सारापोभाद्वारा इटाली ओपन रक्षा, नाडालको कीर्तिमान


रोम, ९जेठ । वर्षापछि हिलाम्मे भएको क्लेकोर्टमा चिनियाँ खेलाडी ना लीविरुद्ध कठिन विजय प्राप्त गर्दै पूर्वविश्व नम्बर–१ मारिया सारापोभाले इटाली ओपनटेनिस उपाधि जितेकी छन् । रसियन सुन्दरी सारापोभाले उपाधि जित्ने निश्चित गर्नुअघि उक्त फाइनल दुईपटक वर्षाले रोकिएको थियो । पहिलो सेट गुमाए पनि त्यसपछिका लगातार दुई सेटमा विजयी हुँदै सारापोभा च्याम्पियन भएकी हुन् ।
‘आजको खेल (फाइनल) जोकजस्तै रहयो,’ सारापोभाविरुद्ध ४–६, ६–४ र ७–६ ले पराजित भएपछि लीको प्रतिक्रिया थियो, ‘यस्तो भारी वर्षाका बीच खेल्न निकै गाह्रो हुन्छ । यदि तपाईं एकपटक खेलेर दुई घन्टा आराम लिंदै फेरि सोही खेललाई निरन्तरता दिनुहुन्छ भने त्यसले नतिजामा निकै धेरै प्रभाव पार्छ ।’
गत सिजन फ्रेन्च ओपन ग्रान्डस्लाम जित्दै ग्रान्डस्लाम उपाधि जित्ने एसियाली कीर्तिमान बनाएकी ‘ना’ विरुद्धको खेल अपेक्षा गरिएअनुसारकै भएको सारापोभाको प्रतिक्रिया थियो । ‘ग्रान्डस्लाम जित्दाको बेलाकै लयमा उनले ‘म’ विरुद्ध प्रदर्शन गरिन्,’ लीको प्रदर्शनबारे सारापोभाको प्रतिक्रिया थियो । हारपछि पनि ‘ना’ ले फ्रेन्च ओपन उपाधि रक्षा गर्न आफू तयार रहेको बताइन् । ‘मलाई लाग्छ म फ्रेन्च ओपन रक्षा गर्न तयार भइसकेकी छु,’ ‘ना’ ले भनिन् । सिजनको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपन अर्को साता पेरिसमा सुरु हँुदै छ ।
यसैबीच सोमबार राति भएको फाइनलमा विश्व नम्बर–१ नोभाक जोकोभिकलाई सोझो सेटमा पराजित गरी पूर्वविश्व नम्बर–१ राफेल नाडालले कीर्तिमानी छैटांैपटक उपाधि जिते । खेलजीवनमा ४९आंै तथा क्लेकोर्टमा ३५आंै उपाधि जित्ने क्रममा नाडालले सर्वियन स्टार जोकोभिकलाई ७–५ र ६–३ ले पराजित गरे । गत संस्करणको फाइनलमा जोकोभिकद्वारा नै पराजित भएका नाडालका लागि पछिल्ला चार संस्करणमा यो तेस्रो उपाधि हो । जितसँगै उनी विश्व वरीयताक्रममा दोस्रो नम्बरमा उक्लिएका छन् ।

प्रतिक्रिया