सभासद् (महिला)ले सभासद् (पुरुष)लाई पिटिन्

काठमाडौं, ६ जेठ । पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ मधेसी जनअधिकार फोरम गणतान्त्रिककी महिला सभासद्ले सोही पार्टीका पुरुष सभासद्लाई नयाँ बानेश्वरस्थित संविधानसभा परिसरभित्रै कुटेकी छन् । अश्लील गाली गरेको भन्दै पूर्वसञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले पूर्वकृषिमन्त्री अकवाल अहमद साहलाई बाटो ढुकेर कुटेकी हुन् ।

राज्य पुन:संरचनाबारे मधेसी मोर्चासहित प्रमुख तीन दलबीच भएको सहमतिविरुद्ध पार्टीका सबै सभासद्को हस्ताक्षर संकलन गर्ने क्रममा सुरिताले विरोध जनाएपछि अकवालसित उनको दिउँसै विवाद भएको थियो । स्रोतका अनुसार संविधानसभा भवनभित्रै भएको विवादमा अकवालले सुरितालाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । पार्टीका अन्य सभासद्लाई पनि भड्काएको आरोप उनले सुरितालाई लगाएका थिए ।
आफूलाई गाली गलौज गरेको बदला लिन सुरिता संसद् बैठक सकिनेबित्तिकै संविधानसभा भवनको पश्चिमी ढोका(चमेनागृहतिरको)मा अकवाललाई गेटमा ढुकेर बसेकी थिइन् । ढोकाबाहिर पाइला राख्नेबित्तिकै सुरिताले अकवाललाई पिट्न सुरु गरिन् । अकवालले पनि प्रतिकार गर्नुका साथै फेरि अश्लील गाली सुरु गरे । दुईजनाबीच कुटाकुट हुन थालेपछि सँगै रहेका सभासद्हरू निलम बर्मा, सलमा खातुनलगायतले छुट्याएका थिए ।
कार्यवाहक अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादवको निर्देशनअनुसार प्रमुख दलहरूबीच भएको ११ प्रदेश बनाउने सहमतिविरुद्ध अकवालले पार्टीका सभासद्हरूको हस्ताक्षर संकलन गर्न थालेका थिए । स्रोतका अनुसार सुरिताले ‘कसैले हस्ताक्षर गर्दैनन्, किन ल्याइरहेको’ भन्दै प्रश्न गरेपछि विवाद सुरु भएको थियो । सलमा खातुनलगायत केही महिला सभासद्लाई भड्काएको आरोप लगाउँदै अकवालले सुरितालाई हप्काए । दुईजनाबीच संविधानसभा भवनभित्र हात हालाहाल नभए पनि निकै चर्काचर्की भएको थियो । स्रोतका अनुसार त्यस क्रममा अकवालले सुरितालाई ‘रण्डी’ समेत भनेका थिए ।
त्यसबीच संसद् बैठक सुरु भयो, प्रधानमन्त्री भट्टराईले सदनलाई सम्बोधन गरे, बैठकमा सरकारका तर्फबाट अन्तरिम संविधानको संशोधन विधेयक पेस गरियो । संसद् बैठक सकिएपछि दिउँसो गरेको गालीगलौजको बदला लिँदै सुरिताले अकवाललाई चड्काइन् । उनले अकवालको सर्ट च्यातिदिएकी थिइन् भने सर्टका टाँक खसेका थिए । दुईजनाबीच घम्साघम्सी नै हुन थालेपछि अन्य सभासद्ले छुट्याएका थिए । सहकर्मीहरूले झगडा छुट्याउँदा पनि अकवाल सुरितालाई उही शब्दमा गाली गर्दै थिए ।
पार्टी अध्यक्षको निर्देशन अटेर गर्दै हस्ताक्षर नगर्ने र अरूलाई पनि भड्काउन थालेपछि आफूले सुरितालाई हप्काएको अकवालले बताए । ‘आफू पनि हस्ताक्षर नगर्ने, अनि अरूलाई पनि भड्काउन थालेपछि मैले हप्काएको हो,’ उनले सौर्यसँग भने । तर, आफूले कुटाइ खाएको उनले अस्वीकार गरे । ‘दिउँसो जस्तै चिच्याएर मुखमुख लागेकी हुन्, कुटेँ भनेर आफैँले हल्ला गरेकी हो,’ उनले भने ।
पार्टी निर्णयमा सहमति नभए अध्यक्षसित कुरा गर्न पटक–पटक सम्झाउँदा पनि सुरिताले उल्टै आफूमाथि अभद्र व्यवहार गरेको सभासद् अकवालले बताए । ‘मन नभए हस्ताक्षर नगर्नोस्, अध्यक्षसित कुरा गर्नुस्, मसित किन चिच्याएको भनेर पटक–पटक सम्झाएको पनि हुँ,’ उनले दिउँसोको घटना सुनाए ।
तर, दुईजनाबीचको झगडा छुट्याएकी सभासद् निलम बर्माले भने सुरिताले अकवालमाथि चड्कन वर्षाएको बताइन् । ‘पार्टीको विवादबारे पहिल्यै दुईजनाबीच भनाभन भएको रहेछ, बाहिर निस्कँदा त सुरिताले उनलाई (अकवाल) पिट्न थालिन्,’ उनले भनिन् । दिउँसो आफूलाई तल्लो स्तरको अश्लील गाली गरेको सुरिताले सहकर्मी महिला सभासद्हरूलाई बताएकी थिइन् । कुटाकुट हुँदा पनि अकवालले सुरितालाई अश्लील गाली दिएको सभासद् बर्माले बताइन् । ‘अश्लील गाली गरे, मैले यस्तो गाली गर्नुभयो भने सबै महिला सभासद्हरूले तपार्इंलाई कुट्छन् भनेर छुट्याएकी हुँ,’ उनले भनिन् ।
सभासद् अकवालले भने, ‘महिलासित के जोरी खोज्नु भनेर चुप लागेको’ बताए । ‘(सुरिता) त्यसै चिच्याइरहेकी थिई, के त्यसको मुखमुखै लाग्नु भन्ने लाग्यो । अहिले यो महिलाहरूको ककस छ नि † फेरि त्यसको पनि लफडा होला भनेर चुप लागेको हुँ,’ उनले भने । आफूलाई कुटपिट नगरेको दाबी उनले पटक–पटक दोहोर्‍याए । ‘त्यो ५० किलोकी मान्छेले म ८० किलोकोलाई कुट्न सक्छे ? झगडा नै भयो भने कसले कुट्ला तपाईं आफैँ विचार गर्नोस्,’ अकवालले भने ।
यसैबीच, सिंहदरबारस्थित लोकतान्त्रिक फोरमको कार्यालयमा पनि शुक्रबार नेता र कार्यकर्ताबीच हात हालाहाल भएको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएको गणतान्त्रिक राष्ट्रिय निषाद संघको टोली र सभासद्बीच हात हालाहाल भएको हो । गच्छदारले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेको भन्दै निषादका कार्यकर्ताले नाराबाजी सुरु गरेका थिए ।
केही कार्यकर्ताले नाराबाजी गर्दै दलको कार्यालयमा रहेको गच्छदारको नेमप्लेट तोडफोड गरेपछि सभासद्हरूसित चर्काचर्की भएको थियो । कार्यालयमा रहेका केही सभासद्ले नेमप्लेट तोडफोड गर्न रोकेका थिए । तनावपूर्ण वातावरण बनेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया