म्याद थपको प्रस्ताव अप्रत्यासितः बैद्य/थापा

काठमाडौं, १० जेठ । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले संवैधानिक व्यवस्था र राजनीतिक प्रतिवद्धता विपरित सरकारले अप्रत्यासित रुपमा संविधानसभाको म्याद थपको प्रस्ताव ल्याएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बैद्य र थापाले आज संयुक्त विज्ञप्ती जारी गरेर संविधानसभावाट जेठ १४ भित्र नयाँ संविधान निर्माण गर्ने कार्य सम्पन्न गरिनु पर्नेमा म्याद थपको प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन् । उनीहरुले म्याद थपको प्रस्तावमा आफूहरुको विरोध रहने जनाएका छन् ।
‘संवैधानिक व्यवस्था र राजनीतिक प्रतिबद्धता रहँदै आइरहेको स्थितिमा हिजो सरकारवाट अप्रत्याशित रुपमा ल्याइएको संविधान सभाको ३ महिनाको म्याद थपको प्रस्तावका सम्वन्धमा हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जेठ १४ गते भित्र नयाँ संविधान निमार्णका लागि अधिकतम प्रयास गरिनु पर्दथ्यो ।’
ठूला दलहरुको नेतृत्व संविधान निमार्ण कार्यमा असफल हुँदै गइरहेको आरोप लगाउदै बैद्य र थापाले भनेका छन्, ‘गम्भीर समीक्षा गर्दै फेरि पनि यही जेठ १४ गते भित्र संविधान निर्माण गर्न अधिकतम प्रयास गरिनु पर्छ ।’
उनीहरुले नयाँ संविधान जारी गर्न नसकिए वैकल्पिक निकास खोज्नका लागि दलहरुका वीच सर्वदलीय राजनीतिक सहमति खोजिनु पर्ने जनाएका छन् ।
राष्ट्रिय सार्वभौम सत्ता प्रतिकूल बाह्य शक्तिहरु चलखेल गरिरहेको भन्दै उनीहरुले एमाओवादी भित्रै पनि कुनै परामर्श र निर्णयसम्म नगरी अप्रत्याशित र षडयन्त्रमूलक ढङ्गले संविधान सभाको ३ महिनाको म्याद थपको प्रस्ताव ल्याइएको आरोप लगाएका छन् ।
यसैवीच, बैद्य र थापाले परिवर्तित स्थितिमा विगतमा दिइएका आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको विज्ञप्तीमा जनाएका छन् ।

प्रतिक्रिया