‘कन्सुलर मेहतालाई बचाउने षड्यन्त्र शुरु’

वीरगन्ज, ६ जेठ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक कन्सुलर एस.डी. मेहताका बारेमा बारेमा प्रकाशित समाचारहरु निराधार रहेको भन्दै भोजमा सहभागी केही नेताहरुले उनको बचाउ गरेका छन् ।
वीरगञ्जमा आज सामूहिक रुपमा पत्रकार सम्मेलन गरी उनीहरुले बुधबारको भोजका बारेमा पत्रपत्रिकामा आएको समाचारको खण्डन गरेका हुन् । उनीहरुले कन्सुलर मेहताले भोजमा राजनीतिक विषयमा आफूहरुलाई केही नभनेको दाबी गरे ।
जनता दल नेपालका महासचिव विनय यादव, कांग्रेस पर्साका जिल्ला सदस्य शैलेन्द्र यादव र विपी यादवले मेहताको बचाउ गरेका छन् ।
विभिन्न पत्र पत्रिकाले नेपाल र भारतवीचको कुटनीतिक सम्बन्ध बिगार्ने नियतले कपोकल्पीत र निराधार समाचार प्रकाशन÷प्रशारण गरेको दाबी उनीहरुको छ ।
कांग्रेस जिल्ला सदस्य शैलेन्द्र यादवले पनि एसडी मेहता आफूले राजनीतिक विषयमा छलफल नगरेको दबी गरेका छन् । यादवले नै राजनीतिक कन्सुलर मेहताले मधेसमा आन्दोलन चर्काउन सुझाव दिएको भन्दै समाचार सार्वजनिक गरेका थिए । अहिले आएर उनले आफूले नबोलेको कुरा सार्वजनिक भएको दाबी गरेका छन् ।
‘निराधार समाचार लैख्ने सम्वाददाताहरुलाई कार्वाही गर्न माग गर्छौं’, जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल र भारतवीचको सम्बन्ध विगार्ने काम कतैबाट गर्नु हुँदैन ।’
जनता दलका महासचिव विनय यादवले बुधबार भिस्वा होटलमा भारतीय महावाणिज्य दूतावासले नभई आफूले रात्रि भोजको आयोजना गरेको दाबी गरेका छन् । उनले भने, ‘भारतीय कन्सुलरसँग राजनीतिक छलफल भएकै छैन ।’
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साका पूर्व सल्लाहकार विपी यादवले भारतीय दूतावासलाई विस्थापित गराउन र बदनाम गर्ने नियतले समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।
बुधबार राति राजनीतिक कन्सुलर मेहताले स्थानीय भिस्वा होटलमा दलका युवा नेताहरुलाइ रात्रि भोजमा बोलाएर मधेसमा आन्दोलन गर्न उक्साएको समाचार प्रकाशित भएपछि उनलाई देश निकाला गर्न माग उठी रहेको छ ।

प्रतिक्रिया