हतियारधारीको चलखेल बढ्दो

दाङ, १४ जेठ । दाङमा हुने बन्द, हडतालमा हतियारधारी समूहको संलग्नता भएको भन्दै प्रहरीले सतर्कता अपनाउन थालेको छ । हतियारधारी समूहको चहलपहलसँगै अराजक गतिविधि बढ्न थालेपछि प्रहरीले सुरक्षामा सतर्कता अपनाएको हो ।

प्रहरीले जिल्लामा तीनवटा हतियारधारी समूह रहेको खुलासा गरेको छ । हतियारधारी समूहमध्ये पहिलोमा विभिन्न कालखण्डमा माओवादी भएका छन् भने दोस्रो समूहमा लुटपाट मच्चाउने पेसेवर समूह रहेका छन् । यस्तै, पछिल्लो समय उद्योगी, व्यापारी पनि हतियारको प्रयोग गर्न उद्यत भएको प्रहरीको अनुमान छ ।
जिल्लामा हुने लुटपाटमा माओवादीबाट फर्किएका, पूर्वलडाकु, भगौडा, अवकाश प्राप्तको समूहसँग हतियार भेटिन थालेका छन् । विभिन्न समयमा पक्राउ पर्नेमा प्राय: यिनीहरू नै हुने गरेको प्रहरीको दाबी छ । हापुर बिजौरीका ५३ वर्षीय नरबहादुर मल्ल र ४६ वर्षीय प्रेमबहादुर सिंहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । उनीहरू द्वन्द्वकालका माओवादी रहेको पाइएको छ । हतियारधारी समूहबाट दाङमा हत्या, लुटपाट पनि बढेको छ ।
यस्तै, स्युजा–२ बोल्दीका विष्णुप्रसाद खत्री जंगलमा मृत अवस्थामा फेला परे । कन्चटमा गोली लागेका अवस्थामा भेटिएका खत्रीको हत्यामा उनकै साथीको संलग्नता फेला परेको छ । पक्राउ परेका ४१ वर्षीय ढाटे थापा, ५० वर्षीय गुमान घर्ती, ४५ वर्षीय जोखबहादुर थापा, ५२ वर्षीय जन्जबहादुर मल्लले सिकार खेल्न जंगल गएका बेला खत्रीलाई गोली हानेका थिए । भरुवा बन्दुकका साथमा पक्राउ परेका सबै अभियुक्त सशस्त्र युद्धकालमा माओवादी कार्यकर्ता रहेको पाइएको छ ।
अपराधमा पक्राउ परेका अधिकांश माओवादी नेता एवं कार्यकर्ता छन् । एसपी गणेशबहादुर ऐर भन्छन्, ‘शान्तिप्रक्रियापछि दाङमा घरेलु हातहतियारको बढ्दो बिगबिगी देखिन थालेको छ ।’ उनका अनुसार माओवादी नेता तथा कार्यकर्ता त्यस किसिमका हतियार बनाउन र चलाउन सिपालु छन् ।
६ महिनायतामात्र प्रहरीले दाङमा डेढ दर्जनभन्दा बढी अभियुक्तलाई हतियारसहित पक्राउ गरेको छ । उनीहरू विभिन्न समयमा माओवादीमा संलग्न नेता तथा कार्यकर्ता हुन् ।
माओवादीमा संलग्न मात्र होइन, ठूला व्यवसायी र प्रत्यक्ष रूपमा आपराधिक क्रियाकलापमा पेसागत रूपमै लागेका समूह पनि जिल्लामा हतियारधारीको सूचीमा पर्छन् । खास घर र ठेगाना एकै ठाउँ नभएका यी समूह विभिन्न स्थान र ठाउँबाट जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न हुनकै लागि एक भएको प्रहरीको अनुमान छ ।
घोराही रझेना डेरा गरी बस्ने गणेश नेपाली र विकास वादी खुकुरी, एसएलआर र त्यसमा राख्ने गोलीसहित पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा उनीहरू अपराधलाई पेसा बनाउने हतियारधारी भएको पाइएको छ । मोटरसाइकलको अवैध कारोबार, पसल डकैती, राजमार्गमा गाडी कब्जालगायत क्रियाकलापमा उनीहरूको संलग्नता पाइएको छ ।
जिल्लामा उद्योग व्यवसायीको केही समूह पनि हतियारधारीका पंक्तिमा छन् । उनीहरूले परिस्थिति हेरेर हतियारका भरमा व्यवसाय चलाइरहेको प्रहरीको दाबी छ । प्रहरीका नजरमा उनीहरू हतियारधारी भनिए पनि ६ महिनाभित्र जिल्लामा कुनै पनि व्यवसायी हतियारसहित पक्राउ भने परेका छैनन् । समाजका उच्च ओहोदा बनाएकाले पनि हतियार प्रयोग गरिरहेको प्रहरी अनुसन्धानमा फेला परेको छ । ठोस प्रमाण फेला पर्न नसक्दा उनीहरूलाई प्रहरीले छापा मार्न सकेको छैन । घर–जग्गा कारोबार, निर्माण व्यवसायी, यातायात व्यवसायी बिस्तारै हतियारमोहमा फस्दै गएको पाइएको छ । व्यवसायीबीच मनमुटाव, झगडा र लडाइँ हुँदा गोली पड्काउने र धारिलो हतियारको प्रयोग हुने गरेको छ ।
अनुसन्धानलाई बलियो बनाउन प्रहरीले जिल्लामा सादा पोसाकमा प्रहरी परिचालन गरेको छ । एसपी ऐर भन्छन्, ‘यस्तो अवस्थामा हतियारधारी सक्रिय हुने सम्भावनाले सुरक्षा व्यवस्था बलियो बनाउन जरुरी छ ।’

प्रतिक्रिया