एउटा साधुको कथा

क्रमश: मर्दै थिएँ । आफन्त मित्रहरू भनेका किताबमात्रै थिए । ती वरपर/यत्रतत्र छरिएका थिए । अन्तिम श्वास फेर्नका निम्ति म घिटिक–घिटिक गरिरहेको थिएँ । त्यस्तैमा त्यो अर्ध–अँध्यारो कोठामा एउटा मानिस देखापर्‍यो । सुकिलो पोसाकमा सजिएको त्यो नवागन्तुकको अनुहारमा कुन्नि के जादु थियो † म टोलाइरहेँ । उसले कोठामा भएभरका पुस्तकको टाइटल पढिसिध्यायो । पुस्तक उठाउँछ /शीर्षक हेर्छ– र जतनका साथ साविककै ठाउँमा राखिदिन्छ । अनि मेरो छेवैमा आई यसो भन्छ : ‘अरे यार नगरकोटी † यो एकबारको जुनीमा ‘सिद्धार्थ’ नपढी कोही किन अनायासै मर्दो हो † त्यो उपन्यास पढ । त्यसपछि मात्र म तिमीलाई भेट्न आउँला ।’
त्यो सुकिलो मनुष्य त्यसपछि एकाएक अन्तध्र्यान भयो । यो थियो एउटा सपनाको कुरा † समय त्यस्तै विक्रमको ५४ साल । म कहिलेकाहीँ सपनाका कुरालाई जतन साथ सुन्छु । मभित्र सपनाको सन्देशलाई पछ्याउने एक प्रकारको आदिम पागलपन छ सायद । आनन्द लाग्छ । काठमाडौंका गल्लीमा सिद्धार्थलाई खोजी हिँड्न थालेँ । एकदिन बागबजारको हिमालयन बुक सेन्टरमा/एउटा पुस्तक र्‍याकमा, अरू थुप्रै मोटाघाटा ‘वल्र्ड क्लासिक’ पुस्तकले च्यापिएको अवस्थामा त्यो प्रिय लुरे, सिद्धार्थलाई फेला पारँे । पढिसिध्याउन एक रात पनि लागेन । तर, त्यसले मेरो कैयौँ आगामी रातहरूलाई आध्यात्मिक–अपहरण गर्‍यो । ती कालहरूमा मैले पढ्नुपर्ने पुस्तकको रिफरेन्स ओशोको ‘बुक्स द्याट आई ह्याभ लभ्ड’ बाट लिन्थेँ । ‘वल्र्ड क्लासिक्स’ मा मैले त्यसरी प्रवेश गरेँ । साहित्यको अनुरागी/पाठक बनेँ । मलाई लाग्छ, एउटा असल पाठकको जन्म हुनु भनेको विश्व साहित्यकै एउटा उपलब्धि हो । विश्व साहित्यलाई जोगाउने भनेकै असल पाठकले हो । हर्मन हेस्सेको ‘सिद्धार्थ’ पढ्न मलाई ओशोले भनेको थिएन । त्यसो भए मेरो सपनामा देखापरेको त्यो सुकिलो मनुष्य को थियो त ? जो भन्थ्यो ‘सिद्धार्थ नै नपढी केको अरोचक मृत्यु मराइ भो र ?’
मलाई लाग्छ, त्यो यमदूत थियो । मलाई यहाँ ‘सिद्धार्थ’ लेखेर हर्मन हेस्सेले साहित्यमा नोबेल पुरस्कार पाएका थिए जस्ता तपसिलका कुरा लेख्नु छैन । किनभने, सबैलाई यहाँ थाहा भएकै कुरा हो, कतिपय पुस्तक नोबेल–प्राइजभन्दा ठूला हुन्छन् । ती पुस्तकले तपाईंको पुस्तक र्‍याक मात्रै सजाउने होइन, अपितु तपाईंको सुन्दर हृदय प्लस आकर्षक मस्तिष्कलाई अझ बढी सुन्दर/आकर्षक बनाउँछन् । मेरो प्रिय पुस्तक सिद्धार्थ †
‘सिद्धार्थ’ को सिनोप्सिस रिपोर्ट यसरी कोर्न सकिन्छ–
‘सिद्धार्थ एउटा युवा ब्राह्मणको त्यस्तो कथा हो जो साधु बन्न आफ्नो धनाढ्य पिताको घर त्याग्छ । यायावर बन्छ । बुद्धसित भेटघाट गर्छ र बुद्धवाणीबाट सम्मोहित हुन्छ । तर, आफ्नै बाटो पछ्याउँछ । उसको आध्यात्मिक खोजले उसलाई बास्ना एवं भौतिक सुखको नजिक पुर्‍याउँछ । ती सम्पूर्ण भौतिक आनन्द उसलाई खोक्रो लाग्छ र सबैलाई परित्याग गर्छ । उसले निर्वाण प्राप्त गर्छ माझीमा, डुंगा खियाउनुमा, मानिसहरूलाई ‘पार’ लगाउनुमा…। आत्म–ज्ञान एवं सत्यको खोजमा हिँड्ने मनुष्यको प्रतिनिधि पात्र हो ‘सिद्धार्थ’ ।

साधु बन्ने अठोटलाई सिद्धार्थका प्रतिष्ठित ब्राह्मणपिताले अस्वीकार गरेपछि सिद्धार्थ निराहार बस्छ केही दिन : ध्यानरत । पिताको मन पग्लन्छ । सिद्धार्थले अनुरोध गर्छ, ‘म आफ्नो पिताको आज्ञालाई अस्वीकार गर्न सक्दिनँ । तर, मलाई साधु बन्ने अनुमति दिनुस् ।’ प्रत्युत्तरमा पिताले एकमात्र जवान सन्तानलाई भन्छन्, ‘ठीक छ, तिमीलाई म रोक्न सक्दिनँ, जंगलमा जाऊ, ध्यान, तपस्या गर । यदि तिमीले सत्यको खोज गर्‍यौ भने घर आऊ र मलाई बताऊ । यदि तिमीले केही पनि प्राप्त गरेनौ भने पनि घर आऊ ।’
तर, जंगलको यात्रामा निस्केको त्यो युवा साधु कहिल्यै घर फर्कंदैन ।
आफ्नो बाल्यकालको साथी गोविन्दसितै ऊ जंगल प्रस्थान गर्छ । दुवैजनाले जंगलमा ध्यान तपस्या गर्छन् । साधु, ज्ञानीहरूको सत्संगमा सहभागी हुन्छन् । वर्षौं बित्छ तर हात लाग्यो शून्य † वर्षौं–वर्ष सत्यको खोज गरियो, कठोर तपस्या गरियो, प्रश्नहरू सोधियो तर ईश्वरको जवाफ खोइ त ?
तर, कथित ईश्वर कतै भएन न जवाफ आउँथ्यो † बरु जंगलमा एक दिन बुद्धको आगमन हुन्छ । गोविन्द र सिद्धार्थ बुद्धश्रवण गर्न जान्छन् । गोविन्दले सिद्धार्थलाई त्याग्नुपर्ने बेला आयो । ‘बुद्धम् शरणम् गच्छामि ऽऽऽ’ को मन्त्र जप्ने इच्छा गोविन्दमा जाग्यो । बुद्धले उसलाई शरण पनि दिन्छन् । दुई साथीको सन्ध्याकालीन वार्ता गजबको छ :
सिद्धार्थ : तिमीले आफ्नो बाटोको छनोट गर्‍यौ, गोविन्द † तिमीले सदा मलाई मात्र पछ्याइरह्यौ । आज तिमीले आफ्नै मार्ग भेट्टाएका छौ । त्यो बाटो अनन्तसम्म हिँड, मलाई छाडिदेऊ ।
गोविन्द : बुद्धको शिक्षामा के त्रुटि छ र ?
सिद्धार्थ : बुद्धको शिक्षामा कुनै त्रुटि छैन, गोविन्द † के मात्र हो भने म आफ्नै बाटो हिँड्न चाहन्छु ।
अर्को दिन सिद्धार्थ एक्लै बुद्धकहाँ पुग्छ र हात जोड्दै भन्छ : ‘निर्वाण प्राप्त गर्ने क्षण तपाईं कुन अनुभूति, अनुभवबाट गुज्रनुभयो, त्यो सेक्रेट मलाई तपाईंले कहिल्यै बनाउन सक्नुहुन्न । त्यसैले म आफ्नै बाटोमा हिँड्न जाँदै छु । कुनै अरू गुरुलाई भेट्न होइन तर सम्पूर्ण गुरुहरूलाई छाड्न र आफ्नो बाटो खोज्न ।’ बुद्धले यसरी आर्शीवाद दिन्छन् सिद्धार्थलाई : ‘तिमी धेरै चतुर छौ साधु । आफ्नो चतुरताको सदा स्वयंले रक्षा गर्नू ।’
त्यसपछि सुरु हुन्छ– सिद्धार्थको आत्मखोजको यात्रा । वासुदेव नाम गरेको माझीले उसलाई नदी पार गराइदिन्छ । सिद्धार्थलाई त्यसपछि हामीले बजारमा भेट्टाउँछौँ । त्यस नगरकी प्रख्यात गणिका कमलासित उसको हिमचिम बढ्छ । प्रथम भेटमै कमलासित उसले निवेदन गर्छ : ‘धेरै वर्षअघि साधु बन्न आफ्नो घर छाडी हिँडेको थिएँ । तर, आज मेरो बोधले मलाई यहाँ तिमीसमक्ष ल्याइपुर्‍यायो । तिमी मेरो प्रथम प्रेम, प्रथम गुरु । मलाई प्रेमको कला सिकाउँm । कमलाले सोध्छे, ‘ओ साधु † तिमी प्रेमका निम्ति के गर्न सक्छौ ?’ साधुले तीनवटा सूत्र बताउँछ, ‘म विचार गर्न सक्छु । म प्रतीक्षा गर्न सक्छु । म निराहार बस्न सक्छु ।’ र, चौथो सूत्र पनि बताउँछ, ‘म काव्य–वाचन गर्न सक्छु ।’
कमलाले सिद्धार्थलाई प्रेमको कला सिकाउँछे । प्रेममा सम्भोग आउनु नै थियो । सम्भोगको कला सिकाउँछे । सिद्धार्थको सम्भोग–कालखण्डलाई बडो चित्रात्मक किसिमले हर्मन हेस्से किताबमा व्याख्या गर्छन् । कमलामार्फत सिद्धार्थले नगरको महाजनसित हिमचिम बढाउँछ । एउटा साधुको आकर्षक व्यक्तित्व र विद्वताबाट महाजन हदभन्दा बढी प्रभावित भइदिन्छ । आफ्नो कारोबारको सम्पूर्ण हिसाबकिताब सिद्धार्थलाई जिम्मा लगाउँछ । त्यसपछि सुरु हुन्छ– सिद्धार्थको अहंकारको तामसिक यात्रा । मदिरा, धन, जुवामा ऊ चुर्लुम्म डुब्छ । आफ्नो व्यक्तित्व एवं वाक्चातुर्यले गर्दा यहाँसम्म कि आफ्नै मालिक महाजनलाई उसले नोकरतुल्य व्यवहार गर्न थाल्छ । मजस्ता पाठकलाई यहाँसम्म आउँदा, यो तामसिक प्रसंगमा आउँदा सिद्धार्थबारे एउटा लेख लेख्न मन हुने गर्छ (यो मेरो पाठकीय अनुभव) । यस्तो शीर्षकमा : ‘एउटा साधुको पतन ।’

तर, सिद्धार्थको त्यस्तो ‘पतन–प्रसंग’ अनायास होइन । हर्मन हेस्सेले पतनको अन्तिम सीमासम्म लगेर सिद्धार्थलाई छाडिदिन्छन् । यसको कारण पनि छ । फुटबललाई जति जोडले भुइँमा बजार्‍यो । त्यति त्यो भकुन्डो उड्ने/उठ्ने न हो † ज्ञानीहरू भन्छन् नि † न्युटनको तेस्रो नियम । (न्युटन्स थर्ड ल अफ मोसन ।)
एक दिन पतनको क्लाइमेक्सबाट सिद्धार्थ उठ्छ । जान्छ र आत्मप्रश्न गर्छ : म के बनेँ ? आफूले रचना गरेको यो संसारबाट म रोगी भइसकेँ । यो पिँजडालाई मैले त्याग्नैपर्छ । मेरो घर अर्थहीन भएको छ र म पूर्ण ध्वस्त ।’ त्यसपछि सिद्धार्थ नदीमा फाल हान्छ । नदीको छालले उसलाई धेरै टाढा लगी एउटा किनारमा मिल्काइदिन्छ ।
भेट हुन्छ, त्यसपछि वाासुदेवसित । त्यही क्या नदी पार गराउने माझी † आफ्नो आश्रममा वासुदेवले उसलाई राख्न दिन्छ । वासुदेवसित उसले डुंगा चलाउने कला सिक्छ । नदी सदा वर्तमानमा बाँच्छ । नदीबाट हामीले बाँच्न सिक्नुपर्छ । वासुदेव भन्छ । वासुदेव मर्छ । सिद्धार्थ वृद्ध हुन्छ । मानिसहरूलाई एउटा नदीको किनारबाट अर्को किनारासम्म पुर्‍याउँछ । निरन्तर । ‘वियोन्ड’ भन्ने अंग्रेजी शब्द मलाई प्रिय लाग्छ । सम्पूर्ण चिजहरूबाट पार । मान्छेहरू जीवनभर एउटै सिद्धान्त, आदर्श, वादलाई च्यापी बसेको देख्दा मलाई उदेक लाग्दो रै’छ । अन्तिम सत्य नै ती पर्सनल सिद्धान्त, आदर्श हुन् भनेझैँ निर्धक्क बाँचिदिन्छन्/ मरिदिन्छन् । मानिसहरू…
अन्त्यमा पुलुक्क आइपुग्छ गोविन्द सिद्धार्थको डुंगा चढ्न । दुवै बचपनका लगौँटिया–यार । अब त बूढा भइसकेका छन् । चिनजान गर्छन् । सिद्धार्थ सोध्छ, ‘केको खोज हो ? के खोजिरहेका छौ ?/ किन भौँतारिइरहेका छौ ?’ गोविन्द भन्छ– ‘आफ्नो जीवनभर मैले सही बाटो खोजेँ । आज पनि खोजिरहेछु ।’ सिद्धार्थ भन्छ, ‘खोज छाडिदेऊ । चिन्ता छाडिदेऊ । केबल प्रेम बाँड्ने कला सिक । प्रेम बाँड † मुक्ति/स्वतन्त्रता/मोक्ष/निर्वाण भनेको त आत्मबोध हो । फ्रिडम इज रियलाइजेसन ।’

समयको भागदौड जहाँतहीँ व्याप्त छ । यस्तो लाग्छ, आजकाल समयलाई पनि फुर्सद छैन । मुक्ति, मोक्ष, स्वतन्त्रता, पहिचानका निम्ति जगत्का, राष्ट्रका मानिसहरू अझै दौडिरहनेछन् । आफ्नो तथाकथित सत्ता प्राप्तिका निम्ति मनुष्यहरू यस जगत्मा आउनेछन्/जानेछन् । आ–आफ्नै प्राइभेट सिद्धान्त, दर्शन, वाद, आदर्शको गह्रुँगो झोला काँधमा बोकी मानवहरू इतिहासको स्टेजमा यताउति कुदिरहेका हुनेछन् । यस्तो बेला नेपथ्यबाट सिद्धार्थ भनिदिन्छ, ‘फ्रिडम इज रियलाइजेसन ।’ म स्वभावत: ट्वाँ पर्छु ।
हर्मन हेस्सेले सिद्धार्थमार्फत हिस्स बूढी खिस्स दाँत गर्नुपरेन । यस्तो भागदौडको बेला पाठकलाई दुब्लो नै सही ‘सिद्धार्थ’ किताब पढ्ने फुर्सद नहुनसक्छ । तर, ‘सिद्धार्थ’ फिल्म त छ नि † जम्माजम्मी दुई घन्टाको । फिल्म निर्माता, निर्देशक, पटकथाकार कानराड रुक्सले सन् १९७२ मै फिल्म बनाइदिएका छन् । उही शीर्षक ‘सिद्धार्थ’ मा । सिद्धार्थ उर्फ शशिकपुर कमलाउर्फ सिमी गरेवाल अभिनित सिल्भर स्क्रिन पोएर्टीमा विख्यात सिनेमाटोग्राफर स्वेन निक्भिस्टको सिनेमेटिक डिस्कोर्स पाठकहरूले नहेर्नुपर्ने म कुनै कारण दख्दिनँ ।
अँ त ऽऽऽ, सबै गन्थन मात्रै गरिरहेको यो बेला (संविधानसभाबाट संविधान जारी हुने ऐतिहासिक कालखण्डमा) अब अरू गन्थन नगर्ने मनोदशामा छु । आफ्नो प्रिय पुस्तकबारे केही फुट नोट्स लेखेँ । धेरै समय बिते तर सपनाको त्यो युवा यमदूत त्यसपछि कहिल्यै आएको छैन मलाई भेट्न । ऊ भन्थ्यो, ‘सिद्धार्थ नै नपढी कोही किन अनायासै मर्दो हो ।’ यत्ति हो मैले बाँच्न रुचाएँ ।

प्रतिक्रिया