२८ दिनमा ७५६ ठाउँ डढेलो

काठमाडौं, १६ जेठ । डढेलोको मुख्य सिजन सकिएको २४ दिनमा मुलुकका ६ सय ४७ ठाउँमा डढेलो लागेको छ । मुख्य सिजनपछिको मे महिनामा यसपटक लागेको डढेलो अहिलेसम्मकै सबैभन्दा भयावह हो भने अघिल्लो वर्षको तुलनामा पाँच गुणाभन्दा बढी ।
सन् २०११ को मेमा एक सय ११ ठाउँमा डढेलो लागेको थियो । त्यसअघि २०१०, २००९ र २००८ मा ९४, ६४ र ९९ ठाउँमा मात्रै डढेलो लागेको थियो । अमेरिकी भूउपग्रह पद्धति नासाको मोडिस प्रविधिका अनुसार मेको २४औँ दिन बिहीबार चितवन राष्ट्रिय निकुञ्ज पश्चिमका तराई र केही पहाडका जंगलका २७ ठाउँमा डढेलो लागेको थियो ।
नेपालमा मार्च र अप्रिललाई डढेलोको मुख्य सिजन मानिन्छ । तर, मेमा समेत अघिल्ला वर्षको तुलनामा धेरै र भयावह रूपमा दिनहँु डढेलो लागिरहेको दक्षिण एसियाली डढेलो व्यवस्थापन संजालले जनाएको छ । ‘सुख्खापनको कारणले हो वा के हो ? यो वर्ष डढेलोको सिजन सकिएपछि पनि दिनहँु जंगलमा डढेलो लागिरहेको छ,’ संजालका संयोजक सुन्दर शर्माले भने, ‘अघिल्ला वर्षमा यस्तो भएको थिएन ।’
संजालका अनुसार मेमा लागेको डढेलोको संख्या मार्चको भन्दा ४२ ठाउँ बढी हो । मार्चमा ६ सय पाँच ठाउँमा मात्रै डढेलो लागेको थियो । तथ्यांकअनुसार सन् २०१२ का पाँच महिनामा यसअघिका वर्षमा वर्षभर नै लागेको डढेलोभन्दा धेरै डढेलो लागेको छ । यो वर्ष अहिलेसम्म दुई हजार नौ सय ३९ ठाउँमा डढेलो लागिसकेको छ । जुन सन् २००८, २००९, २०१० र २०११ को वर्षभरिको भन्दा बढी हो ।
सन् २००८ मा एक हजार चार सय ७८, २००९ मा दुई हजार एक सय ३७, २०१० मा दुई हजार सात सय ९३ र २०११ मा एक हजार ६ सय १३ ठाउँमा डढेलो लागेको संजालले जनाएको छ । त्यस्तै, यो वर्षको डढेलोको पिक सिजनमा २००८, २००९ र २०११ को भन्दा बढी डढेलो लागेको छ । सन् २०१० मा भने यो वर्षभन्दा दुई सय ६५ ठाउँमा धेरै डढेलो लागेको थियो । यो वर्ष पिक सिजनमा दुई हजार एक सय ६८ र सन् २०१० मा दुई हजार चार सय ३३ ठाउँमा डढेलो लागेको थियो ।
सन् २००८, २००९ र २०११ मा क्रमश: एक हजार एक सय ५६, एक हजार सात सय ६७ र एक हजार दुई सय ५७ ठाउँमा डढेलो लागेको तथ्यांक छ । अघिल्ला वर्षमा भन्दा सुख्खायाम भइरहेकाले अझै डढेलोका घटना भइरहेको हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘यो वर्ष धेरै गर्मी र सुख्खायाम भइरहेकाले डढेलो बढेको हुन सक्छ,’ विभागका उपमहानिर्देशक मणिरत्न शाक्यले भने । उनले अझै केही दिन सुख्खायाम रहिरहने र त्यसपछि पनि छिटफुट मात्रै वर्षा हुने भएकाले गर्मीसँगै तापक्रम बढेर जाने बताए ।
डढेलोले बर्सेनि भयावह रूप लिए पनि यसको नियन्त्रणमा कसैले चासो नदिएको देखिन्छ । डढेलो नियन्त्रणबाहिर गएर हजारौँ हेक्टर वन तथा सयौँ बस्ती सखाप हुने गरेको छ ।
संजालका संयोजक शर्माका अनुसार नयाँ पालुवा पलाउँछ भनेर होस् वा तस्कर, चोरी–सिकारीले जन्तु मर्छन् भनेर जानीजानी ६२ प्रतिशत आगो लगाउँछन् र पछि त्यही आगो अनियन्त्रित हुन्छ । ‘अरू बाँकी मानिसकै लापरबाहीले लागेको देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया