सरकारबाट बाहिरिन कांग्रेसमा माग

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग असन्तुष्ट तेस्रो धारका नेता नेताहरुले व्यक्तिगत निर्णयका आधारमा सरकारमा सहभागी भएको भन्दै तत्काल सरकार छाड्न माग गरेका छन् ।
उनीहरुले महत्वपूर्ण निर्णय लिने आधिकारिक ठाउँ केन्द्रीय कार्य समितिबाट कुनै निर्णय नगराएर व्यक्तिगत आधारमा सरकारमा जाने निर्णय गरेको आरोप लगाएका छन् । उनीहरुले प्रजातान्त्रिक मूल्य र मान्यतालाई बचाउनका लागि पनि सरकार छाड्नुपर्ने बाध्यता रहेको दाबी गरे ।
एमाओवादीको पिछलग्गु भएर सरकारमा सहभागी भएको भन्दै उनीहरुले कांग्रेसपनि जानी÷नजानी जातीयता र साम्प्रदायिकताको एजेण्डामा फसेको आरोप लगाए ।
‘द्वन्द्व पीडित राष्ट्रिय समाज’ले आज राजधानीमा आयोजना गरेको द्वन्द्व पीडितको समस्या र समाधानका उपाय एवं राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तरक्रियाका सहभागी कांग्रेस नेताहरुले व्यक्तिगत लाभका लागि पार्टीले आफ्नो नीति र सिद्धान्तलाई परित्याग गर्दै जान थालेको बताए ।
कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एमाओवादीको पुच्छर बनेर व्यक्तिगत निर्णयका आधारमा सरकारमा केही नेताहरु सहभागी भएको आरोप लगाए । उनले कांग्रेसले सरकारमा सहभागी भएर आफ्ना मौलिक चार वटा अधिकार गुमाएको बताए ।
‘कांग्रेस सरकारमा सहभागी भएर आफ्नो प्रजातान्त्रिक मूल्य मान्यता भूलेको छ’, मुख्य सचेतक घिमिरेले भने, ‘प्रमुख प्रतिपक्षको हैसीयत समेत गुमायो ।’
संविधानसभामा दोस्रो ठूलो दल भएर पनि कांग्रेस सरकारमा तेस्रो स्थानमा रहेको भन्दै उनले जानी÷नजानी पार्टीले साम्प्रदायिकताको मुद्धालाई बोकेको आरोप लगाए ।
‘नयाँ संविधान जारी भएपनि÷नभएपनि प्रधानमन्त्री बाबुराम भट्टराईले अझै आठ÷दस महिना सरकार चलाउछन्’, कांग्रेस नेता घिमिरेले भने, ‘सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चार बुँदेलाई भट्टराईले अझै छाडेका छैनन्, त्यसकै आधारमा मन्त्रालय बाँडफाँट गरिएको छ ।’
हरेक स्थानबाट कांग्रेसले आफ्नो पहिचान गुमाउदै गएको भन्दै मुख्य सचेतक घिमिरेले तत्काल सरकार छाड्नुको विकल्प नरहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले प्रधानमन्त्रीको दौडमा कांग्रेसले राष्ट्रिय मुद्धालाई ओझेलमा पारेको आरोप लगाए । उनले गुटका कारण कांग्रेसले राष्ट्रिय एजेण्डामा प्रवेश गर्नै नसकेको बताए । उनले भने, ‘गुटका कारण अहिले सम्म कार्यकर्ता परिचालन गर्ने निर्णय हुन सकेको छैन, भाग खोसिन्छ की भनेर नेता र कार्यकर्ता चुपालगेर बसेका छन् ।’
कांग्रेस नेता गोविन्दराज जोशीले सामूहिक पद्धतीमा प्रवेश गरिसकेको पार्टीलाई केही व्यक्तिको स्वार्थमा सरकारमा सहभागी हुने निर्णय भएको भन्दै नेतृत्वका आलोचना गरे । उनले भने, ‘आफू वरिपरी कार्यकर्ता घुमाउने काम भएको छ, पार्टी केन्द्रीत कुनैपनि काम गरिएका छैनन् ।’
कांग्रेस नेत सुनिल भण्डारीले एमाओवादी सरकारले गर्ने आपराधिक कामको साक्षी बस्न मात्रै पार्टी सरकारमा सहभागी भएको बताए । उनले भने, ‘केन्द्रीय कार्य समितिको निर्णय बिनानै सरकारमा सहभागी हुने अधिकार कस्ले दियो ?’ सरकारमा सहभागी भएको विषयमा तत्काल केन्द्रीय समितिको बैठक बोलाएर समिक्षा गर्नुपर्ने माग गरेका छन् ।
सभपाति कोइराला र वरिष्ठ नेता देउवासँग असन्तुष्ट रहेर अलग गतिविधि गर्दै आएको यो समूह एमाओवादीको कटु आलोचक छ । उनीहरुले एमाओवादीसँग कुनैपनि किसिमको सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया