कतै सम्मान कतै आक्रमण


काठमाडौ, ९ जेठ । अभियान राष्ट्रिय दैनिकका फोटो पत्रकार अशोक दुलाल ललितपुरको सातदोबाटो चोकमा पुग्दा बन्दकर्ता खादा र अबिरसहित सडकमा थिए । प्रेस लेखिएको ज्याकेट र क्यामेरा भिरेको झोला देखेपछि बन्दकर्ताले मोटरसाइकल रोके र गलामा खादा र निधारमा अबिर घसेर ‘सम्मान’ गरे ।
प्रेसमाथि अक्रमणमा उत्रिएकाहरूबाट एकाएक सम्मानित हुन पाउँदा दंग पर्दै ग्वार्को चोकमा मात्रै के पुगेका थिए, उनीमाथि ढुंगा बर्सियो । निधारबाट रगत बग्यो । रन्थनिएका दुलाल ढलपलाउँदै भाग्ने कोसिस गर्दै थिए, बन्दकर्ताले घेरिहाले । अनि शरीरभरि लात र मुक्का मात्रै होइन, रड बर्सिन थाल्यो । दृश्य खिच्ने कोसिस गर्दै थिए, न्युज २४ का पत्रकार । उनीहरूलाई पनि धम्क्याइयो । उनीहरू सवार बा.७ च ४१५१ नम्बरको भ्यानको सिसा फुटाइयो ।
यता, घाइते भएका दुलाललाई प्रहरीको सहयोगमा बिएन्डबी अस्पताल लगियो । खबर संकलन गर्न एभिन्युज टेलिभिजनका पत्रकार अस्पताल परिसर मात्रै के टेकेका थिए, बन्दकर्ताले घेरा हाले । कुटिने डरले उनीहरू अस्पतालभित्रै छिरे । केही घन्टाको विश्रामपछि मात्रै उनीहरू लुक्दै कार्यालय पुगे, त्यो पनि प्रहरीको सहयोगमा । घटना भएको थियो, सोमबार बिहान साढे ११ बजे ।
घटनाको विरोध गर्दै फोटो क्लब नेपालका सचिव विकास कार्कीले भने, ‘दुलालको दाहिने आँखामाथि चार टाँका, घाँटीमा चोट र शरीरभरि नीलडाम भएको छ ।’ सचिव कार्कीका अनुसार दुलालको क्यामेरामा क्षति पुग्ने मात्रै होइन, मोटरसाइकल र मोबाइलसमेत हाराएको छ ।
कम्पाउन्डभित्रको मोटरसाइकल पनि तोडफोड
ललितपुरकै मंगलबजार सुन्धारा चोकमा बिहान सात बजे बन्दकर्ता र स्थानीयबीच झपड भयो । पसल खोलेको भन्दै बन्दकर्ताले चोकभित्रका पसल तोडफोड गरेपछि स्थानीय र बन्दकर्ताबीच झडप भएको हो । अनियन्त्रित अवस्थामा रहेका बन्दकर्ताले घरको कम्पाउन्डभित्र पार्क गरेको मोटरसाइकलसमेत जलाइदिएका थिए । बन्दकर्ताले ७:१५ बजे बा.४६प ७३८२ नम्बरको मोटरसाइकल र अल्फाबेट नखुलेको मोटरसाइकलमा आगो लगाएका थिए ।
एकजुट बनेका स्थानीय पछि प्रतिकारमा उत्रिए । दुवै पक्षबीच झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपर्‍यो । घटनामा पाँचजना घाइते भए । उनीहरू ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । घटना नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो ।
झडपपछि इमाडोलमा स्थानीयले सद्भाव र्‍याली निकाले । सामाजिक सद्भाव कायम राख्न स्थानीयले गरेको र्‍यालीले इमाडोलको विभिन्न ठाउँ परिक्रम गर्‍यो । सामाजिक सद्भाव कायम राख्न स्थानीयवासीले सबैसँग आग्रहसमेत गरे ।
बन्दकर्ताले अस्पतालका गाडीलाई समेत छाडेनन् । भक्तपुरको ठिमीस्थित क्षयरोग अस्पतालको बा.१ ग ११४० नम्बरको गाडीमा तोडफोड भयो । सडकमा उत्रिएका बन्दकर्ताले ७:५५ बजे गाडीको सिसा फोरेका थिए ।
पत्रकारलाई सम्मान
आदिवासी जनजातिको समाचार नछापेको विरोधमा आइतबार पत्रकारमाथि आक्रमण गर्ने बन्दकर्ताले सोमबार भने केही ठाउँमा सम्मान गरे । किरात राज्य संघर्ष समितिअन्तर्गतका बन्दकर्ताले कोटेश्वर चोकमा सम्मान गरेका थिए । उनीहरूले पत्रकारलाई खादा र अबिर लगाइदिएका थिए । सम्मान पाउनेमा पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेदेखि विभिन्न सञ्चारमाध्यमका ६० जना भन्दा धेरै पत्रकार छन् । सम्मान गर्दै किरात राज्य संयुक्त संघर्ष समितिका सदस्य तथा सभासद् सुदन किरातीले भने, ‘आइतबारको घटनाबाट कतिपय पत्रकार त्रसित र आतंकित हुनुभएको रहेछ । उहाँहरूलाई स्वतन्त्र रूपमा आºनो काम गर्ने वातावरण बनाउन हामीले यो अभियान थालनी गर्‍यौँ ।’

प्रतिक्रिया