सुदूरपश्चिम बन्द फिर्ता

कैलाली, १६ जेठ । एक महिनादेखि अखण्ड सुदूरपश्चिमको माग राखेर जारी आन्दोलन फिर्ता भएको छ ।
आन्दोलन फिर्तासँगै ३२ दिनपछि सुदूरपश्चिमको जनजीवन सामान्य भएको छ । आइतबार राति संविधानसभा समाप्त भई नयाँ घटनाक्रम विकसित भएपछि सोमबार बिहान धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधरले कोणसभा गरेर बन्द, हडताललगायत सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
धनगढीेस्थित एलएन चोकमा कोणसभाको आयोजना गरेर आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको अखण्ड सुदूरपश्चिम संयुक्त संघर्ष समितिका संयोजक गोपाल देउवाले बताए । आन्दोलनकारीले बन्दहडताल फिर्ता लिएपछि धनगढी, अत्तरिया, महेन्द्रनगरलगायत बजार, उद्योग, कलकारखाना, यातायात सेवा सुचारु भएको छ । बन्द रहेका बजार खुलेपछि दैनिक उपभोग्य सामान किन्न पसलमा सर्वसाधारणको चहलपहल बढेको छ । गन्तव्यमा जान नपाएर रोकिएका यात्रु यातायात सेवा सुचारुपछि गन्तव्यमा गएका छन् ।
सोमबार गणतन्त्र दिवसले सरकारी बिदा भएका कारण शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय बन्द थिए । मंगलबारबाट विद्यालय तथा कार्यालय खुल्ने कैलालीका सिडिओ कैलाशकुमार बजिमयले जानकारी दिए ।
मोर्चाका पाँच कार्यकर्ता पक्राउ
विराटनगरमा आन्दोलन जारी भनेर बजार बन्द गराउँदै हिँडेका बृहत् मधेसी मोर्चाका पाँच कार्यकर्ता पक्राउ परेका छन् । संविधानसभा भंग भएपछि बन्दको औचित्य नभएको भन्दै स्वत:स्र्फूत रूपमा बजार खोलेर व्यवसायमा लागेका व्यापारीलाई बन्द जारी भन्दै मोर्चाका कार्यकर्ताले जबर्जस्ती बजार बन्द गराउन लगाएका थिए ।
व्यापारीले प्रतिवाद गरेपछि बन्द गराउन दबाब दिने मधेसी जनअधिकार फोरम नेपालका मोरङ अध्यक्ष उमेश यादव, केन्द्रीय सदस्य मृत्युञ्जय झासहित पाँचलाई नियन्त्रणमा लिइएको डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए । एकीकृत नेकपा (माओवादी) समर्थित मधेसी मुक्ति मोर्चा क्रान्तिकारीसहित १७ साना घटकले १५ दिनदेखि संघीय संविधानका लागि तराई बन्द गराउँदै आएका थिए ।
यस्तै, बन्दको विरोध भएपछि मोर्चाले बिहान ११ बजेपछि बन्द फिर्ता लिएको छ र पूर्वको जनजीवन सामान्य भएको छ ।

प्रधानमन्त्रीको पुतलादहन

जनताले संविधान बनाउन पठाएका जनप्रतिनिधिले निर्धारित समयमा संविधान जारी गर्न नसकेर संविधानसभा स्वत: भंग भएपछि धनगढीमा प्रधानमन्त्री बाबुराम भट्टराई र सभासद्हरूको पुतलादहन भएको छ । प्रदर्शनकारीले राजनीतिक दलका नेताविरुद्ध नाराबाजी गर्दै एकीकृत नेकपा (माओवादी)प्रति आक्रोश पोखेका थिए । माओवादीको एकल जातीय पहिचानसहितको राज्य हुनुपर्ने अडानका कारण देशवासीले नयाँ संविधान पाउन नसकेको भन्दै प्रदर्शनकारीले पार्टी अध्यक्ष पुष्पकमल दाहालको पनि पुतलादहन गरेका थिए । उनीहरूले संविधान जारी गर्न नसकेर मध्यरातमा निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री भट्टराईको राजीनामा समेत माग गरेका थिए ।

प्रतिक्रिया