राष्ट्रपतिको ताकेता


काठमाडौ, ९ जेठ । राष्ट्रपति डा. रामवरण यादवले निर्धारित मितिमा संविधान जारी गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपतिले समयमै संविधान जारी हुन नसके मुलुक गम्भीर संकटमा फस्नेतर्फ नेताहरूलाई सचेत गराएका छन् ।
संविधानसभाको म्याद सकिन सात दिन मात्र बाँकी रहँदा राष्ट्रपति यादवले सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका विजयकुमार गच्छदारलाई आफ्नै निवासमा भेटी कुनै पनि हालतमा १४ जेठभित्रै संविधान जारी गर्न आग्रह गरेका हुन् । राष्ट्रपति यादवले विवादित विषयमा तत्काल सहमतिमा पुग्न नेताहरूलाई आग्रह गर्दै तोकिएको समयभित्र संविधान जारी नभए मुलुक गम्भीर संकटमा फस्ने बताएका थिए ।
आफूले चिन्ता व्यक्त गर्नुभन्दा केही गर्न नसक्ने भन्दै राष्ट्रपतिले प्रमुख राजनीतिक दलहरू मिलेर मुलुकलाई निकास दिन आग्रह गरेका थिए । ‘म राष्ट्रपति हँु, मलाई मुलुकको अवस्था र स्थायीत्वप्रति चिन्ता छ,’ राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर सबै गर्ने काम तपाईंहरूको हो, तपार्इंहरू मिलेर तत्काल सहमतिमा पुग्नुस् र समयमै संविधान जारी गर्नुस् ।’
राष्ट्रपति यादवले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक शक्तिहरूलाई तत्काल सहमतिमा पुग्न पनि आग्रह गरेका थिए । उनले मुलुक र आमनेपालीको भविष्य नेताहरूको विवेकपूर्ण निर्णयले निर्धारण गर्ने उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्न आग्रह गरे ।
‘नेपाल नरहे हामी कसरी नेपाली रहन्छौँ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘देश नै रहेन भने हामीले कहाँ र कसका लागि राजनीति गर्ने ?’
राष्ट्रपति यादवले पछिल्ला दिनमा भएको बन्द–हडतालप्रति चासो र चिन्ता व्यक्त गरेका थिए । उनले जातजातिका नाममा मुलुकलाई विभाजन नगर्न र जातीय सद्भाव भड्कन नदिन नेताहरूलाई आग्रह गरेका थिए । नेपाली सञ्चारमाध्यममाथि आइतबार भएको आक्रमणप्रति राष्ट्रपतिले नेताहरूसँग चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
भेटमा नेताहरूले सहमतिको प्रयास भइरहेको भन्दै विगतमा जस्तै सहमतिको प्रयास जारी रहेको बताएका थिए । उनीहरूले संविधान जारी गर्न दलहरू प्रयासरत रहेको उल्लेख गर्दै उनीहरूले छिट्टै सहमतिमा पुग्ने आश्वासन दिएका थिए । तर, राष्ट्रपति भेट्न पुगेका नेताहरूले सहमति नहुनुमा एकले अर्कालाई आरोप लगाएका थिए ।
भेटपछि कांग्रेस सभापति कोइरालाले प्रमुख दलहरू मिलेर आजै परिणाम निकाल्ने गरी सहमति गर्न र निर्धारित समयमा संविधान जारी गर्न राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए । ‘समय छैन, मिलेर आजै राम्रो रिजल्ट सुनाउनुहोस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै कोइरालाले भने ।
एमाले अध्यक्ष खनालले संविधान जारी गर्नुको विकल्प छैन भन्दै चाँडै सहमतिमा पुग्नुपर्नेमा राष्ट्रपतिको जोड रहेको जानकारी दिए । ‘चाँडै सहमति गरेर संविधान घोषणा गर्न राष्ट्रपतिको आग्रह थियो,’ खनालले भने, ‘पछिल्लो अवस्थाप्रति राष्ट्रपति चिन्तित हुनुहुन्छ ।’
मोर्चाका नेता गच्छदारले जसरी भए पनि सहमतिमा पुग्न दलहरूलाई राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए । भेटमा मधेसी, आदिवासी जनजाति, मुस्लिमलगायतले उठाइरहेका मागका साथै मुलुकको पछिल्लो अवस्थाका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
तीन दलका नेताहरूको भेटलगत्तै राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराईसँग शीतलनिवासमै भेटेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा मुलुकको विभिन्न भागमा भइरहेका आन्दोलनका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए । प्रधानमन्त्रीले सुरक्षा अवस्था मजबुत बनाएको बताए ।

प्रतिक्रिया