तामाकोसी आयोजनाको गतिरोध अन्त्य

काठमाडौं, १४ जेठ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा देखिएका सबै गतिरोध अन्त्य भएका छन् ।
विवादका कारण बैठक बस्न र निर्णय गर्न नसक्दा निर्माण प्रभावित हुँदै आएको तामाकोसी सञ्चालक समितिको शुक्रबारको बैठकले सबै अवरोध अन्त्य गरेको हो । बैठकले आयोजना प्रमुखको नियुक्ति, आयोजना निर्माणका ठेकेदार र परामर्शदाता कम्पनीको रकम भुक्तानीलगायत विषयमा निर्णय गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक सदस्य र आयोजना प्रमुख नियुक्ति गरेपछि तीन महिनादेखि आयोजनाको काम प्रभावित हुँदै आएको थियो । आयोजनाको नियम र व्यवस्थालाई हस्तक्षेप गरी प्राधिकरण सञ्चालकले सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्की र आयोजना प्रमुखमा प्राधिकरणकै सुनिल ढुंगेललाई नियुक्ति गरेको भन्दै विवाद बढेपछि सञ्चालक समिति बैठक बस्न सकेको थिएन । पछिल्लोपटक दुई बैठक बसे पनि कुनै निर्णय भएन । बिहीबार मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको निर्णय गलत भएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएपछि तामाकोसी विवाद टुंगिएको हो ।
माथिल्लो तामाकोसी सञ्चालक समितिको बैठकले प्राधिकरण सञ्चालक समितिले आयोजना प्रमुखमा नियुक्त गरेका ढुंगेललाई फिर्ता गरेर अर्को व्यवस्था नभएसम्मका लागि आयोजनाकै वरिष्ठ कर्मचारी विज्ञान श्रेष्ठलाई निमित्त आयोजना प्रमुखमा नियुक्त गरेको छ । गत चैत मसान्तमा आयोजना प्रमुख उत्तमकुमार श्रेष्ठको पदावधि सकिएको थियो । नियमअनुसार, माथिल्लो तामाकोसी सञ्चालक समितिले नियुक्ति गर्नुपर्ने व्यवस्था भए पनि प्राधिकरणले ढुंगेललाई आयोजना प्रमुख नियुक्त गरेको थियो ।
कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार अब आयोजनाको सिभिल कार्यबापत सिनो हाइड्रोलाई दिनुपर्ने करिब २७ करोड र लट तीनको इलोक्ट्रोनिकल मेकानिकल कार्य गरिरहेको अस्ट्रियाको एन्ड्रिजलाई दिनुपर्ने करिब एक अर्ब रुपियाँ दिने बाटो खुलेको छ । आयोजनाका अनुसार प्रमुख नहुँदा र बैठक नबस्दा करिब एक अर्ब ५० रुपियाँ रकम दिन सकिएको थिएन भने डिजेल पर्याप्त ल्याउन नसक्दा र समयमै रकम दिन नसक्दा आयोजनाको निर्माण प्रभावित भएको थियो ।
बैठकले आयोजनाको लट चारको प्रसारण लाइन निर्माणका लागि टेन्डर गर्न पनि स्वीकृति दिएको छ । आगामी मंगलबारसम्म टेन्डर भइसक्ने माथिल्लो तामाकोसी सञ्चालक समितिका अध्यक्ष एवं प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीले जानकारी दिए । त्यसैगरी व्यवस्थापन समूहको नियुक्तिका लागि सञ्चालक समितिले सम्बन्धित स्मेक कम्पनीको प्रस्तुतीकरण हेरी र नेगोसेसिएसन गरी प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी बैठकको निर्णयसँगै आयोजनाका लागि प्रवद्र्धकहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थानलगायतसँग ऋण सम्झौता गर्न पनि बाटो खुलेको छ । ‘माथिल्लो तामाकोसी आयोजनामा देखिएका सबै समस्याहरू समाधान भएका छन्,’ अध्यक्ष बिसीले भने । विवादका कारण तामाकोसी बैठक बस्न नसकेको बताउँदै सञ्चालक सदस्य राधाकृष्ण पोतेले सबै बाधा, अवरोध र गतिरोधको अन्त्य भएको बताए । ‘नियम र व्यवस्थाअनुसार अघि नबढ्दा धेरै विवाद आएका थिए, अख्तियारको निर्देशनपछि सबै समाधान भए, अब आयोजना अघि बढ्छ,’ उनले भने ।
विवादको कारण बैठक नबस्दा र महत्त्वपूर्ण निर्णय नहुँदा आयोजनाले १२ करोड घाटा बेहोर्नुपरेको कम्पनी सचिव श्रेष्ठले बताए । ‘८१/८२ रुपियाँको डलर ९० पुग्यो, यसले १२ करोड त प्राधिकरणले सिधै घाटा बेहोर्नुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया