शान्ति सुरक्षा बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ रहेर मुलुकमा शान्ति सुरक्षा कायम गरी अमनचयन बनाई राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा भट्टराईले जेठ–१४ वरिपरी हुन सक्ने सम्भावित अप्रिय घटनाहरु रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ‘उच्च सतर्कता र संयमताका साथ काम गर्नुस,’ उनले भने, ‘शान्ति सुरक्षा कायम गर्दा आवस्यक पर्ने सबै सहयोग गर्छु ।’
जेठ–१४ लाई केन्द्रमा राखेर आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्री भट्टराईले मागलाई राजनीतिक रुपमै हल गरिने बताए ।
उनले सुरक्षा शक्तिहरुले निष्पक्षरुपमा आफ्नो दायित्व पूरा गर्नुपर्ने समेत बताएका छन् ।
कसैले आन्दोलमा तोडफोडका साथै अराजक गतिविधि गरेमा कडाईका साथ नियन्त्रण गर्न प्रधानमन्त्री भट्टराईले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भट्टराईले प्रेस, मावअधिकारकर्मी, कुटनीतिक नियोग माथि तोडफोड हिंसा गर्ने कार्यलाई गम्भीरतापूर्व रोक्न र दोषीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न भन्दै उनले सुरक्षाकर्मीको मनोवल बढाउन आफूले उनीहरुको संरण गर्ने बताए ।
बन्दको क्रममा दैनिक अतिआवश्यक वस्तुको आपूर्तिमा कमी आउन सक्ने तर्फ पनि प्रधानमन्त्री भट्टराईले सुरक्षा निकायलाई सचेत बनाएका छन् ।
अत्यावश्यक सामान खासगरी खाद्यान, औषधी, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आपूर्तिमा कमी आउन नदिन योजना बनाउन समेत सुरक्षा निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
‘सुरक्षाकर्मीहरुले दृढता र संयमता अपनाएर काम गर्नुपर्छ,’ भट्टराईले भने, ‘प्रतिगामी शक्तिहरुले जातीय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने तर्फ ध्यानदिनु पर्छ ।’
उनले कुनै पनि बहानामा जातीय सद्भाव विथोल्ने, भड्काउने शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाई पूर्वक प्रस्तुत हुने चेतावनी दिए ।
आफ्ना मागहरु राख्दा शान्ति र संविधान निर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्री भट्टराईले आन्दोलनकर्ताहरु लाई गम्भीर हुन आग्रह गरेका छन् ।
वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया