बुद्धको प्राचीन मूर्तिसहित १२ पक्राउ

नेपालगन्ज, १० जेठ । हुम्ला बरगाउँ–५ स्थित तारखोर गुम्बामा एक वर्षअघि बुद्धको प्राचीन मूर्ति लुटपाट घटनामा एकीकृत नेकपा (माओवादी)का पूर्वजिल्ला कमिटी सदस्य (डिसिएम) र पूर्वलडाकु संलग्न रहेको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार मूर्तिसहित पक्राउ गरेपछि घटनामा उनीहरूको संलग्नता रहेको पुष्टि भएको हो । पक्राउ पर्नेमा माओवादीका पूर्वडिसिएम २४ वर्षीय प्रताप रोकाया र सल्यान लक्ष्मीपुर–६ का पूर्वमाओवादी लडाकु २६ वर्षीय कमल राना छन् । उनीहरूसँगै हुम्ला बरगाउँ–१ का ३८ वर्षीय कालु लामा भनिने नरेन्द्र लामा, दैलेख चापा विसला–३ का ४१ वर्षीय माइला भनिने कमल लामा, हुम्ला रोडीकोट–४ का ३० वर्षीय लोकबहादुर एडी, बाँके रजनी–४ का २६ वर्षीय शंकर शाही, दैलेख काँसीकाँध–७ का २९ वर्षीय विपिन थापा भनिने धनबहादुर बराल, मुगु मुगु–७ का ४० वर्षीय कर्मा तामाङ पक्राउ परेका छन् ।
उनीहरू १४ असोज ०६८ को राति साढे १० बजे घरेलु हतियार खुकुरी देखाई गुम्बाका पुजारी तथा अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर पूजाकोठामा रहेको बुद्धको प्राचीन मूर्ति चोरेर फरार थिए । घटनामा संलग्न रंगमल रोकाय, विजय बुढाक्षेत्री र राजु तामाङ फरार छन् ।
पक्राउ परेकामध्ये कालु भनिने नरेन्द्र लामा घटनाका मुख्य योजनाकार हुन् । प्रहरीका अनुसार नरेन्द्रसहित रंगमल, कमल, लोकबहादुरले बाँकेको कोहलपुरस्थित कोहलपुर शिक्षण अस्पतालको चौरमा बसेर मूर्ति चोरी गर्ने योजना बनाएका थिए । योजनाअनुरूप रंगमल, शंकर, विजय, धनबहादुर, प्रताप, कमल र नरेन्द्रले गुम्बाबाट मूर्ति लुटेका थिए ।
लुटिएको मूर्तिलाई केही दिन कोहलपुरमा राखिए पनि पछि बौद्धस्थित कर्माको डेरामा लुकाएर राखिएको अनुसन्धानमा खुलेको छ । पछि मूर्ति पुन: अर्को समूहबाट लुटपाट भएको प्रहरीले बताएको छ । ती समूह हुम्ला लाली–७ का २५ वर्षीय लोकेन्द्र शाही, जुम्ला धापा–८ का २६ वर्षीय किङकट भनिने शंकर शर्मा, रुकुमकोल–७ का ३६ वर्षीय रवि भनिने निरमान बुढा र मकवानपुर कुलेखानी–२ का २९ वर्षीय कुमार लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू पक्राउ परिसकेका छन् ।
घटनाका मुख्य योजनाकार नरेन्द्र कर्णाली टाइगर्स नामक भूमिगत समूह बनाई सुदूरपश्चिम एवं मध्यपश्चिमका जिल्लामा आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । २२ भदौ ०६६ मा कैलाली गोदावरी–८ बूढीतोला सडकमा उनी २५ किलो ९ सय ग्राम यार्सागुम्बा लुटेर फरार रहेको प्रहरीले बताएको छ । १९ असार ०६७ मा पनि उनले झाङमा पेस्तोल देखाई यार्सागुम्बा व्यापारीबाट ५० लाख ४० हजार रुपियाँ र एक तोला सुन लुटेका थिए ।

प्रतिक्रिया