कांग्रेसमा शेर्पाले दबाव दिएको गुनासो

काठमाडौं, ९ जेठ । कांग्रेसका आदिवासी जनजाति सभासदहरुले सभासद जिपछिरिङ शेर्पाले जातीय पहिचानको राज्यका पक्षमा आफूहरुलाई हस्ताक्षर गर्न दबाव दिएको आरोप लगाएका छन् ।
कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकमा धारणा राख्ने अधिकांश आदिवासी जनजाति सभासदहरुले जातीय राज्यका पक्षमा सभासद शेर्पाले दबाव दिएको गुनासो गरेको एक सभासदले जनाएका छन् ।
उनीहरुले पार्टीले स्पष्ट रुपमा संघीयताका विषयमा अडान लिनुपर्ने भन्दै संयुक्त पहिचान सहितको संघीयतामा जान सुझाव दिएका छन् । आदिवासी जनजाति लगायत सबै समूहको अधिकारप्रति कांग्रेस सचेत हुनुपर्ने सभासदहरुको सुझाव छ ।
बैठकमा सभासद जिपछिरिङ शेर्पाले जातीय पहिचनाका लागि संघर्ष गर्न आफू पछि नहट्ने बताएका छन् । उनले आफूलाई पदको लोभ नरहेको समेत धारणा राखेको स्रोतको भनाई छ ।
कांग्रेसले आफ्ना सभासद तथा केन्द्रीय सदस्य विमलेन्द्र निधिको जनकपुरस्थित घरमा मधेसी जनअधिकार फोरम नेपालबाट भएको आक्रमणको निन्दा गरेको छ । बैठक पुनः बुधबार बस्ने गरेर स्थगित भएको छ ।

प्रतिक्रिया