गन्धर्वले सारङ्गी बजाएर अधिकार मागे

दाङ, १२ जेठ । विभिन्न जातीय संघ/संघठनहरुले संविधानमा आफ्ना अधिकार माग्न बन्द, हड्ताल, चक्काजाम, तोडफोड लगाएतका कार्य गरिरहेका छन् ।
यद्यपी, दाङका गन्र्धव समुदायले भने कला र गला प्रस्तुत गर्दै संविधानमा आफ्ना अधिकार सुश्चितताको माग गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम घोराहीमा जम्मा भएका गन्धर्वहरुले साङ्गी रेट्दै, गीत गाउँदै आफ्नो अधिकारको माग गरेका हुन् । नेपाल गन्धर्व कला संगीत संस्कृती संरक्षण मञ्च र संयुक्त गन्धर्व संघर्ष समिति दाङको आयोजनामा सांगीतिक दवाव मुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
‘आफूहरुले सारङ्गी धुन र गीतका शब्द मार्फत हामीले हाम्रो पहिचान देखाउन चाहेका छौं,’ उनीहरुको भनाई थियो ।
गन्धर्व संघर्ष समितिका अध्यक्ष सुशील गन्धर्व भन्छन्, ‘हामीले जनतालाई दुःख दिने कुनै पनि काम गर्दैनौ, सबैलाई खुसी दिएर अधिकार माग्छौ ।’
उनीहरुले १४ बुँदे माग सहितको ज्ञापन पत्र पनि जिल्ला प्रशासन कार्यालय दाङ मार्फत संविधान सभाको सचिवालय र प्रधानमन्त्रीको कार्यालयमा पठाएका छन् ।
उनीहरुको माग पत्रमा गन्धर्वका संकटमा परेको पेसालाई राज्यले उचित स्थान दिनुपर्ने, गन्धर्वका बाजा साङ्गीलाई राष्ट्रिय बाजाको रुपमा घोषित गरिनुपर्ने, भूमिहिनलाई भूमि प्रदान गर्नुपर्ने, गन्धर्वको कला र गलाको उचित मूल्याङ्कन गरिनुपर्ने लगाएतका रहेका छन् ।
गन्धर्वहरुले पहिचान सहितको नयाँ संविधानको माग समेत गरेका छन् ।
‘हाम्रो पेसा गीत गाउने हो, हामी गीत गाएर अधिकारको माग गर्छाै,’ गन्धर्व संस्कृती संरक्षण मञ्चका अध्यक्ष सन्तोष गन्धर्वले भने, ‘हाम्रो कला र गलाको राज्यबाट सम्मान होस् ।’
दाङमा पाँच हजार गन्धर्व जातीका समुदाय स्थायी रुपमा बसोबास गर्छन् ।
उनीहरु जिल्लाका तुलसीपुर, हापुर, नारायणपुर, पुरन्धारा, हापुरेलगायतका गाविसमा बसोवास गर्छन् ।
त्यस्तै जिल्ला सदरमुकाम घोराही, देउखुरीको बेला र चैलाही गाविसमा पनि उनीहरुको पुरानो बसोवास थलो हो ।
गन्धर्व समुदाय विष्टको घरमा गएर कला, गला सारङ्गी मार्फत आफ्नो सिप देखाएर, सुनाए वाफत अन्न बटुल्ने गर्छन् ।
यो गन्धर्व जाती वस्ती/वस्तीमा घुमन्ते फिरेन्ते समुदायको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया