पर्वतीय खेल महासंघ–नेपाल गठन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्मा विधिवत् दर्ता भएका साहसिक तथा पर्वतीय खेलसंँग सम्बन्धित संघका पदाधिकारीको भेलाले ती विधाका खेलको छाता संगठनका रूपमा ‘पर्वतीय खेल महासंघ–नेपाल’ को स्थापना गरेको छ । राखेपका सदस्यसचिव युवराज लामाको अध्यक्षतामा गठित १९ सदस्यीय महासंघ तदर्थ समिति खेलकुद विकास ऐन २०४९ परिच्छेद ३ को दफा ७ को उपदफा ८ बमोजिम बुधबार परिषद्मा दर्तासमेत भइसकेको छ ।
आफूलाई कुनै जानकारी नभएको खेलमा चासो देखाउने र पद हत्याउने प्रवृत्ति भएका राखेपका सदस्यसचिव लामा, पूर्वमन्त्री कमला रोकाका पति गणेशमान पुन, राखेपका अधिकृत प्रकाशचन्द्र घिमिरे र सदस्य मनबहादुर न्यौपाने आश्चर्यजनक रूपमा महासंघमा छन् । महासंघका अध्यक्ष बनेका लामा र उपाध्यक्ष बनेका पुनको पर्यटकीय खेलकुदमा कुनै योगदान छैन । यसैगरी, घिमिरे कुनै पनि खेलबारे जानकारी नभए पनि एक दर्जनभन्दा बढी राष्ट्रिय संघमा छन् । पूर्वमन्त्री हितबहादुर तामाङको पारिवारिक साइनोका कारण राखेप बोर्डमा प्रवेश पाएका न्यौपाने जुडो संघ र एथलेटिक्स संघमा आबद्ध छन् भने केही दिनअघि मात्र नेपाल क्यानोइङ संघका अध्यक्ष बनेका थिए । पर्यटकीय खेलकुद महासंघको यो आश्चर्यजनक कार्यसमितिमा रहेका न्यौपाने राजनीतिक रूपले नेपाली कांग्रेसमा आबद्ध मानिन्छन् । उनको दल मुख्य प्रतिपक्षी भएकै समयमा उनले राजनीतिक नियुक्ति पाएका थिए । उनले आफूलाई कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद् महासंघको प्रमुख भएको पनि दाबी गर्छन् ।
नवगठित महासंघमा हाललाई साहसिक तथा पर्वतीय खेल संघ क्रमश: एभिएसन स्पोर्टस् एसोसिएसन नेपाल, नेपाल इक्वेस्ट्रियन संघ, पर्वतारोहण तथा रक क्लाइम्बिङ संघ, नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा), नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ, नेपाल ट्राएथलन संघ, नेपाल एमेच्योर एथलेटिक्स संघ तथा नेपाल बन्जी जम्पिङ एन्ड क्यानोइङ संघको प्रतिनिधित्व छ । तदर्थ समितिका पाँच उपाध्यक्षमा गणेशमान पुन, कृष्ण अर्याल, मनबहादुर न्यौपाने, ङवाङ ङिमा शेर्पा र सुमन देवकोटा, महासचिवमा गोविन्द भट्टराई, सचिवमा आरके विष्ट, कोषाध्यक्षमा मेघराज पौडेल र सहकोषाध्यक्षमा दामोदर नेपाल छन् । यसैगरी नौ सदस्यमा कुमार रानाभाट, बलराम श्रेष्ठ, प्रकाशचन्द्र घिमिरे, हेमन्त काफ्ले, चेतनराज गिरी, निलेन्द्रराज श्रेष्ठ, विप्लव पौडेल, दावा जाङ्बो शेर्पा र इन्द्र राई छन् । (सौस)

प्रतिक्रिया