साथीको हत्या गरी भारत जान लागेका दुई पक्राउ

रौतहट : काठमाडौंमा साथीको हत्या गरेर भारत भाग्न लागेका दुई जनालाई प्रहरीले चन्द्रनिगाहपुरमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर गढीका राजेश तामाङ र धादिङका सागर तामाङ हुन् । उनीहरूलाई भारत जाने तयारीमा रहेका बेला चन्द्रनिगाहपुर पीपलबोटमा पक्राउ गरिएको हो । तामाङद्वयले २४ वैशाखमा काठमाडौं जोरपाटी नयाँ बस्तीमा पदमबहादुर तामाङलाई छुरा हानेर भागेका थिए । खाना खाने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते भएका तामाङको उपचारका क्रममा २ जेठमा मृत्यु भएको थियो ।
तामाङको मृत्युपछि भागेका दुवैलाई पक्राउ गर्न महानगरीय प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । अभियुक्तहरूले प्रयोग गरेको मोबाइलले उनीहरू सर्लाही कर्मैयामा लुकेर बसेको देखाएपछि प्रहरी तराई पुगेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि मोबाइलमा सिम फेरेर भारत जाने तयारीमा रहेका तामाङद्वयलाई आइतबार नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर शेख अदालतले बताए । (सौस)

प्रतिक्रिया