इरानी परमाणु कार्यक्रम बारे वार्ता

बगदाद, १२ जेठ । इरानमा जारी परमाणु कार्यक्रममाथि इरानसहित प्रमुख ६ शक्तिराष्ट्रबीचको वार्ता आरम्भ भएको छ । बुधबारदेखि इराकको राजधानी बगदादमा वार्ता सुरु भए पनि छलफलको सूची तय हुन नसकेको बताइएको छ ।
छलफलमा पश्चिमी राष्ट्रले इरानको पारमाणविक गतिविधिबारे नयाँ प्रस्ताव अघि सारेको जनाइए पनि प्रस्तावको विषय सार्वजनिक भएको छैन । प्रस्तावमा इरानमा प्रशोधित युरेनियम विदेश पठाउने बदलामा इरानलाई आणविक भट्टी सञ्चालन गर्न इन्धन उपलब्ध गराइने उल्लेख भएको जनाइएको छ ।
बारम्बारको आग्रहपछि इरानले परमाणु प्रशोधन कार्य नरोकेपछि इरानमाथिको नाकाबन्दीलाई थप कडा पार्ने नीति अख्तियार गरेको छ । इरानको पारमाणविक र वित्तीय क्षेत्रलाई लक्ष्य गरी प्रतिबन्ध लगाउनुबाहेक अमेरिकाले इरानी तेल बहिष्कार गर्न विश्वभर लबिङ गरिरहेको छ ।
परमाणु कार्यक्रम परित्याग गर्न इरानलाई बाध्य पार्ने उद्देश्यले अमेरिकी सिनेटले इरानविरुद्धको प्रतिबन्धलाई कडा बनाउने एक विधेयक मंगलबार अनुमोदन गरेको थियो । यसले इरानको पारमाणविक गतिविधिसहित इरानको तेल निर्यातलाई तारो बनाउने जनाइएको छ । विधेयकले इरानसँग सम्बद्ध कुनै पनि व्यवसायबारे सरकारी अधिकारीलाई अवगत गराउन अमेरिकामा सूचीकृत कम्पनीलाई बाध्य बनाउनेछ ।
अमेरिका र उसका सहयोगी राष्ट्रले इरानमा जारी पारमाणविक गतिविधि आमविनाशकारी परमाणु हतियार उत्पादनतर्फ लक्षित रहेको आरोप लगाउँदै आएको छ । तर, इरानले भने ऊर्जा आपूर्ति र औषधोपचार प्रयोजनका लागि परमाणु कार्यक्रम जारी राखिएको दाबी गर्दै आएको छ ।
गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानको केन्द्रीय बैंकसँग कारोबार गर्ने कम्पनी र विदेशी संस्थाविरुद्ध कारबाही गर्न अमेरिकालाई अनुमति दिनेसम्बन्धी विधेयक अनुमोदन गरेका थिए । यसै वर्षको सुरुमा युरोपेली संघले इरानबाट तेल खरिद नगर्ने घोषणा गरिसकेको छ ।
इरानविरुद्ध अमेरिका थप कडा बन्न लागेका बेला बुधबार इरानले धम्क्याउने र दबाब दिने नीति परित्याग गरी समस्या समाधानका लागि ‘सद्भावना सन्देश’ जारी गर्न पश्चिमी राष्ट्रलाई सुझाव दिएको थियो । धम्क्याउने र दबाब दिने नीतिलाई इरानका विदेशमन्त्री अली अकबर सालेहीले ‘औचित्यहीन’ रहेको जनाउँदै यसलाई ‘रणनीतिक भुल’ को संज्ञा दिएका थिए । (एपी)

प्रतिक्रिया