नेपालीलाई भारत जान रोक

रौतहट, १४ जेठ । सीमा सुरक्षामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानको ज्यादतीको विरोधमा उत्रिएका भारतीयमाथि दमन हुँदा एक भारतीयले ज्यान गुमाएका छन् । शनिबार दिनभर स्थानीय बासिन्दा एसएसबीविरुद्ध प्रदर्शनमा उत्रिएपछि सीमा सुरक्षामा रहेका प्रहरीले नेपालीलाई भारत जानसमेत रोक लगाएका छन् ।

शनिबार एसएसबीको क्याम्प हटाउन माग गर्दै विरोधमा उत्रिएकाहरूमाथि गोली चलाउँदा एकको ज्यान गएको हो । एसएसबीको गोली लागेर बैरगनिया डुमरवानाका १८ वर्षीय भारतीय निरज पासवानको मृत्यु भएको छ । उनीमाथि तीन राउन्ड गोली प्रहार भएको थियो । शुक्रबार साँझ भारतीय बजार बैरगनियाका दुई युवतीलाई एसएसबीका जवानले दुव्र्यवहार गरेपछि उत्पन्न विवादले शनिबार उग्ररूप लिएको हो । एसएसबीले आफ्ना चेलीबेटीलाई नराम्रो दृष्टिले हेरेको भन्दै स्थानीयले त्यस क्षेत्रबाट बेस क्याम्प हटाउनु पर्ने माग राखी शनिबार प्रदर्शन गरेका हुन् ।
स्थानीयले क्याम्पलाई चारैतिरबाट घेरा हालेर ढुंगामुढा गरेपछि एसएसबीका जवानले पाँचसय राउन्ड गोली चलाएको स्थानीय नेता रामराजा यादवले बताए । अत्याधुनिक हतियारबाट चलाइएको गोली लागेर एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेलाई एसएसबीले नै क्याम्पमा घिसारेर लगेको बताइएको छ ।
विरोध प्रदर्शनका लागि बैरगनिया आसपासका गाउँबाट समेत आएका गाउँलेले एसएसबीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनसमेतलाई अटेर गरेर सीमाक्षेत्रमा एसएसबीका जवानले ज्यादती गरेपछि स्थानीय विरोधमा उत्रेका हुन् । उनीहरूले सीमा क्षेत्रबाट बेस क्याम्प हटाउन माग राखेका छन् ।
भारतीय क्षेत्रमा तनाब बढेपछि शनिबार रौतहटको मुख्य नाका गौर भन्सारमा पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाइएको छ । सुरक्षा सतर्कतामा रहेका प्रहरीले नेपाली नागरिकलाई शनिबार भारत जान रोकेका थिए । सीमामा रहेका एसएसबीका जवानले नेपालीमाथि पनि कुटपिट र लुटपाट मच्चाएर दु:ख दिएको खबरका बीचमा भारतीय नै एसएसबीविरुद्ध उत्रिएपछि भारतलाई पनि नैतिकताको दबाब परेको छ । सीमा सुरक्षाका लागि खटाइएका एसएसबी अराजक, उग्र बनेर अपराधमा उत्रिएको खबर खण्डन गर्दै आइरहेको भारतलाई आफ्नै नागरिक पनि पीडामा रहेको खबरले चुनौती दिएको छ ।

प्रतिक्रिया