सहरमा रङ्ग खोज्दै एक जिन्दगी

हरको रङ कस्तो होला ? धरहरामा चढेर हेर्ने आँखाले सहरलाई रंगीन ठम्याउन सक्छ । कुनै विकट पहाडी बस्तीका चिम्सा आँखाहरूमा पनि एउटा कलरफुल सहरको काल्पनिक चित्र नाच्दो हो । त्यही रङको आकर्षणमा लालाबाला पाल्ने दायित्व लिएर कुनै अभिभावक पस्दो हो सहर । जसरी बत्तीको आकर्षणमा छिचिमिराहरू परबाट हुत्तिँदै आउँछन् । जीवनको ‘हिरो’ बन्ने सपनामा हेलिएर सहरमा रङ खोज्न आउने कयौँ युवामनको कथा, व्यथा सहरकै रंगीन अखबारहरूमा प्रशस्तै छापिए । बुढ्यौलीले आफ्नै शरीरबाट रङ खोसिसकेको अवस्थामा भेटिएकी ६८ वर्षीया नवसरी ओली एक पात्र हुन् यही सहरकी । जोसँग जीवनको ‘हिरो’ बन्ने सपना त छैन तर सहरमा रङ खोज्नुपर्ने बाध्यता छ ।
यही सहरमा महल बन्न चाहिने इँटाको भारीले कुप्रो ज्यानलाई खुब दु:ख दिएको छ । मुहारका हजार चाउरी पन्छाउँदै हाँस्दा उनका पहेला दाँत कुनै आदिवासी फूलजस्ता देखिन्छन् । इँटाको धुलोले रंगिएको कपाल पन्छाउँदै उनी खुइय गर्छिन् । छिनछिनमा बदलिइरहने आकाशमा मडारिएका काला बादल हेर्छिन् र सोच्छिन् होला– हाम्रो जिन्दगी पनि बादलजस्तै छ, कालो घेरा भएको, अँध्यारो । इँटाभट्टाको चिम्नीको मुखबाट निस्किएको कालो धुवाँले आकाश छोपेपछि आकाशको रङ पनि ठम्याउन सक्दिनन् उनी । सहर र गाउँबीच एउटै समानता छ भने त्यो आकाशको रङ हो । रोल्पाको घर्ती गाउँमा पनि उनले आकाश नीलै देखेकी हुन् । त्यही नीलो आकाशको रङ ठम्याउँदै आफ्नो ८४ वर्षका आँखा नदेख्ने बुढालाई उनी सुनाउँथिन्, ‘आकाश नीलो छ बूढा ।’ तिघ्रा लागेपछि बुहारी च्यापेर छुट्टिएको छोरो टाढाको भइसकेको थियो । खुरुखुरु जन्मिएका तीन छोरी ज्वाइँका सम्पत्ति बनिसकेका थिए । बुढ्यौलीले थन्किएका आफ्नो श्रीमान्लाई उनले एकदिन भनिन्, ‘म काठमाडौं गएर लत्ताकपडा किनेर ल्यााउँछु, औषधिमुलो किनेर ल्याउँछु, पीर नगरीकन छोरीसँग बस्नु ।’ अनि उनी ६८ वर्षेे बूढो देहमा तन्नेरी–आत्मा घुसाएर सहर पसिन् । कल्पनामा सजिएको रंगीन सहर ।
इँटाको भारी खेप्दा स्वाँस्वाँ हुन्छ । आत्मा जति तन्नेरी भए पनि जीर्ण बन्दै गएको बूढो शरीर नथाकोस् पनि कसरी ? अमर आत्माको वकालत गर्ने दार्शनिकहरूको दर्शन कहाँनेर मिल्दो हो नवसरीको जीवनमा ? उनको वर्तमान इँटा बोक्नु हो । जतिसक्दो इँटाको खेप गर्नु र ज्याला पाउनु हो । तन्नेरी आत्मालाई बूढो देहले चुनौती दिएपछि आत्माको उपादेयताको प्रश्न नउठोस् पनि कसरी ? ‘जति सक्छौ काम गर, कमाऊ’ भन्ने पुँजीवादी आदेश र दर्शनमा ओलीको शरीर लादिएको छ सायद । नवसरीले त सहरमा रङ भेट्टाउनु छ, शरीरको प्रयोग गरेर । रङ भेटिइहाल्यो भने घर्तीगाउँ फर्कंदा उनीसँग आफ्नो श्रीमान्का लागि औषधि र केही थान लत्ताकपडा हुनेछ ।
रङ भेटेको खबर बिक्यो कतिपयको, रङ चिन्न नसकेको खबर बन्यो केहीको अनि कतिपयले रङ नै भेट्न नसकेको खबर पनि बन्यो । सेतो भागको बीचमा टल्कने कालो नानी भएको ‘ब्याल्क एन्ड ह्वाइट’ आँखाले सहरमा रङ खोजेको खोज्यै छ । नवसरी काम गर्ने भक्तपुरको इँटाभट्टामा थुप्रै मजदुर छन् । गाउँबाट सहर पसेका ती मजदुरसँग एउटै सपना छ । उस्तै रङ चिन्ने, भेट्टाउने अभिलाषा । यो अभिलाषामा कारखानामा अग्लिएर उभिएको चिम्नीजत्रै दु:ख पनि छ साथमा । जीवन चलाउन दु:खको सहारा लिनुपर्ने विडम्बनामा छिन् नवसरी । दु:खसँगै आस छ उनलाई । त्यही भएर प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनी दु:ख बोकिरहन्छिन् । दु:ख चुहिन्छ पिसना बनेर निधार र गालाबाट तररर… । उनैका दु:खको चाङ मिलेर बनेको हुन्छ इँटाको चाङ पनि । त्यही चाङ बेचिन्छ मार्केटमा । र, बन्छ रंगीन महल, रंगीन दुनियाँ ।


नवसरी केही महिना मात्र भयो सहर छिरेको । देशले राजधानी स्विकारेको काठमाडौंमा उनको पहिलो आगमन हो यो । राजधानीसँग यसअघि उनको कुनै आस थिएन । आशा हुँदो हो त आफूले जन्माएको छोरोसँग । समयसँगै बदलिँदो रहेछ आस । २० जना नातिनातिनाकी हजुरआमा नवसरीलाई सन्तानबाट आस हट्यो । अहिले आस छ त यही इँटासँग । कहिल्यै आस नगरेको कुरासँग ‘आस’ राख्नुपर्ने भयो नवसरीले । ‘यो इँटा भन्ने चिज मैले यहीँ आएर देखेँ’ भारी मिलाउँदै नवसरीले भनिन् ।
दु:ख नवसरीको साथी हो । जिन्दगीभर साथ दिने त दु:ख नै पो रहेछ । रोल्पाको दैनिकी पनि उस्तै दु:खलाग्दो । बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मै काम । नवसरीको हातमा अब काँडा बिझ्न बाँकी ठाउँ नै छैन । हातभरि पल्टेका खिल देखाउँदै उनी भन्छिन्, ‘यही हातले हो मैले त्यहाँ घाँसदाउरादेखि चुलोचौकोसम्म गरेको ।’ बिहानैदेखि साँझसम्म भारी खेपिरहँदा जिउ दुखेर भुतुक्कै हुन्छिन् उनी । सहर पसेको एक महिनासम्म त बिरामी नै परिन् । दु:ख ओच्छाएरै सुत्छिन् सुखको आसमा । तर, हरेक बिहान दु:ख नै उभिरहेको पाउँछिन् आफू अघिल्तिर । देशमा कोकसले शासन गर्छन् उनलाई के चासो ? उनीसँग त चासो छ केबल आफूमाथि शासन गरिरहेको नाम्लोको । त्यही नाम्लो शासनबाटै उनले दैनिक सय रुपियाँ जति कमाउँछिन् । त्यही पैसा उनको रङ बन्नुपर्नेछ । र, फर्कनुछ घतिीगाउँ । जहाँ श्रीमान् उनलाई कुरेर बसिरहेका छन् ।
दार्शनिक सोवेर हलले भन्थे, ‘जीवनको मूल पक्ष भनेको दु:ख र निराशा हो ।’ त्यसलाई बोकेर नित्सेले निराशा र दु:खको कारण ईश्वरको कल्पना गर्नुसँग जोडे । र, नित्सेले ईश्वरको मृत्यु घोषणा गरे । सँगसँगै जीवनलाई दु:खबाट तार्ने दर्शन प्रस्तुत गरे । के नवसरीको जीवन र दु:खमा त्यही मरिसकेको ईश्वरले खेल खेल्न सक्छ ? कुन दर्शनबाट हो नवसरीको जीवन पार हुने ? आफ्नो श्रीमान्लाई औषधि किन्न सहरमा रङ पहिल्याउन हिँडेकी उनी बाँकी जीवनमा सुख ल्याउन कसरी बुद्धको शरणमा जाने ? केही रंगीन कपडा र औषधि लिएर उनले यही जेठमा गाउँ फर्कने विचार गरिसकिन् । उनलाई थाहा छैन, त्यो द्रव्यले उनको आवश्यकता पूरा गर्छ या गर्दैन । तर, अब उनी घर्तिगाउँ गएपछि यो सहर नफर्कने सुरमा छिन् । सायद, उनलाई चिम्नीबाट निस्किएको कालो धुवाँ र इँटाको धुलोले आकाशको रङ नै बदलिएको लाग्दो हो । घर्तीगाउँ फिरेपिछ सहरलाई ‘ब्याल्क एन्ड ह्वाइट’ ठान्लिन् या रंगीन ?

प्रतिक्रिया