‘निर्णय उलंघन नगर्न एमाओवादीको निर्देशन’

काठमाडौं, ५ जेठ । मधेसवादी दलहरुले संघीय राज्यको संख्यालाई लिएर विरोध शुरु गरेपछि आत्तिएको एमाओवादीले आज आफ्ना मधेसवादी नेता र सभासदलाई पार्टी नीति विपरित नजान निर्देशन दिएको छ ।
आफ्नै निवास लाजिम्पाटमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले संघीयताका विषयमा पार्टीले गरेको निर्णय मान्न निर्देशन दिएका हुन् । उनीहरुले राज्य पुनर्संरचनाका विषयमा पार्टी भित्रै निर्णय गरिए अनुसार प्रस्ताव लगिएको दाबी गरेका छन् ।
तराई मधेसका आफ्ना केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जहरुसँग संयुक्त छलफल गरेका दाहाल र भट्टराईले पार्टीलाई सहयोग गर्न भनेका छन् ।
पहिचान र सार्मथ्यलाई नै ध्यान दिएर राज्यको पुनः संरचना गरिने भन्दै दाहालले त्यसैका आधारमा चल्न मधेसवादी नेता र सभासदलाई निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले पार्टीले गरेका निर्णयबाट विचलित नहुन र पार्टी निर्णयलाई सम्मान गर्दै अगाडि बढ्न समेत भनेका छन् ।

प्रतिक्रिया