व्यापार घाटा झन्डै तीन खर्ब

काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा १८ दशमलव ४ प्रतिशतले वृद्धि भई दुई खर्ब ८४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो घाटा दुई दशमलव तीन प्रतिशतले मात्रै बढेको थियो ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा कुल वस्तु–व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षाअवधिमा १२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । त्यस्तै, अघिल्लो वर्षको नौ महिनासम्म २८ दशमलव तीन प्रतिशतले घटेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षाअवधिमा ३१ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
आयात व्यापारमा भएको वृद्धिका कारण समीक्षाअवधिमा निर्यात–आयात अनुपात १६ दशमलव तीन प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो अनुपात १६ दशमलव ६ प्रतिशत रहेको थियो ।
वैदेशिक व्यापार
वैदेशिक व्यापार १५.९ प्रतिशतले वृद्धि भई ५५ अर्ब २४ करोड पुगेको पनि राष्ट बंैकले जनाएको छ । अघिल्लो वर्षको सोहीअवधिमा कुल वस्तु निर्यात पाँच दशमलव शून्य प्रतिशतले वृद्धि भई ४७ अर्ब ६६ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा चालु आवको चैत महिनामा कुल वस्तु निर्यातमा फागुन महिनाका तुलनामा ११.८ प्रतिशतले वृद्धि भएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षाअवधिमा १८.४ प्रतिशतले वृद्धि भएको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ मुख्यतया लत्ताकपडा, पोलिस्टर धागो, अलैंची, तामाको तार र जीआई पाइपलगायतको निर्यात बढेका कारण त्यसतर्फको निर्यातमा वृद्धि हुनगएको हो । त्यस्तै, अन्य मुलुकतर्फ विशेषगरी ऊनी गलैंचा, तयारी पोसाक, पश्मिना, छाला र नेपाली कागज र सोका सामानलगायतको निर्यातमा वृद्धि भएको छ ।
समीक्षाअवधिमा कुल वस्तु आयात १८ प्रतिशतले वृद्धि भई तीन सय ३९ अर्ब ८४ करोड पुगेको
छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८७ अर्ब ९७ करोड पुगेको थियो ।
मूल्यवृद्धि
चालु आवको चैत मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशत रहेको छ । अघिल्लो महिना यो दर सात प्रतिशत थियो । समीक्षाअवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक ४.६ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक १०.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांकको वृद्धिदर क्रमश: १७.३ प्रतिशत र ५.३ प्रतिशत रहेको थियो ।
समीक्षाअवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् १५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांकमा ५.३ प्रतिशतले मात्र वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा क्रमश: १६.३ प्रतिशत र १५.२ प्रतिशतले वृद्धि भएको दुग्ध पदार्थ तथा अन्डा र रेस्टुरेन्ट तथा होटल उपसमूह दुवैको मूल्य सूचकांक समीक्षाअवधिमा १२.५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी समीक्षाअवधिमा तरकारी तथा मदिराको वार्षिक विन्दुगत मूल्य सूचकांक क्रमश: १०.९ प्रतिशत र ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो वस्तुको मूल्य सूचकांकको वृद्धिदर क्रमश: ६१.१ प्रतिशत र २.१ प्रतिशत रहेको थियो । समीक्षाअवधिमा गैरखाद्य तथा सेवा समूहका वस्तुमध्ये यातायात उपसमूहको मूल्य सूचकांक १७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांकमा ११.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षाअवधिमा लत्ता–कपडा तथा जुत्ता–चप्पल र फर्निसिंग तथा घरायसी उपयोगका सामान उपसमूहको मूल्य सूचकांकमा क्रमश: १५.१ प्रतिशत र १३.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित दुवै उपसमूहको मूल्य सूचकांकमा क्रमश: १६.९ प्रतिशत र ८.३ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षाअवधिमा सबैभन्दा बढी पहाडमा ८.४ प्रतिशत, तराईमा ७.८ र काठमाडौं उपत्यकामा ६.४ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रहरूमा यस्तो मूल्य सूचकांको वृद्धिदर क्रमश: ११.९ प्रतिशत, ८.२ प्रतिशत र १२.९ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
समीक्षाअवधिमा थोक मूल्य सूचकांको वार्षिक विन्दुगत वृद्धिदर ६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ११.५ प्रतिशत रहेको थियो । थोक मूल्यअन्तर्गत आयातीत वस्तु र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक क्रमश: १४.३ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।
मुद्राप्रदाय
आव ०६८/६९ को नौ महिनामा संकुचित मुद्राप्रदाय भने अघिल्लो वर्षको सोही अवधिमा ०.२ प्रतिशतले घटेको तुलनामा ७.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा ०६८ चैत मसान्तमा यस्तो मुद्राप्रदाय १३.२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षाअवधिमा खुद वैदेशिक सम्पत्ति ९१ अर्ब ३७ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति १४ अर्ब ९४ करोडले घटेको थियो । समीक्षाअवधिमा निर्यातमा सुधार आउनुका साथै विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेकाले खुद सेवा आय र चालु खाता सन्तुलन दुवै धनात्मक भएको र पुँजीगत ट्रान्सफर खातामा समेत सुधार देखिएकाले भुक्तानी सन्तुलन सुदृढ भई मौद्रिक क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा उच्च वृद्धि भएको हो ।
आन्तरिक कर्जा
समीक्षाअवधिमा कुल आन्तरिक कर्जा ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ७.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०६८ चैत मसान्तमा यस्तो कर्जा ९.७ प्रतिशतले बढेको छ । समीक्षाअवधिमा निजी क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले मात्र वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कर्जा १२.९ प्रतिशतले विस्तार भएको थियो ।
शोधनान्तर स्थिति
आव ०६८/६९ को नौ महिनासम्म समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च
९१ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ अर्ब ९४ करोडले शोधनान्तर घाटामा रहेको थियो । आव ०६८/६९ को नौ महिनासम्म चालु खाता ४१ अर्ब ९४ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब २० करोडले घाटामा रहेको थियो । खासगरी विप्रेषण आय र वैदेशिक अनुदानमा भएको उच्च वृद्धिका साथै सेवा खातामा भएको उल्लेख्य सुधारका कारण चालु खातामा उल्लेख्य सुधार आएको हो । अमेरिकी डलरमा समीक्षाअवधिमा शोधनान्तर बचत एक अर्ब १५ करोड ८५ लाख डलर पुगेको छ भने चालु खाता बचत ५२ करोड ४३ लाख डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा २० करोड ३५ लाख डलर पुगेको थियो भने चालु खाता घाटा २० करोड ८९ लाख डलर पुगेको थियो ।

प्रतिक्रिया