किराती बालोम संस्कृति

रदेखि मुन्तिर अलि फराकिलो बारीमा भित्तासँगै जोडिएको छ, सेउलाले बारेको भान्साडेरा । डेराभित्र तामाका ठूला–ठूला खड्कुलामा ठूलै पाखुरा भएका तन्नेरीहरू भात पकाइरहेका छन् । भातको मात्रा बराबर निम्ठो झोल हालिएको बंगुरको मासु पाकिसकेको छ । कोही पाकिसकेको भात भोर्लाको पात खिलेर बनाइएको टपरीमा पस्कँदै थुन्सेमा एक–एक गरी मिलाउँदै राखिरहेका छन् । अरू बंगुरको झोलबाट तारेर निकालेको मासु दुनामा गन्दै राखिरहेका छन् । भान्साडेरा रहेकै गराको डिलको एकापट्टि बेहुलालाई बीचमा पारेर जन्तीको हुल लहरै खाना खान बसिसकेको छ भने अर्कोतिर घर, गाउँले, आफन्तहरू भतेर खान डिलमा टुक्रुक्क बसेको लाइन लामो छ । भान्सेहरू थुन्सेबाट टपरी टिप्दै प्रत्येक जनाको अगाडि राख्दै गइरहेका छन् भने अर्को भान्से टपरीको छेउमा दुना राख्दै गइरहेको छ । फेरि अर्को भान्से दुनामा तातो झोल खन्याउँदै आइरहेछ । थपनीमा पनि चोइली होइन, एक–एक टपरी नै भात । अर्को रमाइलो कुरो त के छ भने प्रत्येकचोटि खाना दिँदा वा थप्दा दिने वा थप्नेले दुई हात जोडेर प्रत्येकलाई नमस्कार गरिरहेछ । किरात राईहरूको बिहेको मौलिक वैवाहिक खानपान र सांस्कृतिक चलनका दृश्यहरू हुन् यी । यी दृश्य सहर पसेका सोही समुदायका समकालीन पुस्तालाई पनि सुन्नलाई मात्र रहरलाग्दो आदिम लाग्न थालिसके पनि पूर्वी नेपालका किरात–राईहरूमा यो मान्यता अपरिहार्य, जीवन्त र अविच्छिन्न छ ।
किरातीहरू खुला आकाशमुनि भात पकाउँदैनन्, त्यसैले भान्साडेराको महत्त्व छ । उनीहरू घरमाथि भतेर गर्दैनन् र भतेर खान सुरु गर्नुअघि पितृहरूलाई चढाउने गर्छन् । यी खास चलनहरूमा मात्र होइन, प्राय: अरू सबै चलनहरूमा पनि शास्त्रीय मान्यता र त्यो मान्यतामा अडिएको किराती आस्था छ । तिनै किराती आस्था र विश्वासले नै सो समुदायमा संहिता निर्माण गरेका छन् । प्रकृतिको सुखदु:ख आत्मसात् गरेर आदिम ज्ञान र सीपको सिर्जना गरेका पितृपुर्खाको अनुभव र आविष्कारप्रतिको आस्था किराती कुलमा वैवाहिक कर्महरूमा देखिएको उदाहरण हो यो ।
किराती विवाहमा एउटा विशिष्ट र उल्लेखनीय एउटा संस्कार छ– बालोम । यो बेहुली अन्माउने अन्तिम बेलाको सबैभन्दा रोचक संस्कार पनि हो । बालोम संस्कारमा बेहुलीको घरबाट केही पर बेहुलाको घरतिर जाने बाटोमा सांस्कृतिक विधिसम्मत दुईवटा किलाहरू गाडिन्छन् । किलाहरूमा एउटा बलो(डोलो काठ) तेस्र्याउने गरिन्छ । त्यही बलोमा बंगुरको मासु भोर्लाको पातमा बेरेर बाँध्ने या त्यतिकै झुन्डयाउने गरिन्छ । अब यही बालोमको वरिपरि बेहुलाबेहुली, बूढापाका, दुवै तर्फका कलिया (लमी) हरू झुरुप्प भेला हुन्छन् । उनीहरूका अगाडि चिन्डोमा रक्सी, दुनामा बंगुरको मासु र डालोमा सेलरोटी हुन्छ । अब बेहुलीतर्फका बूढापाकाले बेहुला तर्फका कलियाहरूलाई सोध्न थाल्छन्– ‘लौ लान त लाँदै छौ हाम्रो छोरी चेलीलाई । हामीले राजकुमारी जस्तो सुखसयलमा हुर्काएर फूलजस्तो सजाएर राखेकी छोरी चेली हो । उसलाई ठेस मात्रै लाग्यो भने हाम्रो दिल दुख्छ । उसले दु:ख पायो भने हामी तपाईंहरूलाई सोध्ने छौँ है हजुर हो..।’ बेहुलातर्फका कलियाहरू अब भन्न थाल्छन्– ‘लौ हजुर उसै बिन्ती । अबदेखि तपाईंहरूकी चेली हाम्रो भयो । हामी ठेस पनि लाग्न दिने छैनौँ । कुनै दु:ख भएमा हजुरहरूले औँलो ठडयाउनु होला । हामी दण्ड भोग्न तयार छौँ ।’
यति भइसकेपछि अब बालोम वरिपरि सिली गाउँदै नाच्ने कार्य हुन्छ । दुलहीका माइतीहरूले बेहुला र बेहुली बोकेर बालोम परिपरि तीन फेरो घुमाउँछन् । बेहुलीकी आमा अर्थात् घरपटि आमा थुन्से बोकेर माना, पाथीले अन्न उघाउँदै थुन्से भरेजस्तो अभिनय गर्दै सिली लाकछाम गर्छिन् । बालोमको ठीक मुन्तिर नांलोमा पैसा, अक्षता र अन्न राखिएको हुन्छ । बेहुलाले त्यही नांलोमा एउटा सिक्का राख्छ । अब सबै बालोममा छेउमा बसिसकेका हुन्छन् । र, बाटो लाग्ने बेला बेहुलीतर्फका मूल अभिभावकहरूले बेहुलाबेहुलीलाई सगुनको टीका लगाइदिन्छन् ।
अब प्रश्न छ– यो बालोम संस्कारको के शास्त्रीय मान्यता छ त ? अनादि कालमा किरात पुर्खा चेलीहरू टाङ्वामा र खिवामा तथा माइती हेच्छाकुप्पा सुखदु:ख जीवनयापन गर्ने क्रममा एकदिन माइती हेच्छाकुप्पाको मृत्यु हुन्छ । त्यसपछि विरक्तिएका चेलीहरू घर छोडेर पन्छी बनी उडेर टाढा जान्छन् । मरेको हेच्छाकुप्पालाई आफ्नो मामा साम्फोक्दिवाले आएर ब्युँताउँछ । एक दिन हुर्कीबढी हेच्छाकुप्पाको बिहे हुन्छ । तर, चेलीहरू नभई माइतीको बिहे कर्म पूरा नहुने संकट आउँछ । त्यही बेला हेच्छाकुप्पाले आफ्ना चेलीहरूलाई बिहेमा उपस्थित गराउन दूतलाई पठाएको हुन्छ । मरिसकेको माइतीको बिहेको खबर चेलीहरूले पत्याइनसक्नु थियो । यद्यपि, उनीहरूले उडेर आउँदा माइतीको बिहे आकाशबाटै देखे । यसपछि चेलीहरूको शिर उठाउन हेच्छाकुप्पाले बालोम बनाए । र, उड्दै आएका चेलीहरू बालोमको बलोमा दुई टुप्पामा बसे । र, त्यही खुसीमा सबै बालोम वरिपरि सिली गाउँदै घुम्दै नाच्न थाले । खुसीयालीमा विवाह कर्म सम्पन्न भयो । बालोम संस्कारमा अझै पनि टाङ्वामा, खिवामा र हेच्छाकुप्पाको नाम लिँदै सिली गाउने चलन छ । यो संस्कारले दुवै घरमा चेलीहरू गरिखाने, अन्नपातको सह बस्ने विश्वास छ । बेहुलाले नांलोमा सिक्का छाड्नुका मान्यता भने बेहुलीसँगै त्यो घरको अन्नपात वा धनसम्पत्तिको सह सरेर नजाओस् भनेर हो । किरातीहरूको आमसंस्कार यस्तो कुनै पनि छैन, जसमा शास्त्रीय मान्यता नहोओस् र त्यसमा कुनै पनि आस्था नै नहोओस् । वैवाहिक सांस्कृतिक संस्कारको क्षयीकरण भइरहेको अवश्यै होला । तर, बाँचिराखेका संस्कारले आदिम किरात सभ्यताको अनुहारमा चाउरी पर्न दिएको छैन ।

प्रतिक्रिया