राजबहादुर र प्रेरणाको पुनर्मिलन


काठमाडौं, १२ जेठ । सम्बन्धविच्छेदको अवस्थामा पुगेका पूर्वराजकुमारी प्रेरणा र उनका पति राजबहादुर सिंहको पुनर्मिलन भएको छ । झन्डै ६ महिनापछि प्रेरणा गत साता छाउनीस्थित पतिको घरमा गएकी छन् । प्रेरणालाई लिन राजबहादुर आफँै निर्मलनिवास पुगेका थिए ।
राजबहादुरले प्रेरणासँग आफूबाट गल्ती भएको भन्दै अबदेखि गल्ती नदोहोर्‍याउने वाचा गरेको स्रोतले जनाएको छ । ‘राजबहादुरले पटक–पटक गल्ती भयो भन्दै माफी मागेका थिए, साह्रै अनुनय–विनय गरेपछि प्रेरणाको पनि मन पग्लियो,’ निर्मलनिवास निकट स्रोतले भन्यो । स्रोतका अनुसार अन्तिम मौका दिएको भन्दै प्रेरणा राजबहादुरसँगै छाउनी जान तयार भएकी थिइन् । शुक्रबारदेखि उनीहरूको सम्बन्ध सुमधुर रहेको छ ।
केही दिनअघि मात्र राजबहादुर सिंगापुरबाट स्वदेश फर्केका थिए । फर्केको केही दिनपछि उनी प्रेरणालाई लिन निर्मलनिवास पुगेका हुन् । राजबहादुरलाई केही समययता आर्थिक संकट पर्न थालेपछि बाध्य भएर प्रेरणासँग झुकेको स्रोतको दाबी छ ।
६ महिनादेखि यो दम्पती अलग–अलग बस्दै आएको थियो । प्रेरणा बाबु ज्ञानेन्द्रसँगै निर्मलनिवासबस्न थालेकी थिइन् भने राजबहादुर कहिले सिंगापुर त कहिले बैंकक बस्ने गर्थे । उनी काठमाडौं आएका बेला छाउनीमा बस्ने गर्छन् । नेपालमै भएका बेला पनि प्रेरणा र राजबहादुरबीच भेटघाट हुँदैनथ्यो । पछिल्लो समय उनीहरूबीच सामान्य बोलचालसमेत हुन छाडेको थियो । दुई महिनाअघि प्रेरणा अप्रेसन गर्न सिंगापुर गएका बेला पनि त्यहीँ रहेका राजबहादुर उनलाई भेट्न गएनन् । अप्रेसन गरेर शरीरको बोसो निकाल्ने क्रममा करिब पन्ध्र दिन प्रेरणा सिंगापुर बसेकी थिइन् ।
पतिले आफूलाई पत्नीको व्यवहार नगरेको र बाहिर अन्य केटीसँग बरालिने गरेको गुनासो प्रेरणाको हुन्थ्यो । स्रोतका अनुसार राजबहादुरले आइन्दा कुनै बाहिरी केटीसँग हिमचिम नगर्ने वाचासमेत गरेका छन् । प्रेरणा र राजबहादुरबीच ०६० मंसिरमा नारायणहिटी दरबारमा बिहे भएको हो । बिहेपछि सिंह परिवार छाउनीमा बस्ने गरेको थियो । सो घर पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए ।
विगतमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस र उनको परिवारले प्रेरणा र सिंहबीच सम्बन्ध सुधार गर्न प्रयास गरेका थिए । तर, अहिले पूर्वराजपरिवारले वास्ता गर्न छाडेको स्रोतको भनाइ छ । प्रेरणा र राजबहादुरका साढे ६ वर्षीय छोरा पार्थबहादुर सिंह भने कहिले आमा र कहिले बाबुसँग बस्ने गरेका थिए । अहिले उनले पनि आºना बाबुआमासँगै बस्ने मौका पाएका छन् ।

प्रतिक्रिया