‘सरकारको बैधानिकता सकिएको छ’

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको निर्वाचन मंसिर–७ गते घोषणा गरेको विषयलाई कांग्रेस, एमाले लगायतका दलहरुले असंवैधानिक रहेको भन्दै विरोध जनाएको छ ।
राष्ट्रपति डा. रामवरण यादवलाई सामूहिक रुपमा भेटगरेपछि प्रधानमन्त्री भट्टराईले म्याद रहदै संविधानसभा विघटनको प्रस्ताव गरेको आरोप लगाए ।
डा.यादवसँगको भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री भट्टराई अबैधानिक भएको दाबी गरे । उनले संविधानसभा विघटन गर्ने भट्टराईको सो कार्य लोकतन्त्र विरोधी रहेको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि व्यवस्थापिका संसद विघटन भएलगत्तै प्रधानमन्त्री भट्टराई अबैधानिक भईसकेको बताए ।
उनले निर्वाचन कसरी गर्ने हो भन्ने बारेमा अन्यौलता रहेको भन्दै राजनीतिक र संवैधानिक रुपमा अगाडि बढ्ने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रपतिले यस विषयमा सबैसँग बुझ्ने भन्दै आश्वासन दिएको बताए ।
नेताहरुले मुलुकलाई निकास दिनका लागि राजनीतिक सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रपति डा.यादवसँग भेट्न कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाका नेताहरु शीतल निवास पुगेका थिए ।
यसैवीच, उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर एकतर्फि रुपमा प्रधानमन्त्री भट्टराईले निर्वाचन घोषणा गरेकोमा विरोध जनाएका छन् ।
उनीहरुले प्रधानमन्त्रीको सो कार्यलाई निरंकुशताको संज्ञा समेत दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलन गरेर मंसिर सात गते दोस्रो पटक संविधानसभाको निर्वाचन घोषणा गरेलगत्तै पाँच वटा दलका प्रमुख नेताहरुले राष्ट्रपति डा.यादवलाई भेट गरेका थिए ।

प्रतिक्रिया