जिम्मेवार मन्त्रीनै बन्दको समर्थनमा

काठमाडौं, ७ जेठ । सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवले आन्दोलनमार्फत आदिवासी, जनजाति र मधेसीले उठाएको माग पुरा नगरे मुलुकमा गम्भीर दुर्घटना हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले पहिचानका लागि जनताले गरेको आन्दोलनलाई जायज भन्दै आन्दोलनमा एक्यबद्धता जनाएका छन् ।
उनले शोषित पीडित जनताले उठाएको माग पुरा गर्न समयमै उपयूक्त निर्णय लिए मुलुक समृद्ध हुने भन्दै आन्दोलनलाई सम्बोधन नगरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिने चेतावनी दिए ।
संविधानसभालाई पंगु बनाएर संविधानसभा बाहिर अर्को शक्ति निर्माण गरेर संविधान जारी गर्ने षडयन्त्र भईरहेको भन्दै उनले संविधान सभाबाटै संविधान जारी गर्नु पर्ने माग गरेका छन् ।
उनले सिंग र पुच्छर नभएको ११ प्रदेश बनाउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
मन्त्री यादवले समग्र मधेस एक बनाए मधेसी र थारुहरु मिलेर प्रदेश विभाजन गर्ने उल्लेख गरे ।
आदिवासी जनजाति संयूक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले हैसियत विनाको सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने स्पष्ट पारे । उनले प्रमुख दलका शीर्षनेता र प्रधानमन्त्री सहभागी वार्तामा मात्र बस्ने बताए ।
एमाओवादीका केन्द्रीय सदस्य प्रभु साहले आफूहरुको माग स्वीकार नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले आफूहरु सार्वभौम नेपालको पक्षमारहेको भन्दै आफूहरुको माग सम्बोधन नभए अधिकारका लागि मर्न तयार रहेको बताए ।
तराईमा तीन प्रदेश हुनु पर्ने भन्दै उनले थारुहरुको पहिचान खोस्ने कुनै पनि षडयन्त्र सफल हुन नदिने चेतावनी दिए । उनले पत्रकारले आफूहरुको मागलाई नउठाई दिएकाले आक्रोस बढेको बताएका छन् ।
तराई थरुहट पार्टीको अध्यक्ष लक्ष्मण थारुले संविधानसभाले सबै माग पुरा गर्ने अवस्था नभए पनि संविधान संविधानसभाबाटै जारी हुनु पर्ने पक्षमा आफूहरु रहेको बताए ।

प्रतिक्रिया