ढुकुटीमा फसेपछि आत्महत्या

काठमाडौं, १४ जेठ । ढुकुटीको कारोबारमा डेढ करोड रुपियाँ डुबाएका मोरङको बिराटनगरका ३० वर्षीय नारायण अधिकारीले आत्महत्या गरेका छन् । कपन–३ स्थित भाडामा लिएको फ्ल्याटमा शनिबार बिहान साढे ७ बजे उनी मृतअवस्थामा भेटिएका हुन् ।

परिवार स्रोतका अनुसार उनको मृत्यु ढुकुटीकै कारण भएको हो । पत्नी सुष्मा र ५ वर्षीय छोरा डेरामा नभएको बेला उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । परिवारका अनुसार पत्नी सुष्मा छोरासँगै आरूवारीस्थित माइत गएकी थिइन् । शुक्रबार नारायण परिवारसँगै ससुराल गए पनि उनी राति नै फर्केका थिए । बिहान ६:४५ बजे ढुकुटी कारोबारकै सिलसिलामा उनको रोहित दुलाल र दुलालपत्नीसँग भेट भएको थियो । दुलाल दम्पती १५ मिनेट बसेर बाहिरिएको थियो । उनीहरूसँग ढुकुटीकै लेनदेनबारे कुरा भएको नारायणका काका पर्ने उमेश निरौलाले बताए ।
निरौलाका अनुसार त्यसलगतै कोठाभित्र पसेका उनलाई जेठीसासुकी छोरीले ढोका ढकढकाएर बोलाउँदा पनि नबोलेपछि झ्यालबाट चियाएकी थिइन् । नारायण सोफाभन्दा तल लडिरहेको देखिएपछि हल्लाखल्ला गरिएको थियो । त्यसपछि छिमेकीले ढोका फोरी कोठाभित्र प्रवेश गर्दा नारायण अचेत अवस्थामा थिए । तत्काल महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेको थियो ।
आर्थिक अवस्था बिग्रिएपछि उनले विषसेवन गरी आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार उनको डेरामा रक्सीको बोतलभित्र मट्टीतेलजस्तो देखिने तरल पदार्थ फेलापरेको थियो ।

उनले गत आइतबार सौर्यसँग यसो भनेका थिए
काठमाडौ मलमा मेरो कस्मेटिकको होलसेल पसल थियो । व्यापारकै क्रममा चाबहिल गणेस्थानस्थित एक ब्युटीपार्लरमा म पुग्दा कृष्ण थापा र वसुना कार्कीले ढुकुटी खेलाउँदै रहेछन् । मैले ढुकुटीसम्बन्धी थोरै जानकारी त्यहीँ पाएँ । पछि मैतीदेवीमा भेट भएपछि उनीहरूकै आग्रहमा मैले ढुकटी खेलेँ ।
पहिलो चरणमा ३३ हजार लगानी गर्दा मैले २२ हजार नाफा कमाएको थिएँ । त्यसपछि ममा विस्तारै ढुकुटीको लत बस्दै गयो । केही महिनापछि मैले पनि पाँच लाखको ढुकुटी खेलाएँ । दैनिक लाखौँ रुपियाँ खेलाउन पाउने भएपछि चाँडै करोडपति बनिन्छ भन्ने लाग्यो ।
मैले अरू व्यवसाय छाडेँ अनि ढुकुटीमै लागेँ । ढुकुटीका सदस्यहरू सुरुमा विश्वासिला देखिए पनि पछि एक–दुई गर्दै भाग्न लागे । म भने फस्दै गएँ । उम्किने आसमा ठूलै रकमको ढुकुटी खेलाएँ तर सफल भइनँ । अन्तिमपटक मैले ६० लाखको ढुकुटी ३० जनासँग खेलेको थिएँ । सबैले धोका दिए । त्यसपछि डुबेको म कहिल्यै माथि आउन सकिन ।
अहिले मेरो डेढ करोड रुपियाँ ऋण छ । उठाउन पनि दुई करोडजति होला । उठाउनुपर्ने सबै फरार छन् । दिनुपर्ने सधैँ कोठामा आएर धम्क्याउँछन्, फोन र एसएमएसबाट सहनै नसकिने गरी गाली गर्छन् । अरूभन्दा पनि गत शनिबारको घटनाले मलाई हतोत्साहित तुल्याएको छ । मैले विमला वलीको रकम तिर्नु थियो । शनिबार उनले मलाई बानेश्वरस्थित बाजेको सेकुवा कर्नरमा बोलाइन् । मैले हुन्छ भनेँ । म गौशालामा थिएँ । विमलाका भाइ हिक्मत थपलिया मलाई लिन त्यहीँ आए । अपहरणशैलीमा मलाई त्यहीँबाट उठाइयो । म बोल्न सक्ने अवस्थामा थिइन । सोचेँ, मलाई सेकुवा कर्नरमा नै लैजानेछन् तर पछि उनले मलाई पिंगलास्थानस्थित कार्की किचेनमा लगे ।
त्यहाँ विमला, उनका अर्का भाइसहित एक वकिल थिए । मलाई उनीहरूले कोठामा लगेर थुने । उनीहरूले पिट्न थाले । चोटका कारण म ढलेँ, चोटकै कारण दिसासमेत बाहिर आयो । कुट्न छाडेनन् । म घोप्टो अवस्थामा थिएँ । उनीहरूले हस्ताक्षर गर् भने तर कागज देखाएनन् । लछारपछार गर्दै कोठाबाहिर निकाले । अनि नेपाली कागजमा हस्ताक्षर गर्न लगाए । पछि मलाई गौशालामा छाडियो । लड्खडाउँदै म गौशाला प्रहरी प्रभागमा पुगेँ । उजुरी दिन खोजँे तर प्रहरीले लिन मानेन । म निकै हतास अवस्थामा छु ।

प्रतिक्रिया