अब चेल्सीको भविष्य टोरेज : ड्रोग्बा


लन्डन,११ जेठ । डिडियर ड्रोग्बाले स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेज चेल्सीको भविष्य भएको बताएका छन् । चेल्सीलाई एफ ए कप र युरोपियन च्याम्पियन्स लिग उपाधि जिताएर मंगलबार मात्र बिदा भएका ड्रोग्बाले चेल्सीमा आफ्नो ठाउँ लिन सक्ने क्षमता टोरेजमा भएको बताए । चेल्सीले जितेका यी पछिल्ला दुवै प्रतियोगितामा ड्रोग्बा महत्त्वपूर्ण घटक बनेका थिए ।
यस सिजनपछि आफू चेल्सीमा नरहने निश्चित गरेको भोलिपल्ट बुधबार आइभरिकोस्टका यी ३४ वर्षीय स्ट्राइकरले चेल्सीमा आफूलाई विस्थापन गर्ने र आफ्नो ठाउँ लिने खेलाडी तयार रहेको बताएका हुन् । ड्रोग्बाले आफ्नै कारण चेल्सी आएयता नै टोरेसलाई पहिलो ११ सदस्यीय टोलीमा स्थान पाउन गाह्रो भएको पनि स्विकारे । आगामी सिजनमा चेल्सीका लागि टोरेज महत्त्वपूर्ण हुने जिकिर गर्दै ड्रोग्बाले भने, ‘टोरेज चेल्सीका भविष्य हुन् ।’ सन् २०१० को जनवरीमा चेल्सीले लिभरपुलबाट टोरेजलाई पाँच करोड पाउन्डमा भित्र्याएको थियो ।
‘साँच्चै भन्ने हो भने टोरेजलाई गाह्रो हँुदै आएको छ तर उसले देखाएको छ ऊ निकै राम्रो खेलाडी हो ।’ बिबिसीले गरेको कुराकानीमा ड्रोग्बाले भने,‘आउँदो सिजन टोरेजको सिजन हुने छ । म उसँग कुरा गर्ने छु । हामी दुईबीच राम्रो सम्बन्ध छ । मलाई थाहा छैन हामी दुईले किन सँगै धेरै खेल खेल्न सकेनाँैं ।’ तर, उनले यी सबै कुरा विगत भएको बताउँदै फेरि जोड दिए,‘टोरेज चेल्सीका भविष्य हुन् ।’
स्मरणीय छ, च्याम्पियन्स लिग ट्रफी उचालेको एक दिनपछि टोरेजले टोलीमा आफ्नो सीमित भूमिका मात्र भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै क्लबमा आफ्नो भविष्य अनिश्चित हुने आशंका व्यक्त गरेका थिए । ‘स्काइ स्पोटर्स’ सितको एउटा अप्रत्याशित अन्तर्वार्तामा उनले च्याम्पियन्स लिग जितेको टोलीमा आफूलाई ‘स्टार्टिङ लाइनअप’ मा नराखिएको बारे खुलेर असन्तुष्टि व्यक्त गर्न कत्ति समय खेर फालेका थिएनन् । त्यसरी नियमित खेल्न नपाउँदा आफू पश्चिम लन्डनमा ‘हराएको’ महसुस भइरहेको उनले बताएका थिए । उनले भनेका थिए, ‘मलाई म अहिले आफ्नो जीवनको सबैभन्दा उर्वर र श्रेष्ठ अवस्थामा छु । यस्तो बेलामा समेत फाइनल हुँदा मैले धेरैजसो समय बेन्चमा बसेर बिताउनुपर्‍यो । यो मेरो जीवनको सायद सबैभन्दा ठूलो निराशाजनक क्षण हो जस्तो लागिरहेको छ ।’
च्याम्पियन्स लिग फाइनलमा स्थिति टाइब्रेकरमा पुगेपछि टोरेज पनि पेनाल्टी प्रहार गर्न उत्सुक थिए तर सुटआउटभन्दा केहीअघि मात्र उनीे र म्याटियोबीच चर्काचर्की भएको थियो । त्यसपछि नै म्याटियोले यी स्पेनिस स्ट्राइकरलाई ‘पाँचजना पेनाल्टी सुटर’ भित्र ठाउँ दिएनन् ।
च्याम्पियन्स लिग जिताएको क्षणमा चेल्सीलाई बिदा गर्नु उत्तम समय हो भनेर आफू निस्कने निश्चित गरेको उनले प्रतिक्रिया दिए ।‘च्याम्पियन्स लिग जितेपछि चेल्सीलाई छाड्नुपर्ने उपयुक्त समय हो जस्तो लागेको हो ।’ चेल्सीमा आठ वर्ष रहेका ड्रोग्बाले भने । निर्णायक पेनाल्टी प्रहार सफल भएकाले नभएर च्याम्पियन्स लिग जितेकाले आफूलाई क्लब छाड्ने समय उपयुक्त लागेको उनले बताए ।
‘मलाई लाग्छ खेल जित्नु ठूलो कुरा हो । मेरा लागि पेनाल्टी होइन, खेल जित्नु ‘टर्निङ प्वाइन्ट’ जस्तो लाग्यो’, उनले भने, ‘त्यसैले मैले वाइवाइ गरेको हँुं चेल्सीलाई ।’ उनले नतिजा फरक आइदिएको भए यस्तो निर्णय गर्ने मनस्थितिमा नरहेको पनि बताए ।‘नतिजा अहिलेको जस्तो हुन्थेन भने स्थिति फरक हुन्थ्यो । सायद म यहीँ रहन्थेँ हुँला ।’
उनले चेल्सी छाड्ने निर्णय गर्दा मन निकै गह्रँुगो भएको पनि बताए । ‘जुनसुकै तवरले पनि म चेल्सीलाई सबै तरिकाले सहयोग र माया गर्छु ।’ ड्रोग्बाले भने, ‘यदि उनीहरूले मलाई घाँस काट्न बेलाए भने पनि म त्यो गर्छु ।’

माटेओ चेल्सीमा थप एक वर्ष
युरोपियन च्याम्पियन्स लिग र एफ ए कपमा प्राप्त सफलतापछि चेल्सीका कार्यबाहक प्रशिक्षक रोबर्टो डी माटेओले थप एक वर्ष पूर्ण प्रशिक्षकका रूपमा उक्त इङ्लिस क्लबलाई सम्हाल्ने अवसर पाएको गोप्य स्रोतलाई उद्धृत गर्दर्ै फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । चेल्सीका मालिक रोमन इब्राहिमोभिच ४१ वर्षीय इटालियन माटेओले दिलाएको अप्रत्याशित सफलतापछि जिम्मेवारी थप एक वर्षका लागि सुम्पिन तयारी गरिरहेको जनाइएको छ । यस विषयमा आगामी हप्ता आधिकारिक निर्णय हुने जनाइएको छ ।
लगातारको खराब प्रदर्शनपछि इब्राहिमोभिचले गत मार्चमा आन्द्रे भिल्लास बोआसलाई बर्खास्त गरी बेस्ट ब्रुमका पूर्वप्रशिक्षक माटेओलाई सिजनका बाँकी खेल हेर्ने गरी अन्तरिम प्रशिक्षक नियुक्त गरेका थिए । माटेओले प्रशिक्षण गर्न सुरु गरेयता चेल्सीले लिभरपुललाई फाइनलमा हराएर एफए कपको उपाधि जित्यो भने फाइनलमै जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग उपाधि जित्यो । त्यस्तै इङ्लिस प्रिमियर लिगको यस सिजन चेल्सी छैटाँै स्थानमा रह्यो ।
माटेओ नियुक्त हुँदा चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को भिडन्तमा पहिलो लेगमा नेपोलीविरुद्ध ३–१ ले पराजित भएर बसिरहेको थियो भने एफ ए कपको क्वार्टरफाइनलमा थियो । माटेओलाई चेल्सीका खेलाडी र फ्यानको राम्रो समर्थन छ तर इब्राहिमोभिच बार्सिलोनाबाट हालसालै निस्किएका पिप गार्डिओलालाई भित्र्याउने प्रयासमा छन् । चार वर्षमा बार्सिलोनालाई दुई युरोपियन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग उपाधि दिलाएका ४१ वर्षीय गार्डिओला सिजनको अन्त्यमा करार नवीकरण नगर्ने मनस्थितिमा पुगेका थिए । एजेन्सी

प्रतिक्रिया