दलका नेताले एमाओवादीको संविधान नबनाउने नियतको पर्दाफास गर्दै वर्तमान अयोग्य सरकारलाई राजीनामा दिन लगाउनुपर्छ । र, त्यसपछि सबै दल, क्षेत्र, जातजाति, धर्म, सम्प्रदायको सहयोगका साथै सद्भावबमोजिम राष्ट्रिय सरकार गठन गरिनुपर्छ । यसले मात्र वर्तमान सरकारले थुपारेको फोहोर सफा गर्दै मुलुकमा व्याप्त थुप्रै समस्या समाधान गर्न सक्छ ।
एमाओवादीले संविधान बनाउन चाहेको छैन भन्ने वास्तविकता सबैले बुझ्नुपर्ने थियो, बुझी नसक्नु सबैको भूल भयो । अब एमाओवादी आफ्नो षड्यन्त्रपूर्ण नीतिमा कति सफल वा असफल हुन्छ भनेर प्रतीक्षा गर्नुभन्दा पनि वर्तमान सरकारलाई तुरुन्त बर्खास्त गरेर उसको ‘कब्जा’ रणनीति असफल बनाउने उपाय अन्य दलले सोच्नुपर्छ । यसले मुलुकलाई त्राण दिन्छ भने जनतामा फैलिएको नैराश्य हटाउने काम गर्छ । संविधानसभाबाटै संविधान बनोस्् भन्ने नेपाली जनताको चाहना अब पूरा नहुने भएपछि वर्तमान प्रधानमन्त्री भट्टराईले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने थियो । तर, नैतिकता गुमाइसकेको अवस्थामा पनि जब्बर भएर कुर्सी नछाड्ने नीति अख्तियार गरेको पाइन्छ । यसले मुलुकमा झन् अन्योल थप्ने छ । तसर्थ विभिन्न बहाना र नाटक गर्न छाडेर एमाओवादीले आफूले गरेको गम्भीर गल्ती स्वीकार गर्दै राष्ट्रिय सरकार निर्माण गर्न वर्तमान प्रधानमन्त्रीलाई राजीनामा दिन लगाउनुपर्छ । अब बन्ने राष्ट्रिय सरकारले मात्र थोरै भए पनि जनतालाई राहत दिन सक्छ ।
जनतामा नेताहरूप्रति विश्वास रहेन । आम नैराश्य व्याप्त भएको छ । एमाओवादीले रोपेको जातीयता र क्षेत्रीयताको बीउ झाँगिँंदैछ । षड्यन्त्रपूर्ण ढङ्गले सामाजिक सद््भाव खलबल्याएर अकण्टक राज्य गर्ने एमाओवादीको कुत्सित मनसाय पनि अब जनताले बुझे । तसर्थ यी सबै अनुभवबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बाध्यता अहिले नेपालका दल र नेपाली जनतासामु उपस्थित भएको छ । अब पनि एमाओवादीको षड्यन्त्रप्रति सचेत नहुने हो भने यो मुलुकले अरू विभिन्नखाले झन्झट र झमेला बेहोर्नुपर्ने हुन्छ । तसर्थ, नेपाली जनताले संविधान नपाए पनि राहत पाऊन् भन्ने उद्देश्य राखेर जिम्मेवार पार्टीहरू जनतामाझ जानुपर्छ । जनतालाई वास्तविकता के हो स्पष्ट पार्ने र अबको योजना प्रस्तुत गर्ने काम जिम्मेवारीपूर्वक यिनै दलले गर्नुपर्छ, किनभने अहिले नेपाली जनता आक्रोशित र निरास छन् । यो निरास अवस्थाबाट मुक्त गर्न पनि राष्ट्रिय सरकारको खाँचो पर्छ । यसका लागि कामचलाउ सरकारका प्रधानमन्त्रीले राजीनामा दिएर नैतिकताको सम्मान गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया