सरकार रमिते बन्नु हुँदैनः खनाल

काठमाडौं, ८ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले आदिवासी जनजाति संयुक्त संघर्ष समितिको नेपाल बन्दका क्रममा मिडियामाथि भएको योजनावद्ध आक्रमणबाट आफू र आफ्नो पार्टी स्तव्ध भएको जनाएका छन् ।
अध्यक्ष खनालले आज विज्ञप्ती जारी गरेर समाचार संकलनका लागि हिंडेका दर्जनौं सञ्चारकर्मीमाथि दुव्र्यवहार तथा आक्रमण भएको भन्दै बिरोध जनाएका हुन् ।
सञ्चारकर्मीका क्यामरा तथा सवारीसाधन एवं पत्रिका वितरणका लागि गुडेका सञ्चारगृहका गाडीमाथि तोडफोड र आगजनी भएको भन्दै उनले बन्दकर्तासँग क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
‘बन्द आयोजक संस्थाका पदाधिकारीहरू स्वयंले ज्यादतिको विरोधमा आवाज उठाउने पत्रकार महासंघलगायत संस्था र सञ्चारकर्मीहरूलाई बाँकी नछाड्ने भन्नु गलत हो,’ खनालले भनेका छन्, ‘आफू अनुकूलको समाचार प्रसारण नगर्ने कतिपय सञ्चारगृहलाई उडाउने धम्की दिएको प्रति एमालेको गम्भीर आपत्ति छ ।’
‘सशस्त्र द्वन्द्वको उत्कर्षकाल र शाही शासनकालका दिनलाई पनि बिर्साउने गरी भएका मिडियामाथिका यस्ता आक्रमण र धम्की निन्दनीय, लज्जास्पद र मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रकृतिका छन’, जारी विज्ञप्तीमा भनिएको छ ।
‘आफू अनुकूल संघीयताको पक्ष नलिएको आरोपमा नेपाली कांग्रेसका कतिपय नेता तथा सभासद्हरूको निवास तोडफोड गर्ने कार्य निन्दनीय छ,’ खनालले भनेका छन्, ‘असहमति राख्ने जनसमुदायमाथि आक्रमण गर्ने काम बन्द गर्नु पर्छ ।’
उनले स्वतन्त्र प्रेसमाथि भएका यस्ता आपराधिक हमलाको भत्र्सना गरेको जनाएका छन् ।
मिडियामाथि शृङखलावद्ध हमला हुँदा पनि सरकार रमिते बन्ने भन्दै खनालले सरकारको निरिहताप्रति क्षोभ प्रकट गरेका छन् ।

प्रतिक्रिया