खोजखबर

गर्मीमा एलर्जीको हैरानी

सौर्य अनलाइन २०६९ जेठ १५ गते २:४६ मा प्रकाशित

गर्मीको सुरुआतसँगै मानिसलाई छालाको एलर्जीले सताउने गर्छ । बढ्दो वातावरणीय प्रदूषणका कारण एलर्जीको जोखिम झनै बढेको चिकित्सकहरू बताउँछन् । चिकित्सकीय भाषामा शरीरलाई कुनै चीज नफाप्नु नै एलर्जी हो । कसैलाई धूलो फाप्दैन त कसैलाई खानेकुरा वा पानी । यसै कारण एलर्जीका प्रकार र रूप थुप्रै हुन सक्छन् । कसैकसैलाई सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले शरीर चिलाउने हुन्छ ।
चर्मरोग विशेषज्ञहरूका अनुसार कतिपय मानिसलाई लुगाबाट त कतिलाई झारपात या बोटबिरुवाको पनि एलर्जी हुन्छ । वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झा लामखुट्टे, भुसुना आदिको टोकाइबाट तथा कसैलाई केरा, मासको दाल, अन्डाले पनि एलर्जी गराउन सक्ने बताउँछन् । उनका अनुसार विशेष गरी गर्मी, धुलो, धुवाँको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । ‘पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ,’ उनले भने, ‘यसको एलर्जिक प्रभाव मानिसमा देखिन सुरु गरिसकेको छ ।’ यतिखेर यिनै कारणले एलर्जीको समस्या लिएर अस्पताल आउनेको संख्या ह्वात्तै बढेको उनले सुनाए ।
एलर्जी मुख्यतया तीन किसिमका हुन्छन् । मुखबाट भित्र पसेको श्वास फोक्सोसम्म पुग्दा पनि एलर्जी निम्तिन सक्छ । यस्तो एलर्जीपीडितहरूलाई दम हुने गर्छ । बूढाबूढीलाई हुने दम र एलर्जीका कारण हुने दममा फरक रहने र यसले सानै उमेरका मानिसमा पनि दमको समस्या ल्याउने डा. झा बताउँछन् । यो हावाबाट हुने एलर्जी हो । त्यस्तै नाकबाट हावा पसेर अर्को प्रकारको एलर्जी हुन्छ, जसलाई राइनाइटिस भनिन्छ । यसमा नाक बन्द भइरहने, नाकबाट पानी आइरहने हुन्छ । तेस्रो प्रकारको एलर्जी खानाका कारण हुने हो । यसमा कसैकसैलाई कुनैकुनै खानेकुराले पेटमा पुगेर रगत हुँदै छालामा फैलिएर असर गर्छ । छालामा फोका वा बिबिरा देखिन्छ ।
छालामा सिधै स्पर्श भएर पनि एलर्जी हुन्छ । कतिपय अवस्थामा छालाले बोटबिरुवा, लुगा छुँदा शरीरलाई नफाप्ने हुन्छ । कपालमा रंग लगाउँदा एलर्जी भएर अस्पताल धाउनेको संख्या पनि निकै हुने चिकित्सक झा बताउँछन् । माटो या सिमेन्टको काम गर्नेलाई पनि एलर्जी हुने गर्छ । लामो समयसम्म एलर्जी भए कन्याउँदा–कन्याउँदै घाउ नै हुन्छ । डा. झाका अनुसार गम्भीर किसिमको एलर्जीमा आगोले पोलेजस्तो फोका उठ्छन् र त्यहाँ पानी जम्छ । यसो भन्दैमा सबै चिलाउने रोगहरू एलर्जी नहुने उनी बताउँछन् । ‘छाला तथा अन्य भित्री रोगले पनि शरीर चिलाउने हुन सक्छ,’ उनले भने । उनका अनुसार खानेकुरा, कपडा, बोटबिरुवाको एलर्जी हुँदा औषधि खानुपर्छ । त्यसबाहेक शरीरको भित्री कारणले हुने एलर्जी भने सामान्य औषधिले निको हुँदैन ।
जन्डिस, कलेजोमा सिरोसिस, रक्तअल्पता वा रगत बढी हुनेहरूमा पनि एलर्जी हुन्छ । रगत बढी भएर हुने एलर्जी पोलिसाइथेमिया हो । गर्भवती अवस्थामा थुप्रै महिलालाई शरीर र यौनांग चिलाउने एलर्जीले सताउने डा. झाको भनाइ छ । उनका अनुसार ग्लान्डको क्यान्सरले पनि चिलाउँछ, यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।
विशेषज्ञहरूका अनुसार एलर्जीपछि उपचार गर्नभन्दा जुन–जुन चिजले एलर्जी भइरहेको छ, त्यसबाट बच्नु नै सबैभन्दा राम्रो हो । धेरै चिलाएको छ भने कम हुने औषधि खानुपर्ने हुन्छ । ‘डाबर आएको छ भनेचाहिँ औषधि खानुपर्छ,’ डा. झाले भने । उनका अनुसार उपचार खोज्नुअघि के कारणले चिलाएको हो, पत्ता लगाउनुपर्ने हुन्छ । लुतोले गर्दा चिलाएको हो भने त्यसलाई एलर्जीको औषधिले ठीक गर्दैन । यो औषधिले लुतोका किटाणु मर्दैनन्, चिलाउन कमचाहिँ हुन सक्छ । दादले चिलाउनु एलर्जी होइन । कास लाग्दा चिलाउनु ढुसी पर्ने फंग्स हो । यी समस्यामा एलर्जीको औषधि प्रभावकारी हुँदैन ।
उनका अनुसार गर्मीका कारण हुने एलर्जीबाट बच्न प्रशस्त पानी पिइरहने, चिसो पदार्थ खाने, चिसो तथा छाया परेको स्थानमा बस्ने गर्नुपर्छ । धुलो, धुवाँ तथा प्रदूषणका कारण एलर्जी हुनेहरूले त्यसबाट बच्नुपर्छ, शरीरलाई सफासुग्घर बनाइराख्नुपर्छ । एलर्जीले कडा रूप लिइसकेको अवस्थामा सुरुमा चिलाउन कम गर्ने औषधि खाने र त्यसपछि घाउको उपचारतर्फ लाग्नुपर्ने चिकित्सकहरू सुझाउँछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय