चटपटेले धानेको जीविका

हरेक महिलाको सपना हुन्छ– असल केटाकी श्रीमती, राम्रो परिवारकी बुहारी बनूँ । यस्तै रहर थिए सिन्धुपाल्चोक, चौताराकी गीता गौतमको पनि । तर, बिहे गरको वर्षदिनमै उनका रहर तुहिए । सामान्य लेखपढ मात्र जानेकी उनले बाबुआमाले रोजिदिएको केटासँगै बिहे गरिन् । तर, छोरी जन्मेको केही दिनमै उनका पति उनीहरूलाई अलपत्र पारेर ‘अर्की’लाई च्यापेर हिँडे । जम्मा एघार दिनकी सुत्केरी थिइन् पतिले छाडेर हिँड्दा । किन छाडे त श्रीमान्ले ? ‘उल्लाई छोरा चाहिएको थियो रे †’ छेउमै लुटुपुटु गरिरहेकी छोरीतर्फ हेर्दै उनले भनिन् ।
गीताजस्तैलाई लक्ष्य गरेर महिला हिंसाका विरुद्ध अनगिन्ती गोष्ठी अन्तक्र्रिया हुन्छन् । तर, महिलाहिंसाका वज्रपात अलिकति पनि घट्दैनन् । छोरा नजन्माएको आरोपमा महिलामाथि सौता हाल्नु सबैभन्दा बढी देखिने महिलाहिंसा हो । तर, पनि न्याय पाइनन् गीताले, वशमा केही पनि थिएन । अनि अठोट गरिन्– श्रीमान्विना पनि बाँच्नुपर्छ । आँसुमा डुबेर जीवन चल्दैन ।’ त्यसैले चटपटे व्यापारलाई सहारा बनाएकी छन् उनले । सडकमा हिँड्दै गरेकाको भोक र तलतल मेटाउँदै आफ्नो जीवन धान्छिन्, छोरीको भविष्य चम्काउने सपना देख्छिन् । बागबजार, पुतलीसडक छेउछाउ तीन पांग्रे रिक्सामा उनको चटपटे घुमिरहन्छ, साथमै हुन्छिन् पाँच वर्षीया छोरी ।
उनीसँगका सम्पत्ति भनेकै त्यही तीन पांग्रे रिक्सा, चटपटेका सामान र छोरी मात्रै हुन् । श्रीमान्पट्टिको नासो भनेको उही एउटा नागरिकताको परिचयपत्र । पछि पनि श्रीमान् फर्किएनन् त ? कहाँ के गर्छन् उनी ? प्रश्नसँगै गीताको बोलीमा निराशा अनि थोरै आक्रोश मिसिँदै छ, ‘खोइ कहाँ के गर्छ, थाहा छैन ।’ सायद उनी अब ‘त्यो मान्छे’ र त्यो व्यवहार देखेर दुखिरहन चाहन्नन् । दुई वर्ष भएछ यसरी चटपटेबाट जीवन धान्ने मेलो समातेको ।
अभावैअभावले गाँजेपछि यो पेसा रोजेको उनले सुनाइन् । बागबजारमा मासिक तीन हजार भाडामा एउटा कोठा लिएकी रहिछन्, शरीरलाई घामपानीबाट जोगाउने उपाय । माइतीतिरका आफन्तले गरेको सात हजार रुपियाँको सहयोगबाट त्यो रिक्सा किनेकी रहिछन् । वरिपरि चटपटे खान आउनेहरू झुम्मिँदै छन् । उनको अनुहारमा आशाको चमक प्रस्टिएरै उज्यालिँदै छ । ‘तपाँईलाई के दिऊँ, पिरो कत्तिको राख्ने ? केराउ, चना, भटमास, मकै खाने कि ?’ सकेसम्म ग्राहकलाई फेरि–फेरि पनि आउने गरी सन्तुष्टि दिनु छ उनले ।
अरूलाई जिब्रो नै रसाउने स्वादको चटपटे खुवाउने उनको जिन्दगीचाहिँ अमिलो, नुन, पिरो नपुगेजस्तो खल्लो छ । तैपनि हार मानेकी छैनन्, काखेछोरीकी आमा र बुबा दुवै उनैले जो बन्नु छ । यही व्यापारबाट दैनिक चार–पाँच सय कमाइ हुन्छ रे । यसैले दुई आमाछोरीको प्राण धानेको छ । छोरीलाई पढाएर ठूलो मान्छे बनाउनु उनैको काँधमा छ, अनि यो उनको सपना पनि ।
पढ्न पाएको भए जीवन अलि सहज हुन्थ्यो कि ? गीताले भनिन्, ‘मलाई बुबाआमाले नपढाएका होइनन्, आफ्नै कारणले नपढेकी । सानोमा बिरामी भएँ र पढ्न पाइनँ । तैपनि आफ्ना पीडा अरूलाई सुनाएर के फाइदा †’ जिन्दगीका सबै पाटा खोल्न चाहन्नन्, सायद त्यहाँ भर्खरै खाटा लागेका घाउ अरू पनि थुप्रै छन्, जसलाई उनी बल्झाउन चाहन्नन् । दिनभर सडकमा उभिएर चटपटे बेच्दा गाह्रो नहुने होइन तर जीवनलाई संघर्षको सिद्धान्तमा राखेकी उनी त्यसबाट विचलित हुन चाहन्नन् । ‘संघर्ष गरेर यसरी बाँच्नुमा पनि आफ्नै आनन्द छ, काम गरेर खान गाह्रो मान्नु भएन नि,’ पीडाहरू लुकाएर मुसुक्क हाँस्यो उनको मुहार ।
बन्द–हडतालमा मान्छे फुर्सदी हुन्छन्, हिँड्ने मान्छे बढी हुन्छन् । उनको व्यापार पनि अरू बेलाभन्दा राम्रो हुन्छ कि ? ‘उस्तै हो हामीलाई त । तर, बन्द हुनुभन्दा त नभएकै राम्रो,’ दिनहुँजसो हुने बन्द–हडतालले उनलाई पनि दिक्कै लगाएको रहेछ । त्यसो त उनी अब बलियो आत्मविश्वासकी नारी बनिसकेकी छन्, चटपटेले उनीभित्र स्वावलम्बन जगाएको छ । अब श्रीमान्का तर्फबाट आफ्ना भागमा पर्ने सम्पत्ति दाबी गर्ने सोचाइ बनाएकी छन् । भन्छिन्– ‘छोरी पाँच वर्ष पुगोस् भनेर कुरेकी हुँ, अब जसरी पनि अंश लिएरै छाड्छु ।’ – चमिना

प्रतिक्रिया