संविधान जारी भए मात्रै प्रेस स्वतन्त्रताको जित

काठमाडौं, १३ जेठ । कांग्रेस निकट प्रजातन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको २१ औं स्थापना दिवस आज युनियन आबद्ध पत्रकारहरुले देशभर विविध कार्यक्रम गरी मनाएका छन् ।
दिवसका अवसरमा काठमाडौंस्थित थापागाउँमा आज आयोजित चियापन तथा शुभकामना कार्यक्रम गरेर दिव मनाईएको छ । युनियनले आयोजना गरेको सो कार्यक्रममा सहभागी संचार कर्मीहरुले प्रेस स्वतन्त्रताको वकालत गरेका थिए ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले जेठ–१४ गतेभित्रै लोकतान्त्रिक संविधान जारी हुनु पर्नेभन्दै संविधान जारी हुन नसके प्रेस स्वतन्त्रता खतरामा पर्नेचेतावनी दिएका छन् ।
युनियनका संस्थापक अध्यक्ष तारानाथ दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र महासंघका पूर्व उपाध्यक्ष विपुल पोखरेल, रिपोर्टर्स क्लवन नेपालका अध्यक्ष ऋषि धमलाले प्रेस स्वतन्त्रताका लागि सम्पूर्ण संचारकर्मीहरु एक जुट हुन आब्हान गरेका थिए ।
युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, पत्रकार केदार कोइराला, नेपाल पत्रकार महासंघका सचिव जगत नेपाललगाएतले लोकतन्त्र बलियो भएमात्रै मुलुकमा प्रेस स्वतन्त्र रहेने बताए । उनीहरुले बारम्वार संचारकर्मी माथी हुने आक्रमणको निन्दा समेत गरेका थिए ।
जनआन्दोलन मार्फत् प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान पुराएका पत्रकारहरुको अगुवाइमा २०४८ सालमा जेठ–१३ गते अर्थात आजकै दिन नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।
युनियन स्थापनाका लागि तदर्थ समितिका संयोजक पूर्वसञ्चार मन्त्री जेपी गुप्ता थिए । युनियनको पहिलो अध्यक्ष भने हरि अधिकारी थिए ।
प्रेस युनियन पत्रकार महासंघपछि पत्रकारहरुको पहिलोे संस्था हो ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता पाउने पनि युनियन पहिलो संगठन मानिन्छ । देशभर युनियन सम्बद्ध करीब छ हजार पत्रकार रहेका छन् ।

प्रतिक्रिया