डिभोर्सतिर

काठमाडौं, १० जेठ । नायिका रेखा थापा र निर्माता छवि ओझाको दाम्पत्य सम्बन्ध समस्याग्रस्त बनेको खबर सिनेबजारमा व्याप्त रहेका बेला मंगलबार उनीहरू एकैसाथ भेटिए । १० महिनापछि बोलचाल सुचारु गरे पनि यो जोडी औपचारिक सम्बन्धविच्छेद गर्ने टुंगोमा पुगेको छ ।
पुरानो बानेश्वरस्थित ओझाको कार्यालय नमस्ते नेपालमा बसेर उनीहरूले १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम दिने आन्तरिक सहमति गरेका हुन् । यद्यपि, दुवैले यो कुरा सार्वजनिक गर्न चाहेका छैनन् । छविले मिल्न र छुट्न सक्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए भने रेखाले पनि सम्बन्ध टुटिनसकेको दाबी गरिन् । तर, उनीहरूबीचको ‘वार्ता’ मा मध्यस्थता गरेका सञ्चारकर्मी प्रकाश सुवेदीले भने छोडपत्रको कानुनी प्रक्रिया मात्र बाँकी रहेको जानकारी दिएका छन् ।
‘मेरो रोहबरमा उहाँहरूबीच छोडपत्रको सहमति भएको हो,’ सुवेदीले भने, ‘सम्पत्तिको बाँडफाँडमा पनि धेरै कुरा मिलिसकेको छ । यसमा रेखाजी उदार देखिनुभयो ।’ सुवेदीका अनुसार बिहेपछि छविले आफूलाई किनिदिएको घर रेखाले फर्काउने भएकी छिन् । रेखाले पनि आफूलाई सम्पत्तिको लोभ नभएको बताइन् । ‘मलाई चलचित्र क्षेत्रमा स्थापितगराउन उहाँ (छवि)ले जस्तो भूमिका खेल्नुभएको छ, त्यो नै अमूल्य छ,’ उनले भनिन्, ‘उहाँले दु:ख गरेर कमाएको सम्पत्तिमा म लोभ गर्दिनँ ।’ रेखाले यो पनि भनिन्, ‘जसरी मेरो बाबुको नाम नागरिकताबाट कहिल्यै हट्दैन, त्यस्तै छविको नाम मसँग सधँ जोडिइरहनेछ ।’
डिभोर्सको हल्ला फैलिएपछि मंगलबार बेलुकी छविको कार्यालयमा जम्मा भएका पत्रकारमाझ उनीहरू दुवै भावुक देखिएका थिए । छविको अनुहार मलिन थियो भने रेखाको आँखामा आँसु छचल्किएको देखिन्थ्यो । यद्यपि रेखाले आफू तनाबमा नरहेको बताइन् । ‘म तनाब लिएर बस्ने खालकी होइन,’ उनले भनिन्, ‘यसलाई पनि सहज रूपमा लिएकी छु ।’
सम्बन्ध बिच्छेदपछि अर्को लाइफ पार्टनर खोज्ने सम्भावनालाई रेखा र छवि दुवैले नकारेका छन् । यसअघि दुई श्रीमती र तीन छोरासमेत भएका छविले रेखा नै आफ्नी अन्तिम जीवनसंगिनी भएको बताए । ‘बूढो पनि हुन लागेँ, फेरि बिहे गर्नतिर लाग्दिन,’ छविले भने, ‘रेखाजीका लागि मैले पहिलेको परिवार सबै त्यागेँ, अब मलाई सहारा दिन को आउँछ ?’
रेखाले पनि अर्को जीवनसाथीका बारेमा कुनै कल्पना नगरेको बताइन् । उनले भनिन्, ‘म फिल्ममा नै आफूलाई बिजी राख्छु । बिस्तारै निर्देशनतिर लाग्न सक्छु । अर्को (पार्टनर) खोज्ने कुनै सोचाइ छैन । त्यो धेरै टाढाको कुरा हो ।’
आफूहरू श्रीमान्–श्रीमतीका रूपमा नरहने अवस्थामा पनि छवि आफ्नो अभिभावक रहिरहने रेखाको भनाइ छ । ‘उहाँको अभिभावकत्व गुमाउन चाहन्नँ, प्रोफेसनल सम्बन्ध रहिरहने छ ।’ छविले बनाउने आगामी फिल्ममा खेल्न पनि आफू तयार रहेको उनले उल्लेख गरिन् । यद्यपि, आफ्नो सम्बन्ध बिग्रेका हिरोहरूलाई छविले लिएमा भने त्यसमा नखेल्ने उनले संकेत गरिन् । विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देललगायतका हिरोसित रेखाको सम्बन्ध बिग्रेको छ । स्मरणीय के छ भने रेखा फिल्म्स्बाट फिल्म बनाउँदै आएका छविले छुट्टै कम्पनी खोलिसकेका छन् ।
रेखा १० महिनादेखि पतिसँग बस्न छाडेर माइतीमा बस्न थालेदेखि उनीहरूको बिगँ्रदो सम्बन्ध नेपाली मनोरञ्जन समाचारका शीर्षक बन्दै आएका थिए । सम्बन्ध बिग्रिनाको कारणमा रेखाले जेनेरेसन ग्याप (पुस्तान्तर) लाई औँ ल्याइन् भने छविले रेखाको अल्लारेपनालाई देखाए । यद्यपि सम्बन्धमा समस्या आउनामा दुवैको कमजोरी रहेको उनीहरूको स्वीकारोक्ति छ ।
‘बिहे गर्दा १६ वर्षकी थिएँ, उहाँलाई श्रीमान् होइन, ड्याडीका रूपमा पाएँ, उहाँले पनि मलाई सधँै केटाकेटी नै सोच्नुभयो,’ रेखा भन्छिन्, ‘तर अहिले २८ वर्षकी भइसक्दा पनि केटाकेटीलाई जस्तै व्यवहार गरेर त हुँदैन नि ।’ सधैँ सम्झौता गरेर बाँच्नु उपयुक्त नहुने ठानेर छुट्टिने सोचमा पुगेको उनले बताइन्  ।
‘हामीलाई सञ्चालन गर्ने माथि कोही छ,’ फिल्मी शैलीमा रेखाले भनिन्, ‘सबै कुरा त्यहीँबाटै तय हुन्छ । हामी त केवल निमित्त मात्र हौँं ।’
रेखाको बच्कना स्वभाव अहिले पनि उस्तै रहेको छवि बताउँछन् । ‘उहाँ श्रीमती होइन, बच्चाजस्तो हुनुहुन्छ,’ छवि भन्छन्, ‘अझैसम्म पनि उहाँको स्वभाव र चालढालमा परिपक्वता आएको छैन ।’ आफूले श्रीमतीको जस्तो व्यवहार रेखाबाट कहिल्यै नपाएको उनको गुनासो छ । छविका अनुसार रेखाले घरको काम केही पनि गरेकी छैनन् । ‘अहिलेसम्म एक कप चिया बनाएर खुवाउनुभएको छैन,’ छवि भन्छन्, ‘उहाँ सुतेर उठेपछि ओछ्यान पनि म नै मिलाइदिन्थेँ ।’
रेखाले भने छविले पुल्पुल्याएर नै आफू बच्चाजस्तो भएको बताइन् । ‘मलाई सधैँ बच्चाको व्यवहार गर्नुभयो । घरमा कुनै काम गर्नुपर्ने अवस्था नै थिएन । त्यसमाथि सधँै सुटिङको चटारो हुने भएकाले घरमा काम गरेर बस्ने फुर्सद पनि भएन,’ उनले भनिन् ।
रेखा र छविको यौनजीवन पनि सुमधुर रहन सकेको थिएन । ‘हो,’ छवि भन्छन्, ‘रेखाले मिडियालाई नै भन्नुभएको छ, हामी ६ महिनामा एकचोटि मात्र यौनसम्बन्ध राख्थ्याँ ।’ रेखा आक्कलझुक्कल घरमा आउँदा पनि अलग अलग सुत्ने गरेको उनले बताए । रेखाको अपरिपक्वताका कारणले नै अहिलेसम्म सन्तान जन्माउनेतिर नलागेको छविको भनाइ छ । ‘उहाँ आफँ बच्चाजस्तो हुनुहुन्छ, अनि के बच्चा पाउनु,’ छवि भन्छन्, ‘बच्चा पाएपछि उहाँले स्याहारेर हुर्काउने अवस्था थिएन । मैले बुढेसकालमा बच्चा खेलाएर बस्ने अवस्था आउला भनेर नपाएको हो ।’
रेखाले भने ‘फुर्सद नभएर’ बच्चा नजन्माएको बताइन् । ‘त्यसका लागि समय कहाँ थियो र ?’ उनले भनिन्, ‘बिहानदेखि रातिसम्म व्यस्त रहनुपर्ने बेलामा बच्चा पाएर के गर्नु ? फेरि उमेर पनि त धेरै भएको छैन ।’ रेखाका अनुसार ३२ वर्ष काटेपछि बच्चा जन्माउने उनको योजना थियो ।
आफूहरूको बिग्रँदो सम्बन्धलाई मिडियाले नुनचुक छर्केको रेखाको गूनासो छ । उनी भन्छिन्, ‘यो हाम्रो पर्सनल लाइफको कुरा हो । तर, मिडियाले बढाइचढाइ गरेर यसलाई चर्काए । मिडियाले सकारात्मक रूपले लेखिदिए हाम्रो सम्बन्धमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।’
मध्यस्थकर्ता सुवेदीका अनुसार १० वर्षको अन्तरालपछि सोमबार उनीहरूबीच पहिलोचोटि बोलचाल भएको थियो । ‘मिडियामा आरोप प्रत्यारोप हुन थालेपछि मैले पहल गरेर उनीहरूको भेट गराएको हुँ,’ उनले दाबी गरे, ‘सोमबार डिभोर्स गर्ने टुंगोमा पुगेपछि उहाँहरु ‘आई लभ यु’ भन्दै छुट्टिनुभएको थियो ।’
छविले भने आफँले फोन गरेर रेखालाई भेट्न बोलाएको बताएका छन्् । ‘मिडियामा नकारात्मक समाचार आएपछि मैले उहाँलाई फोन गरेर भेट्न बोलाएको हुँ,’ छविले भने, ‘तीन पटकसम्म त फोन उठाउनुभएन, तर चौथो पटकमा उठाउनुभयो र भेट्न तयार हुनुभयो ।’ उनले अब भेटघाट र संवादलाई निरन्तरता दिइने बताए ।
मंगलबार पनि उनीहरू एउटै गाडीमा चढेर कार्यालयबाट बाहिरिएका थिए । जाने बेलामा छविलाई ‘ड्याडी आऊ’ भनेर आफ्नो गाडीमा बोलाएकी थिइन् (रेखाले छविलाई ड्याडी भनेर सम्बोधन गर्ने गर्थिन् । रेखाले गाडी चलाएकी थिइन्् भने छवि छेउको सिटमा बसेका थिए । त्यहाँबाट उनीहरू बानेश्वरको रोजमेरी रेस्टुरेन्टमा पुगेर सँगै डिनर खाएको बताइएको छ ।

प्रतिक्रिया