जातीय राजनीति आफैलाई घातक हुन्छ

काठमाडौ, ८ जेठ । कांग्रेस र एमालेमा आबद्ध यूवा विद्यार्थी संगठनहरुले सञ्चारमाध्यम र सञ्चारकर्मी माथि बन्द आह्वान समर्थकले गरेको आक्रमणको विरोध र भत्र्सना गरेका छन् । उनीहरुले दलहरुलाई जातीय राजनीति नगर्न समेत चेतावनी दिएका छन् ।
राजधानीमा आज यूवा संघ, तरुण दल, अनेरास्ववीयू र नेविसंघले संयूक्त रुपमा पत्रकार सम्मेलन गरेर आदिवासी जनजाति संयूक्त संघर्ष समितिका बन्दका क्रममा भएको आक्रमणको विरोध गरेका हुन् ।
उनीहरुले प्रेसमाथिको आक्रमणले लोकतन्त्र नै खतरामा परेको भन्दै त्यस्तो अलोकतान्त्रिक कार्यको निन्दा र भत्र्सना गरेको जनाएका छन् ।
मुलुकको जातीय सदभाव खलबलिन थालेको दावी गर्दै उनीहरुले जातीय सदभाव कायम गर्न आग्रह गरेर जेठ–१० गते बृहद सदभाव र्‍याली गर्ने घोषणा पनि गरेका छन् ।
तरुण दलका अध्यक्ष उदयसमशेर राणाले जातजातीलाई लडाएर स्वार्थ सिद्ध गर्न केही नेताहरु लागिपरेको दावी गरे । उनले कालान्तरमा उनीको लागि नै यो षडयन्त्र घातक हुने चेतावनी दिए ।
यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले रावणका दशमुख भएको आफूहरुले ग्रन्थहरुमा पढेको उल्लेख गर्दै भने, ‘कलियूगका रावण एमाओवादी अध्यक्ष प्रचण्ड हुन, उनको दस जिब्रो छ ।’
नेविसंघका अध्यक्ष रञ्जित कर्णले सामाजिक सदभाव भड्काउन खोज्ने विरुद्ध सचेत रहन आग्रह गर्दै सस्तो जातीय नाराले मुलुक मुलुक विखण्डन हुने आशंका ब्यक्त गरे ।
अनेरास्ववियूका अध्यक्ष माधव ढुङगेलले पत्रकार माथिको आक्रमणलाई कलममाथिको आक्रमणको संज्ञा दिएका छन् ।

प्रतिक्रिया