बन्दले हवाई यात्रु बढे


नेपालगन्ज, १४ जेठ । बन्द–हडतालका कारण सडक यातायात अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको छ ।
आदिवासी–जनजाति, अखण्ड
मध्यपश्चिम, थरूहट तथा मधेसवादी दलले दुई सातादेखि गरेको बन्दले सवारीसाधन नचल्दा नेपालगन्ज हुँदै मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला र काठमाडांैतर्फ जाने हवाई उडानमा यात्रुचाप बढेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
कार्यालयका अनुसार राजधानी र पहाडी जिल्लाका लागि उड्ने जहाजमा यात्रुको चापका कारण टिकटका लागि मारामारको अवस्था छ । टिकट नपाएर सयौँ यात्रु नेपालगन्जमा अलपत्र
परेका छन् ।
लामो समयदेखि सडक यातायात अवरुद्ध भएका कारण कार्यालय तथा व्यापारिक कामका लागि हवाई यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रु बताउँछन् ।  पहाडी जिल्लामा जानेलाई बाध्यता भएकाले हवाई यात्राको भर पर्नुपरेको छ ।
यात्रुचाप बढेका कारण बुद्ध एयरले नेपालगन्जदेखि काठमाडांैका लागि ७२ सिट क्षमताको एटिआर विमानबाट दैनिक दुई उडान भर्दै आएको छ । नेपालगन्जबाट काठमाडांैका लागि हुने यति एयरको उडानमा टिकट पाउनका लागि एक सातादेखि १० दिनसम्म पर्खनुपर्ने अवस्था रहेको यति एयरलायन्स  नेपालगन्जका स्टेसन म्यानेजर भीम राईले बताए । उनले अहिले बन्दका कारण एक्कासि यात्रुको चाप बढेपछि सेवा दिन नसकिएको जानकारी पनि दिए ।
स्ट्रिम विमानबाट नेपालगन्जदेखि काठमाडांैका लागि दैनिक दुईवटा उडान गर्दै आएको छ । त्यस्तै नेपालगन्जबाट कर्णाली, भेरी र राप्ती अञ्चलका विभिन्न जिल्लामा हुँदै आएको नेपाल एअरलाइन्स र निजी विमान कम्पनीका चार्टर्ड उडानमा समेत ठाउँ नपाएर सयाँैं यात्रु राँझा विमानस्थलमा अलपत्र परेका छन् ।
लामो समयदेखि बन्द–हडतालका कारण सडक यातायात अवरुद्ध भए पनि अवरुद्ध सडक यातायात सञ्चालन गर्नेतर्फ सरकारले ध्यान नदिँदा यात्रु महँंगो टिकट किनेर हवाई यात्रा गर्न बाध्य छन् । हवाई उडान न्यून भएका कारण महँंगो शुल्क तिरेर पनि उनीहरू आफ्नो गन्तव्यमा पुग्न सकिरहेका छैनन् । भारतबाट काम गरेर फर्किएका अधिकांश नेपाली हवाई तथा सडक दुवै सवारीसाधन नपाएपछि पैदलद्वारा गन्तव्यतिर लागेका छन् । बन्द खुल्ने आसमा केही दिन नेपालगन्जमै बिताएका उनीहरूले टिकट नपाएपछि पैदल गएको जुम्लाका वीरबल रोकाले बताए ।

प्रतिक्रिया