१३९ जनाले मात्र लिए सम्मान

काठमाडौं, १० जेठ । गणतन्त्र स्थापनापछि सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई पहिलोपटक मानपदवी, अलंकार तथा विभूषण प्रदान गरेको छ । सरकारले दुई सय १६ जनालाई मानपदवी तथा विभूषण प्रदान गर्ने कार्यक्रम तय गरे पनि एक सय ३९ ले मात्र सम्मान लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट राष्ट्रपति डा. रामवरण यादवले सम्मानित व्यक्तिलाई मानपदवी तथा विभूषण प्रदान गरेका हुन् । मानपदवी लिनेहरू बन्दका कारण पैदल तथा प्रहरीका गाडी चढेर शीतल निवास पुगेका थिए भने राष्ट्रपति भवन आसपास सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो ।
सरकारले २०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता एवं नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई मरणोपरान्त नेपालरत्न विभूषण प्रदान गरेको छ । उक्त सम्मान गणेशमानका पुत्र एवं कांग्रेस महामन्त्री प्रकाशमान सिंहले लिए ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालालाई मरणोपरान्त राष्ट्रगौरव विभूषण प्रदान गरिएको छ । उक्त सम्मान लिन भने कोइरालापुत्री सुजाता कार्यक्रममा सहभागी भइनन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी उनले आफ्ना पिता गिरिजाप्रसादलाई  गणेशमानलाई भन्दा एक तहमुनिको विभूषण प्रदान गरिएको भन्दै बहिष्कार गरेको स्रोतको भनाइ छ । माधवकुमार नेपाल नेतृत्वको सरकारले गणेशमानलाई सबैभन्दा ठूलो विभूषण, कोइराला र पूर्वप्रधानमन्त्री स्व मनमोहन अधिकारीलाई दोस्रो ठूलो विभूषण राष्ट्रगौरव प्रदान गर्ने घोषणा गरेको थियो । उनले त्यसबेलै पनि मन्त्रिपरिषद्मा गिरिजाप्रसादलाई पनि नेपालरत्न दिइनुपर्ने अडान राख्दै मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाएकी थिइन् ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन अध्य मनमोहन अधिकारीलाई पनि मरणोपरान्त राष्ट्रगौरव विभूषण प्रदान गरिएको छ । उनको विभूषण छोरा डा. प्रकाश अधिकारीले लिएका छन् । उज्जवल कीर्तिमय राष्ट्रदीप सम्मान सातजनालाई दिने भनिए पनि राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले मात्र लिएका छन् । मानवअधिकारकर्मी पद्मरत्न तुलाधरसहित महावीर पुन, डा. सन्दुक रुइतलगायतका व्यक्ति सम्मान लिन कार्यक्रममा सहभागी भएनन् । उनीहरूले नेपाल बन्दका कारण कार्यक्रममा जान नसकेको प्रतिक्रिया दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
त्यस्तै ६ जनालाई प्रदान गरिने भनिएको सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीको पदक मुख्यसचिव माधवप्रसाद घिमिरे, प्रधानसेनापति छत्रमानसिंह गुरुङ र पर्वतारोही आप्पा शेर्पा गरी तीनजनाले मात्र लिए । गृहका एक अधिकारीले दिएको जानकारीअनुसार सुप्रबल जनसेवाश्री चतुर्थ ९६ मध्ये ५३ जना, सुप्रबल जनसेवाश्री तृतीय ७२ मध्ये ५३ जना र जनसेवाश्री पञ्चम ३४ मध्ये १३ जनाले मात्र लिएका छन् ।
गृह मन्त्रालयको विभूषण शाखाका अधिकृत पवित्रप्रकाश शाहले विभूषण लिन बाँकीलाई मन्त्रालयमै बोलाएर दिइने बताए ।
गणतन्त्र आएपछि विगतमा राजसंस्थाका तर्फबाट दिइँदै आएको मानपदवी २०६७ सालको गणतन्त्र दिवसका दिन प्रदान गर्ने घोषणा गरिएको थियो । सरकारले विभूषण प्रदान गर्न गृहमन्त्रीको अध्यक्षतामा छनोट कमिटी बनाएको थियो । सोही कमिटीको छनोटका आधारमा सरकारले मानपदवी तथा विभूषण प्रदान गरेको हो ।
विभूषणका लागि छनोट भएका केही व्यक्तिले सरकारले पूर्वराजाकै शैलीमा विभूषण दिन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र  हरिवंश आचार्य, पत्रकारद्वय युवराज घिमिरे र कनकमणि दीक्षितलगायतले जनआन्दोलन ०६२/६३ मा आन्दोलनकारीमाथि दमन गर्नेलगायतका विवादास्पद व्यक्तिलाई समेत मानपदवी दिने घोषणा गरिएको भन्दै त्यतिबेलै मानपदवी नलिने घोषणा गरेका थिए ।
विभूषण शाखाका अधिकारीले भने छनोटमा परेका कुनै पनि व्यक्ति सम्मान नलिने भनेर नआएको दाबी गरेका छन् । गृहका एक अधिकारीका अनुसार पॉच करोड रुपियाँभन्दा बढीको लगानीमा गृहले मानपदवी तयार गरेको थियो । मानपदवी वितरण कार्यक्रममा मंगलबार उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी कर्मचारीलगायत सहभागी थिए ।

प्रतिक्रिया