वित्त कम्पनीको निक्षेप वृद्धिदर सुस्त

काठमाडौं, १२ जेठ । चरम तरलता अभाव हँुदा वित्त कम्पनीको निक्षेप वृद्धिदर राम्रो रहे पनि तरलता समस्या समाधान भइसकेको अवस्थामा निक्षेप वृद्धिदर सन्तोषजनक रहन सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकको निक्षेप वृद्धिदर १५ दशमलव ८ प्रतिशत र विकास बैंकको १० दशमलव ८ प्रतिशत रहे पनि वित्त कम्पनीको निक्षेप वृद्धिदर भने १ दशमलब ६ प्रतिशत मात्र रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको चैत्र मसान्तसम्म वाणिज्य बैंकको निक्षेप वृद्धिदर साढे तीन प्रतिशत, विकास बैंकको १८ दशमलव ३ प्रतिशत र वित्त कम्पनीको १४ दशमलव ३ प्रतिशत थियो । तरलता अभाव चरम अवस्थामा रहेको समयमा पनि वित्त कम्पनीको आकर्षक व्याज दरका कारण विगतमा निक्षेपको वृद्धिदर राम्रो थियो तर केही वित्त कम्पनीको संस्थागत सुशासनमा आएको कमजोरीका कारण धराशायी बनेपछि भने समग्र वित्त कम्पनीमा नै नराम्रो असर परेको नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले बताए । ‘वित्त कम्पनीको विगतको खराब प्रदर्शनका कारण निक्षेपकर्ताले निक्षेपको सुरक्षाको अनूभूति नै गर्न सकेका छैनन् । निक्षेपकर्ताको वित्त कम्पनीप्रतिको विश्वासमा कमी आएकाले निक्षेपको वृद्धिदरमा असर परेको हो ।’–उनले भने ।
विगतमा नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, सम्झना फाइनान्सलगायतका समस्यामा परेका संस्थाले अझै पनि भुक्तानी दिन सकेको छैन । वित्त कम्पनी प्राय: संस्थागत निक्षेपकर्तामा भर पर्ने गर्छन् । चार पाँचवटा वित्त कम्पनीको खराब प्रदर्शनका कारण प्राय: संस्थागत निक्षेपकर्ताले वित्त कम्पनीमा पैसा राख्न नै बन्द गरिसकेका छन् । बिमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोष वित्तीय संस्थाका ठूला संस्थागत निक्षेपकर्ता हुन् । त्यसैगरी निजी क्षेत्रका कर्पोरेट हाउस पनि वित्त कम्पनीको सम्भावित संस्थागत निक्षेपकर्ता हुन् । वित्त कम्पनी संघका अध्यक्ष शाक्यका अनुसार २० देखि ३० व्यक्तिगत निक्षेपकर्ता बराबर १ संस्थागत निक्षेपकर्ता हुन्छ तर राष्ट्र बैंकको संस्थागत निक्षेपकर्ता र व्यक्तिगत निक्षेपकर्तालाई हेर्ने दृष्टिकोणमा रहेको नीतिगत भिन्नताका कारण संस्थागत निक्षेपकर्ताहरु वित्त कम्पनीमा निक्षेप राख्न डराएको उनको भनाइ छ ।
राष्ट्र बैंक ऐन अनुसार कुनै पनि वित्तीय संस्था लिक्विडेसनमा जाँदा संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ता पछि मात्र आफ्नो निक्षेप फिर्ता पाउँछन् । ‘संस्थागत निक्षेपकर्ताले पछि मात्र निक्षेप पाउने हँुदा खराब वित्तीय प्रदर्शन गर्ने संस्थामा निक्षेप राख्न हच्किएका हुन् ’उनले भने । लिक्विडेसनमा गएको सम्झना फाइनान्स र संकटग्रस्त घोषणा गरिएको नेपाल सेयर मार्केट्सबाट अझैसम्म पनि संस्थागत निक्षेपकर्ताले पैसा फिर्ता पाउन नसकेकाले संस्थागत निक्षेपकर्ता कम हुँदा वित्त कम्पनीको निक्षेप वृद्धिदर घटेको उनको मूल्यांकन छ । अध्यक्ष शाक्यका अनुसार प्राय: संस्थागत निक्षेपकर्ताले विगतमा पूर्ण रूपमा निक्षेप नवीकरण गरे पनि हाल आंशिक रूपमा नवीकरण गर्ने र प्राय:ले नवीकरण नै नलिई पैसा फिर्ता लिने गरेका छन् । व्यक्तिगत निक्षेपकर्ता पनि पैसा फसिने डरमा वित्त कम्पनीमा पैसा राख्न डराइरहेकाले वृद्धिदर घटेको हो ।
राष्ट्र बैंकको चालु आवको नौ महिनाको तथ्यांकअनुसार वित्त कम्पनीको निक्षेप परिचालन साढे १३ प्रतिशतले वृद्धि भई वित्तीय प्रणालीमा एक खर्ब १० अर्ब ७३ करोड थपिएको छ । अघिल्लो वर्ष साढे सात प्रतिशतले निक्षेप परिचालन बढेर ५४ अर्ब ६२ करोड रुपियाँ निक्षेप वित्तीय प्रणालीमा थपिएको थियो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन तीव्र गतिमा जारी रहेकाले नेपालमा रेमिट्यान्स भित्रिने क्रम तीव्र रूपमा बढेको छ । गत बुधबार एक अमेरिकी डलर बराबर ९० नेपाली रुपियाँसम्म पुगेको थियो । नेपाली रुपियाँको अवमूल्यन हुँदा रेमिट्यान्समा आश्रित परिवारले बढी नेपाली मुद्रामा रकम प्राप्त गर्ने हँुुदा अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा रेमिट्यान्स बढ्ने गरेका कारण बैंकहरूको निक्षेप वृद्धिदर बढेको हो ।

प्रतिक्रिया